
चन्द्रसिंह साउद
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद प्रति अर्थमन्त्रालय रुष्ट बनेको छ ।
केपी ओली प्रधानमन्त्री बने लगत्तै देउवा सरकारले गरेका राजनीतिक नियुक्ती एकमुष्ट बदर गर्दा साउद पनि परेका थिए । तर साउदले सर्वाेच्च अदालतमा मुद्दा हाले र अदालतले बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उनी पुनः काममा फर्किएका थिए ।
सुरुमै सरकारसँग जोरी खोजेका साउदलाई नेप्सेबाट हटाउन यतिबेला अर्थमन्त्रालयले उनका कमजोरीहरुको सूचि तयार पारिरहेको श्रोतले बतायो । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं साउदको कार्य सम्पादनसँग असन्तुष्ठ रहेको बताइन्छ । ‘नेप्सेका सिइओ साउदको कार्य सम्पादनसँग अर्थमन्त्राय सन्तुष्ट छैन्, यतिबेला अर्थमन्त्रालय उनका गतिबिधी नियाली रहेको छ’, अर्थमन्त्रालय उच्च श्रोतले भन्यो ।
साउदलाई सिधै बर्खास्त गर्दा अदालतको मानहानी हुने भएकाले कार्य सम्पादन मूल्यांकनको अस्त्र प्रयोग गर्ने तयारीमा मन्त्रालय जुटेको छ । ‘साउदले नियुक्त पूर्व गरेका प्रतिवद्धताहरु के के पुरा भए, के के भएनन्, अब हुने सम्भावना के के छन् भन्ने बिषय कार्य सम्पादन मूल्यांकनबाट एकिन हुनेछ’, श्रोतले भन्यो ।
साउदले विदेश भ्रमणको अनुमति माग्दै अर्थमन्त्रालयमा पेश गरेको फाइल समेत लामो समयदेखि रोकि राखिएको छ । ‘जागिरकै ठेगान नभएको मान्छेलाई के को विदेश भ्रमण पठाउनु’, भन्ने निष्कर्षमा मन्त्रालय पुगेको बताइन्छ । साउदले भने बिभिन्न सूत्र मार्फत अर्थमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन् । तर, अर्थमन्त्रीले भने बजेटको समय भएकाले अहिले भेट्न नसकिने बताउँदै आएको बताइन्छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता छाड्नै लाग्दा हतार हतार साउदलाई नेप्सेको सिइओ नियुक्त गरेका थिए । साउदले बामपन्थी सरकारलाई असहयोग हुने गतिबिधी गरेको आरोप पनि लाग्दै आएको छ । केहि समय अघि सेयर बजार निरन्तर ओरालो लगाउनुमा साउदको भित्रि भूमिका रहेको आरोप छ ।