काठमाडौं । एभरेष्ट बैंकलाई सिंहदरबारमै संकट आईलागेको छ । बर्षाैदेखि सांसद र संसद सचिवालयका कर्मचारीहरुको तलब र भत्ता वापतको रकममा एकलौटी गर्दै आएको एभरेष्ट बैंकलाई अब भने संकट आईलागेको हो ।
सांसद र संसद सचिवालयका कर्मचारीको तलब भत्ता राख्ने प्रयोजनका लागि सिंहदरबारमा खोलिएको एभरेष्ट बैंकको शाखा सञ्चालनमा थियो । तर अब सांसद र कर्मचारीहरुको तलब सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकबाटै वितरण गरिँदैछ ।
सांसदहरुले विदेशी बैंकबाट तलब भत्ता वितरण गर्ने नाममा आफ्नो गोप्य सूचना विदेशिएको भन्दै आपक्ति जनाउँदै संसदमा कुरा उठाएपछि सिंहदरबारमा एभरेष्ट बैंक माथी संकट उत्पन्न हुने संकेत देखा परेको थियो । अब भने त्यो संकटको संकेत यथार्थमा परिणत भएको छ । किन भने संसद सचिवालयले सांसद र आफ्ना कर्मचारीहरुको तलब राष्ट्रिय बाणिज्य बैंकबाट मात्रै वितरण गर्ने निर्णय गरिसकेको छ ।
त्यसका लागि राष्ट्रिय बाणिज्य बैंकले सिंहदरबार परिसरमा बैशाख १ गतेदेखि नयाँ शाखा सञ्चालनमा समेत ल्याईसकेको छ । अब केहि दिनभित्रै संसद सचिवालयमै उप शाखा कार्यालय सञ्चालन गरेर सांसद, कर्मचारी र स्वयिकहरुको तलब त्यहिँबाट वितरण गर्ने तयारी भैरहेको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । ‘संसद सचिवालयमै राष्ट्रिय बाणिज्य बैंकलाई कार्यालय सञ्चालनका लागि २ वटा कोठा उपलब्ध गराउने र सबै कारोबार त्यहिँबाट गर्ने निर्णय भैसकेको छौं’, संसद सचिवालयका प्रवक्ता डा. पाण्डेले भने ।
सांसद र कर्मचारीको तलब राख्ने अवसर गुमेसँगै एभरेष्ट बैंकले बर्षेनी २ अर्ब रुपैंयाँ भन्दा बढी निक्षेपबाट हात धुनुपर्नेछ । सांसद, संसद सचिवालयका कर्मचारी, सांसदका स्वकिय सचिव, सवारी चालक, संसदिय सभापतिको स्वकिय समुह र सवारी चालक गरि १२ सय भन्दाको तलब भत्ता गुमेसँगै उनीहरुले राख्ने अन्य रकम पनि अब एभरेष्ट बैंकबाट खोसिनेछ ।
सांसदहरुले कठिन काम गराउनका लागि सधैँ सरकारी बैंकलाई रोज्ने तर कर्मचारीको तलब भत्ता भने भारतीय बैंकलाई दिएको भन्दै संसदमै आपक्ति जनाएका थिए । उनीहरुले आफुहरुको गोप्य विवरण भारत पुगेको भन्दै तुरुन्तै एभरेष्ट बैंकबाट तलब भत्ता बाढ्न बन्द गर्नुपर्ने माग गरेका थिए ।