काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासनको प्रक्रिया सकिएर ५ ओटा कम्पनीका शेयरहरु कारोबारका लागि सूचीकरण प्रक्रियामा छन् भने एउटाको शेयर नेप्सेमा आइतबार सुचीकरण भई सोमबारदेखि कारोबार सुरु हुनेछ । आइतबार नेप्सेमा सूचीकरण भएको स्पर्श लघुवित्तको शेयर हो । उक्त लघुवित्तको ८ लाख २९ हजार ६३० कित्ता शेयर सूचीकरण भएसँगै सोमबार नेप्सेले ओपन रेञ्ज दिई कारोबार सुरु गर्नेछ ।
अन्य ५ ओटा कम्पनीहरु साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर बाँडफाँड भई सूचीकरणको प्रक्रियामा छन् । गुराँस लघुवित्तको भने शुक्रबारमात्रै आबेदनको लागि अन्तिम दिन तोकिएको थियो । यो शेयरको आईपीओ आवेदन बन्द भई बाँडफाँडको प्रक्रियामा छ ।
कसले कति पाउँदैछन् ओपनरेञ्ज ?
नेप्सेमा सूचीकरण भई सोमबारदेखि कारोबार खुला हुने स्पर्श लघुवित्तलाई नेप्सेले १००.३९ रुपैंयादेखि ३०१.१७ रुपैंयासम्म ओपनरेञ्ज दिने सम्भावना छ । त्यस्तै साञ्जेनले ९६.३२ रुपैंयादेखि २८८.९६ रुपैंया, रसुवागढीले ९७.२९ रुपैंयादेखि २९१.८७ रुपैंयासम्म ओपनरेञ्ज पाउनेछ । नेपाल एग्रोले भने न्यूनतम कारोबार रेञ्ज नै १०३.४८ रुपैंया पाउनेछ भने माथिल्लो कारोबार सीमा ३१०.४४ रुपैंया पाउनेछ ।
गणपति माइक्रोफाइनान्सको भने कारोबार सीमा सबैभन्दा कम ७७.७३ रुपैंयादेखि २३३.१९ रुपैंयासम्म पाउनेछ । गुराँस लघुवित्तको पहिलो कारोबार भने ९२.७२ रुपैंयादेखि २७८.१६ रुपैंयासम्म हुनेछ ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले प्रारम्भिक सार्वजनिक निष्कासनपछि दोस्रो बजारमा सूचीकरण हुने कम्पनीको कारोबार सीमा धितोपत्र बजारले तोक्ने व्यवस्था गरेको छ । यहाँ धितोपत्र बजार भन्नाले नेपाल स्टक एक्सचेञ्जलाई जनाउँछ ।
नेप्सेले कारोबार सीमा निर्धारण गर्दा पछिल्लो वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित सम्बन्धित कम्पनीको नेटवर्थलाई न्यूनतम कारोबार सीमा र त्यसको तीन गुणा माथि अधिकतम कारोबार सीमा निर्धारण गर्ने व्यवस्था छ ।
साञ्जेन र रसुवागढीको शेयर निष्कासन प्रक्रिया अघिल्लो वर्षदेखि नै सुरु भएकोले आर्थिक वर्ष २०७३/७४ को नेटवर्थको आधारमा तथा अन्य लघुवित्तहरुको आर्थिक वर्ष २०७४÷७५ को नेटवर्थका आधारमा त्यसरी ओपनरेञ्ज निर्धारण गरिनेछ ।
कति पुग्ला मूल्य ?
धितोपत्र बजारमा पहिलो कारोबारको मूल्य निर्धारण गर्न बजार सक्षम भए पनि त्यसपछिको मूल्य भने बजारको माग तथा आपुर्तिले निर्धारण गर्छ, त्यसमा कुनैपनि कम्पनीको आधारभूत वित्तीय सूचकहरु तथा कम्पनीको सम्भावनाले पनि मूलयलाई प्रभावित पारिरहेकै हुन्छ ।
लघुवित्त कम्पनीका शेयरहरु कम परिमाणमा निष्कासन हुने भएकोले यसको मूल्यमा धेरै बढोत्तरी भएको पाइन्छ भने धेरै परिमाणमा आपुर्ति हुने शेयर कम मूल्यमा पनि पाइन्छ । त्यसैले कुन स्क्रिपको मूल्य कति पुग्छ भन्ने भविष्यवाणी गर्नु उपयुक्त हुँदैन । यद्यपि उल्लेखित सबै शेयरहरुको पहिलो कारोबार अधिकतम सीमामा हुन भने सक्छ ।
कहिले हुन्छ काराेबार ?
आईपीओ निष्कासन तथा बाँडफाँडपछि धितोपत्र कारोबार तथा निष्कासन नियमावली तथा केन्द्रीय डिपोजिटरी सेवा नियमावलीबमोजिम सेन्ट्रल डिपोजिटरी सिस्टम (सीडीएस) र धितोपत्र बजार (नेप्से)सँग विभिन्न प्रकारका सम्झौताहरु गर्नुपर्ने भएकोले धितोपत्र बाँडफाँडपछि पनि सम्झौता हुन समय लाग्छ । नियमावलीले शेयरको सार्वजनिक निष्कासन गरेका कम्पनीहरुले नेप्से तथा सीडीएससीसँग सूचीकरण सम्झौता गर्नुपर्छ ।
सीडीएससी र नेप्से एक अर्काका परिपूरक कम्पनी रहेको भए पनि सूचीकरणका लागि छुट्टाछुट्टै रुपमा दुवै कम्पनीसँग सम्झौता गर्नुपर्छ, त्यसपछि मात्रै शेयरको सूचीकरण हुन्छ । स्पर्श लघुवित्तले यो प्रक्रिया पुरा गरेको छ भने बाँकी प्रक्रियामै रहेकाे धिताेपत्र निष्काशन तथा बिक्री प्रबन्धकहरुले जनाएका छन् ।