धौवादीको फलाम खन्न एक अर्बको सरकारी कम्पनी

<p>काठमाडौं । नवलपुरको धौवादीमा रहेको फलाम खानी उत्खननका लागि एक अर्ब रुपैंयाँको सरकारी कम्पनी खोल्ने प्रक्रिया अघि बढेको छ । खानी तथा भूगर्भ विभागले एक अर्ब चुक्ता पुँजी भएको सरकारी कम्पनी स्थापना सम्बन्धी प्रस्ताव उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय हुँदै अर्थमन्त्रालयमा पठाएको हो । ‘हामीले धौवादीको फलाम खानीको व्यवसायीक उत्खननका लागि कम्पनी खोलेर काम गर्ने [&hellip;]</p>

काठमाडौं । नवलपुरको धौवादीमा रहेको फलाम खानी उत्खननका लागि एक अर्ब रुपैंयाँको सरकारी कम्पनी खोल्ने प्रक्रिया अघि बढेको छ । खानी तथा भूगर्भ विभागले एक अर्ब चुक्ता पुँजी भएको सरकारी कम्पनी स्थापना सम्बन्धी प्रस्ताव उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय हुँदै अर्थमन्त्रालयमा पठाएको हो ।

‘हामीले धौवादीको फलाम खानीको व्यवसायीक उत्खननका लागि कम्पनी खोलेर काम गर्ने सम्बन्धी प्रस्ताव तयार पारेर उद्योग मन्त्रालय मार्फत अर्थमन्त्रालय पठाएका छौं’, खानी तथा भुगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले विकासन्युजसँग भने ।

उनले आगामी ३ महिनाभित्रै कम्पनी स्थापनाको प्रक्रिया अघि बढि सक्ने दावी पनि गरे । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलाम खानी उत्खनन गर्ने बताएको छ । आगामी आर्थिक बर्षको बजेटले कम्पनी मोडलमा व्यवसायीक उत्खननको व्यवस्था गर्न पनि उनले दावी गरे । त्यसका लागि विभागका महानिर्देशक सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई समेत कन्भिन्स गरिसकेको बताईएको छ ।

अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायले पनि धौवादी फलाम खानीको व्यवसायीक उत्खननका लागि कम्पनी मोडल प्रस्ताव आएको स्विकार गरे । ‘एक अर्बको कम्पनी खडा गरेर व्यवसायीक उत्खनन गर्ने प्रस्ताव आएको छ, हामी अध्ययन गरिरहेका छौं’, महाशाखा प्रमुख रायले विकासन्युजसँग भने ।

हाल प्रस्तावित कम्पनीमा शतप्रतिशत सेयर नै संघीय सरकारको हुने भनिएको छ । तर अर्थमन्त्रालयले भने त्यस्तो कम्पनीमा स्थानीय र प्रदेश सरकारको सहभागीता अनिवार्य गराउन खोजेको पनि रायले जानकारी दिए । संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रको समेत सहभागीता हुने गरि कम्पनीको संरचना तयार गर्नुपर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको पनि रायले स्पष्ट पारे । ‘अहिले केन्द्रको मात्रै सेयर हुने गरि कम्पनीको प्रस्ताव आएको छ, हामीले प्रदेश, स्थानीय तह र निजी क्षेत्रको समेत सहभागीताको सुनिश्चितता गर्नुपर्छ भनेका छौं’, रायले भने ।

२०६८ सालमा पत्ता लागेको धौवादी फलाम खानीमा १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाई क्षेत्रमा खानी फैलिएको विभागको दावी छ । सो क्षेत्रको फलामको नमुनालाई चीनमा लगेर ल्याब परिक्षण गरिएको थियो । चीनमा गरिएको परिक्षणले फलाम खानीमा उपयोग गर्न लायक फलाम प्रशोधन सम्भव भएको रिपोर्ट दिएको महानिर्देशक सापकोटाले बताए । तर त्यसको व्यवसायीक सम्भाव्यताका बिषयमा भने अझै अध्ययन भएकै छैन् ।

तर छैन् व्यवसायीक सम्भाव्यताको अध्ययन
धौवादीमा फलाम रहेको र त्यसको उत्खनन गरेर प्रयोग गर्न सकिने तथ्य उजागर त भएको छ । तर त्यसको व्यवसायीक सम्भाव्यताका बिषयमा भने अझै अध्ययन भएकै छैन् । अघिल्लो कार्यकाल केपी ओली प्रधानमन्त्री बनेका बेला काठमाडौंका घर घरमा पाइपबाट ग्याँस वितरण गर्ने भाषण गरेका थिए । तर इमाडोलमा रहेको प्राकृतिक ग्यासको परिक्षण गर्दा उत्पादन लागत न्युन देखियो । अध्ययन नै नगरि प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दाको परिणाम स्वरुप प्रधानमन्त्री पाइपबाट ग्यास वितरण गर्ने भाषणमा चिप्लिएका थिए । अहिले पनि व्यवसायीक सम्भाव्यताको अध्ययन नै नगरि कम्पनी खडा गरेर उत्खनन गर्ने कुराले पाइपबाट ग्यास वितरण गर्ने हचुवा भाषणकै बाटोमा लैजाने डर भने रहेको खानी विभाग श्रोत बताउँछ ।

Share News