भारतका दोस्रा धनी अजिम प्रेमजीले लिए अवकाश, घट्यो विप्रो कम्पनीको सेयर
मुम्बई । भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यवसायिक जीवनबाट अवकासको घोषणा गरेका छन् । घ्यू उत्पादनबाट व्यवासायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रबिधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आएका प्रेमजीले बिहीबार अवकासको घोषणा गरेका हुन् । “मैले विप्रोसँग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने पूर्व तथा वर्तमान सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा उनीहरूका परिवारप्रति धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहयोग र प्रेरणाले नै कम्पनीलाई आजको सफलताको अवस्थामा पु¥याउन सम्भव मिलेको हो,” ७३ बर्षीय सफल व्यवसायी प्रेमजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले भने, “यो मेरो लागी लामो सन्तुष्टिको यात्रा भएको छ । भविष्यमा मैले बाँकी जीवनलाई परोपकारका गतिविधिमा लगाउनेछु ।” प्रेमजीले विप्रोलाई सन् १९६० को दशकको अन्त्यदेखि नेतृत्व प्रदान गरेका थिए । उनको नेतृत्वमा विप्रोले एक सफल सूचना प्रबिधि क्षेत्रमा विश्वभर ख्याति प्राप्त गर्न सफल भएको छ । हाल विप्रोले विश्वका ५० मुलुकभन्दा बढीमा बार्षिक आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरकोे कारोबार गर्दै आएको छ । प्रेमजीले विप्रोको कार्यकारी अध्यक्षबाट आगामी जुलाई ३० देखि अवकास लिनुहुनेछ भने उहाँको उत्तराधिकारीका रूपमा छोरा रिषाद प्रेमजीले कम्पनीलाई नेतृत्व प्रदान गर्नेछन् । प्रेमजीले कम्पनीको गैर–कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षका रूपमा भने सम्लग्नता रहनेछ । गत मार्चमा प्रेमजीले विप्रोमा रहेको आफ्नो शेयरको ३४ प्रतिशत शेयरलाई आफ्नो नाममा रहेको एक प्रतिष्ठानमार्फत परोपकारी गतिविधिका लागि योगदान गर्ने बताएको ब्लुमवर्गको समाचारमार्फत् जानकारी गराइएको थियो । विप्रोका अध्यक्षबाट प्रेमजीले राजीनामा गर्ने समाचारसँगै यस कम्पनीको शेयरमा बिहीबार एक प्रतिशतले गिरावट आएको छ । रासस/एएफपी
कोपा अमेरिकाबाट नेमार बाहिरिए, ब्राजिलमाथि थपियो ठूलो चुनौती
ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन । रासस/एएफपी
नयाँ दिल्लीमा महिलालाई सार्वजनिक यातायातमा निःशुल्क, ‘मतदातालाई प्रभावित पार्ने केजरीवालको योजना’
नयाँ दिल्ली । भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने नयाँ दिल्लीको सरकारले जानकारी गराएको छ । राज्य सरकारले ल्याएको उक्त योजना अन्तर्गत आगामी दुईदेखि तीन महिनाभित्रमा करिब आठ लाख ५० हजार महिलालाई सेवा दिने गरी योजना अघि सारिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने, “राज्य सरकारले महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा निःशुल्क सेवा प्रदान गर्न बार्षिक एक अर्ब १५ करोड रूपैँया खर्च लाग्नेछ ।” उनले भने, “सरकारले ल्याएको यो योजना अन्तर्गत केही समयभित्र करिब एक लाख ५० हजार सार्वजनिक यातायातमा सीसीटीभी क्यामेरा जडान गरिने छ जसका कारण ती यातायातका साधनमा यात्रा गर्दा उनीहरूले सुरक्षित महशुस गर्नेछन् ।” सरकारले यस कार्यक्रममा साना तथा पूराना गाडीलाई विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्राउने र यसबाट दिल्लीको ट्राफिक प्रदुषणलाई पनि कटौति गर्न मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् । संयुक्त राष्ट्रसंघको वातावरण मामिला हेर्ने एक संस्थाको अध्ययन अनुसार झण्डै दुई करोड व्यक्तिको बसोबास रहेको नयाँ दिल्लीलाई प्रदुषणका हिसाबले विश्वका केही समस्याग्रस्त शहरका रूपमा हेरिने गरेको छ । सोमबार योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले भने, “नयाँ दिल्लीमा सार्वजनिक यातायात प्रणाली र शहरी क्षेत्रका सवारीसाधनले लिने भाडाका कारण कैयौँ दिल्लीवासी कठिन पैदल यात्रा गर्न बाध्य भएका छन् । योजनाबाट उनीहरूले सुरक्षित तथा सहज यातायातको सुविधा लिन पाउने छन् ।” नयाँ दिल्लीमा विशेष प्रभाव रहेको सानो आम आदमी पार्टीले आफ्नो गिर्दो साखलाई उठाउँदै आगामी जनवरीमा हुने विश्वास गरिएको विधान सभामा मतदातालाई प्रभावित पार्न यो योजना ल्याएको केजरीवालका आलोचकहरूले आरोप लगाएका छन् । सन् २०१५ को राज्य निर्वाचनमा केजरीवालको दलले निःशुल्क खानेपानी, विद्युत शुल्कमा छुट, आकर्षक स्वास्थ्य उपचार सेवा, तथा शिक्षामा सुधारको योजनाको घोषणा गर्दै भारी बहुमत ल्याउन सफल बनेको थियो । उसले सन् २०१२ को सामूहिक वलात्कार र हत्याको घटनापछि दिल्लीमा महिलाको सुरक्षालाई सुधार गर्ने प्रतिवद्धता गरेको थियो । तर अप्रिल र मे महिनामा भएको राष्ट्रिय (लोकसभा) निर्वाचनमा आफ्नो पूरानो साख बचाउन असफल भएको थियो । जबकी भारतीय राजनीतिमा अनुदारवादी मानिने प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले भने दिल्ली लगायत भारतभर दोस्रो पटक पनि उल्लेखनीय जनमत ल्याउन सफल भएका छन् । विधान सभामा नयाँ दिल्लीमा भाजपाको अगाडि केजरीवालको आम आदमी पार्टीले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने अपेक्षा धेरै भारतीय विश्लेषकहरूले गरेका छन् । रासस/एएफपी