काठमाडौं । सरकारले आगामी २० दिनभित्रै वैदेशिक रोजगारी सम्बन्धी सबै सेवा अनलाईनबाटै उपलब्ध गराउने भएको छ । श्रम मन्त्री गोकर्ण विष्टले प्रतिनिधी सभामा सम्बोधन गर्दै आगामी २० दिनभित्र वैदेशिक रोजगारसँग सम्बन्धीत सबै खाले सेवाहरु अनलाईनबाटै प्रवाह हुने घोषणा गरेका हुन् ।
उनले कुटनीतिक नियोग, श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, मेनपावर कम्पनी, इन्स्योरेन्स कम्पनीहरुलाई अनलाईनबाट जोड्न लागेको हो । यसले ठगी नियन्त्रण तथा सेवा प्रवाहमा गुणस्तर आउने श्रम मन्त्री बिष्टले बताए ।
विदेशमा बिभिन्न मुद्धा लागेका नेपाली कामदारहरुको मुद्धा समेत अब सरकारले नै लडिदिने भएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा बिभिन्न देशका जेलहरुमा रहेका नेपालीहरुको मुद्धा लड्ने व्यवस्था मिलाउन लागेको हो । हाल बिभिन्न मुलुकका जेलहरुमा ३३५ जना नेपाल रहेका छन् ।
चालु आर्थिक बर्षमा मात्रै १८ वटा देशमा ७७७ जना नेपालीले ज्यान गुमाएका छन् । हालसम्म ६ हजार ६ सय ५९ जना नेपालीले विदेशमै ज्यान गुमाउन परेको छ । हालसम्म विदेशी अस्पतालमा २३ जना नेपाली कोमामा रहेका छन् । मन्त्री बिष्टले सातवटै प्रदेशमा श्रम कार्यालय स्थापीत गरिसकेको जानकारी पनि गराएका छन् ।
उनले सातवटै प्रदेशमा श्रम अदालतको काम गर्नेगरि उच्च अदालतलाई अख्तियार दिने प्रक्रिया अघि बढेको जानकारी पनि गराए । मन्त्री बिष्टले २०७९ बाट निकृष्ठ बाल श्रम र ८२ सालमा सबै खाले बाल श्रम उन्मुलन गर्ने घोषणा पनि गरे ।