दक्षिणी क्यालिफोर्नियामा एसआर विमान दुर्घटना, चालकको निधन
लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एसआर २२ नामको सानो विमान दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो । प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् । त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ । एकमात्र इन्जिन भएको उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन । रासस
नेपालसँगको सीमा नक्शामा कुनै परिवर्तन नगरिएको भारतको दावी
नयाँ दिल्ली । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ । जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको दावी गरेको हो । कालापानी लगायतका क्षेत्र भारतले आफ्नो क्षेत्रमा परेको भन्ने समाचारको भारतको विदेश मन्त्रालयले बिहीबार खण्डन गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सिमाना निर्धारणका लागि छुट्टै संयन्त्र र व्यवस्था रहेकाले त्यही अनुसार हुने स्पष्ट पारे । उनले कुनै विवाद वा समस्या रहेमा दुवै देशकाबीचमा वार्ता र छलफल गरेर समाधान निकालिने र एक अर्कामा स्पष्ट हुने पनि जानकारी दिए । दुवै देशको सरोकारका विषयमा दुईपक्षीय हित र मित्रताकै आधारमा टुङ्गोमा पुगिने प्रवक्ता कुमारले पत्रकारहरूलाई बताए । “नेपालसँगको सिमानामा पूरानै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन,’ प्रवक्ता कुमारले भने । उनले आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न तयार रहेको प्रतिबद्धता दोर्होयाए । प्रवक्ता कुमारले निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश भैरहेको र यसको विरूद्ध दुवै देशले संयुक्तरूपमा अघिबढ्नुपर्ने जरुरी रहेको पनि बताए । रासस/एएनआई
नेताहरुको आम्दानी/खर्च नियमन गर्न अफ्रिकामा नयाँ विधेयक
केप टाउन । दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ । यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन ९पिएआईए० मा पनि संशोधन भएको छ । दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिहरुले कुनै व्यक्ति वा संस्थाबाट एक लाख रान्ड (६ हजार ७३९ अमेरिकी डलर) भन्दा बढी रकम चन्दा लिएको भए त्यस्तो व्यक्ति वा संस्थाको अभिलेख राख्नुपर्ने र कसैले सूचना माग गरेको अवस्थामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । संसदका प्रवक्ता मोलोटो मोथापोका अनुसार संशोधित विधेयकमा राजनीतिक नेताहरुले आवधिक रुपमा अभिलेख सरकारी निकायलाई उपलब्ध गराउनुपर्ने तथा त्यस्तो अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । जुन २१, २०१८ मा दक्षिण अफ्रिकाको संवैधानिक अदालतले सूचनाको हक सम्बन्धी कानुनमा राजनीतिक नेता र स्वतन्त्र उम्मेदवारलाई सूचनाको हकबाट उन्मूक्ति दिने प्रावधान खारेज गरिदिएको थियो । साथै, अदालतले कानुन संशोधनका लागि १८ महिनाको समयावधि तोकेको थियो । यसै वर्षको जुन २४ मा सरकारले संसदमा संशोधित विधेयक प्रस्तुत गरेको थियो । मोथापोले राजनीतिक दलको आर्थिक पारिदर्शिताका सन्दर्भमा विभिन्न क्षेत्रसँग व्यापक परामर्श गरिएको, लिखित सुझाव संकलन गर्नुका साथै सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए । प्रवक्ता मोथापोले उक्त विधेयक अब माथिल्लो सदनमा प्रस्तुत हुने, र त्यहाँबाट पारित भएपछि कानुनको रुप लिने जानकारी दिए । रासस/सिन्ह्वा