
काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न समूहले २ महिनादेखी व्यवसायीहरुलाई धम्क्याउँदै आएको दुःखेसो गरेको छ । विभिन्न समयमा पटक-पटक ज्यान मार्ने धम्की आएसँगै काम गर्न नसक्ने वातावरण सिर्जना भएको महासंघको जनाएको छ ।
सोही विषयलाई लिएर महासंघले मंगलबार राजधानीस्थित पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले भने–‘नेपालका सम्पूर्ण निर्माण व्यवसायीहरुको छाता संगठन ‘नेपाल निर्माण व्यवसायी महासंघ’ का तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गत २०७४ साल असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो, हाल सोही प्रकारले हत्या गर्ने भन्दै धम्की दिने खालका फोनले हामीलाई त्रसित बनाएको छ ।’
अध्यक्ष सिहंले महासंघका पूर्व अध्यक्ष, कार्य समितिका सल्लाहकार, पदाधिकारी लगायतका २५ जना निर्माण व्यवसायीलाई धम्की पूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको बताए । महासंघका अध्यक्ष रवि सिंह, महासचिव रोशन दाहाल, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, सल्लाहकार शारदाप्रसाद अधिकारीलाई धम्कीपूर्ण फोन आएको महासंघले जनाएको छ ।
सोही विषयलाई लिएर प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री लगायतका सरकारी प्रशासनिक तहमा आफूहरुले जानकारी गराइसकेको भएपनि फोन आउन नरोकिएको महासंघको तर्क छ । सरकारी तहबाट सोही विषयमा छानबीन गर्न महासंघले सरकालाई अनुरोध गरेको छ । व्यवसायीहरुलाई१ करोड २५ लाख रुपैयाँसम्म चन्दा मागिएको पाइएको छ ।
यसैगरी, व्यवसायीहरुमा भुक्तानीको सवालमा समेत समस्या देखा परेको र सोही कारण देशभरका व्यवसायीले आर्थिक मार खेप्दै टाट पल्टने अवस्थामा पुगेको महासंघले अध्यक्ष सिंहले बताए । काम सम्पन्न पछि सरकार कार्यालयहरुले दिने भुक्तानिको समस्या तत्काल समाधान नभए भोलिका दिनमा आफूले नेपालका कुनैपनि बैंकबाट कारोबार नै गर्न नपाउने स्थितीमा पुग्ने बताए । पत्रकार सम्मेलनमा बैंकले काटेको पत्र समेत सार्वजनिक गरिएको थियो ।
बैशाख १८ गते सुझाव संकलन कार्यक्रम
यता, निर्माण व्यवसायीहरुको हितलाई मध्यनजर गर्दै उद्योग व्यवसायीहरुले बैशाख १८ गते राजधानीको त्रिपुरेश्वर स्थित युनाइटेड वल्ड ट्रेड सेन्टरमा राय सुझाव संकलन कार्यक्रम गर्ने जनाएको छ । सो कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गर्ने छन् । पर्यटन राज्यमन्त्री सहित विभिन्न मन्त्रालयका सचिवले कार्यक्रममा संबोधन गर्नेछन् ।
महासंघका कानुनी सल्लाहकार बाबुराम दाहालले सार्वजनिक खरिद ऐन तथा निर्माण व्यवसाय ऐन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा मुलुकभरका ३ सय व्यवसायीहरु सहभागी हुने बताइएको छ ।