
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार विरुद्ध र छोरा सुमित रौनियर सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
बर्दिया सदरमुकाम गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
मुद्धा दायर हुनेहरुमा कृष्णदेव यादव, भानु जोसी, मनोज श्रेष्ठ, राजेश कुमार यादव, नवराज केसी, प्रेम प्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्र बहादुर विष्ट, कर्मा तेन्जिङ तामाङ र गोविन्द गैरे रहेका छन् ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको अख्तियारले प्रमाणित गरेको छ ।
यसअघि अख्तियारमा पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको बन्ने समेतको व्यहोराको उजुरी परेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।
आयोगले अनुसन्धान गर्दा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन,पोखरिया ७ बीच पुल निर्माणका लागि मिति २०६८ असार २२ गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरु गलत नियतले काम गरेको भेटिएको हो ।
अख्तियारले आयोजनामा संलग्न १२ जना ब्यक्तिहरू विरुद्ध सजायको मागदावी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।
