काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । सानिमा ग्रुपअन्र्तगतको कम्पनीले आयोजना बनाउनका लागि बैंकबाट सहवित्तीयकरणमा कर्जा सुविधा लिन असार ३१ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाले कर्जा लिन स्वीकृति दिएपछि कम्पनी सञ्चालक समितिले कर्जा लिनका लागि प्रक्रिया अघि बढाउने भएको छ । सभाबाट स्वीकृति भएपछि ऋण लिने प्रक्रिया अघि बढ्ने छ । साढे १२ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत अर्थात ९ अर्ब ३७ करोड रुपैयाँ बैंकको ऋण लगानी र बाँकी लगानीकर्ताको स्वपुँजी लगानी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए ।
उनले आयोजना २०७८ को मध्यमा सम्पन्न हुने जानकारी दिए । आगामी ४ वर्षभित्र आयोजना सम्पन्न हुने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ऋण लगानी हुने उनको भनाई छ । आयोजनाको सिभिल निर्माणको काम चीनको झेझाङ प्रोभिन्स नम्बर १ कम्पनीले सुरु गरिसकेको छ ।
नदिनको वहावमा आधारितआयोजना ताप्लेजुङ जिल्लामा पर्छ । सानिमा समूहले ३१ मेगावाट क्षमताको विभिन्न ३ वटा आयोजना सम्पन्न गरेको छ । सानिमाले ५२ मेगावाटको तल्लोलिखु आयोजनाको काम सुरु गरिसकेको छ ।