कोरोना असरः अस्ट्रेलियालाई हप्ता दिनमा साढे दुई अर्ब डलर नोक्सानी

सिड्नी । कोरोना भाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन् । अस्ट्रेलियाले कोविड–१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै सफलता प्राप्त गरेको छ । हाल अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या नगण्य बराबर मात्र छ । तर क्यानबेरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री जस फ्राइडेनबर्गले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको बताए । हाल जारी प्रतिबन्धहरुले हरेक साता करिब अढाई अर्ब अमेरिकी डलर बराबर नोक्सानी भइरहेको बताउँदै अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक कृयाकलापमा कमी आएको, उत्पादकत्व र उपभोगमा पनि कमी आएको जानकारी दिए । अस्ट्रेलियाको तथ्यांक ब्यूरोले यसै साता सार्वजनिक गरेको प्रतिबेदनमा पनि रोजगारीमा ७.५ प्रतिशत कटौती हुने उल्लेख छ । करिब एक करोड ३० लाख सक्रिय रोजगारीमध्ये झण्डै १० लाख व्यक्ति बेरोजगार हुनु परेको ब्यूरोको भनाई छ । सबैभन्दा बढी प्रभावित होटल तथा पर्यटन क्षेत्रमा झण्डै एक तिहाई व्यक्तिले रोजगारी गुमाएका छन् । कला र मनोरंजन क्षेत्रमा २७ प्रतिशत बेरोजगार भएका छन् । अर्थ मन्त्रालयले यसअघि कोरोनाभाइरसका कारण वर्षको मध्यमा बेरोजगारी दर १० प्रतिशत हुने अनुमान गरेको थियो । तथ्यांक ब्यूरोले पनि देशभर करिब ३१ प्रतिशत घरपरिवारको आर्थिक स्थिति कमजोर हुने आँकलन प्रस्तुत गरेको थियो । अस्ट्रेलियामा कोविड–१९ बाट संक्रमितको संख्या ६ हजार ८ सयभन्दा बढी रहेको छ र ९६ जनाको मात्र ज्यान गएको छ । अस्ट्रेलियाका सिड्नी र मेलबोर्नमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । रासस–एएफपी

बिहार सरकार : १७ लाख आप्रवासीलाई कहाँ राखेर के खुवाउने

काठमाडौं । भारतको बिहारका मात्र १७ लाख प्रवासी कामदार तथा विद्यार्थी रहेका छन् । ठूलो संख्यामा प्रवासी रहेको बिहारमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै फर्किने स्थितिमा पुगेको जनाएको छ । पछिल्लो समय गृह मन्त्रालयको नयाँ निर्देशन पछि बिहार सरकार आफ्ना जनतालाई फिर्ता लैजाने व्यवस्थामा लागेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले भने, पञ्चायती स्तरमा क्वारेन्टाइन सेन्टरको विस्तारले बाहिरबाट आउने आप्रवासीहरुलाई क्वारेन्टाइन सेन्टरमा २१ दिनको लागि राख्नु पर्छ । यो पनि भनियो कि जीविका र राष्ट्रिय आजीविका मिशनले चिनाएका व्यक्तिका परिवारलाई प्रति एक हजार रुपैयाँ सहयोग दिनु पर्ने बताए । कोरोनाको संक्रमण फैलिएसँगै त्यति धेरै संख्यामा प्रवासीलाई व्यवस्थापन गर्न बिहार सरकारले के गर्दै छ त भन्ने प्रश्न सबैमा उठेको छ । लाखौं मानिसलाई २१ दिनसम्म खुवाउन के कति खाद्य सामाग्रीको व्यवस्था गरेको छ त भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । गृह मन्त्रालयको निर्देशिका पछि पनि बिहार सरकारका उपमुख्यमन्त्री सुशील मोदीले, ‘यति ठूलो संख्यामा जनतालाई फिर्ता ल्याउन सरकारसँग पर्याप्त स्रोत छैन।’ यसमा विपक्षीहरूले राज्य सरकारको असक्षमतामाथि प्रश्न उठाए उनले एक सञ्चार माध्यमलाई भने । पछिल्लो समय बिहार राज्यमा नै ३ सय ५ क्वारेन्टाइन सेन्टर भने खाने कुरामा सबै व्यवस्थापन गर्ने तथा आवश्यक क्वारेन्टाइन सेन्टरको सूची बनाउने कार्य भइरहेको छ । केन्द्र सरकारलाई बिहार सरकारले खाद्य आपूर्तिको माग गर्दै चिठी पठाएको छ । बिहार सरकारले करिब साढे एक करोड जनता (३० लाख परिवार) लाई खाद्यान्न पठाउन अनुरोध गर्दै पत्र लेखेको थियो । केन्द्रीय खाद्य तथा आपूर्ति मन्त्री रामविलास पासवानले बिहारको तथ्यांकमाथि प्रश्न उठाउँदै कसलाई कति खाद्य सामाग्री दिनु पर्ने हो सूची बनाएर पेश गर्न आग्रह गरेका हुन् । उनले सूची बिना नै खाना दिन सम्भव नभएको जानकारी दिए । काेराेना भाइरसले हालसम्म बिहारमा ५ सयभन्दा बढी काेराेना संक्रमित छन् भने ४ जनाकाे मृत्यु भएकाे छ । (बीबीसीकाे सहयाेगमा)

जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ ।  यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्याउने योजना प्रधानमन्त्री आबेले बनाएको सञ्चार माध्यमहरुले जनाएका छन् । जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो । सो महिनादिन लामो आपतकाल यही मे ६ तारिखमा सकिन लागेको हो । यसैगरी यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत यसअघि गरिएको थियो । जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गर्नु परेको जनाएका थिए । त्यसक्रममा प्रधानमन्त्री र उनीहरुबीच आगामी बढीमा महिना दिनसम्मका लागि पुनः आपतकालको अवधि लम्ब्याउने विषयमा कुराकानी भएको बुझिएको यहाँका सञ्चारमाध्यमहरुले दिएका छन् । समाचारअनुसार प्रधानमन्त्री आबेले सोमबार साँझसम्म पत्रकार सम्मेलन गरेर यस आपतकालको अवधि बढाउने विषयमा जानकारी गराए । आपतकाल घोषणा गरिएको टोकियो सहितका सात प्रान्तमा जापानको कुल जनसंख्याको करिब ४४ प्रतिशत मानिसहरुको बसोबास रहेको छ । आपतकालको घोषणाले मानिसहरुलाई घरमै बस्न र व्यापार व्यवसाय बन्द गरी मानिसहरुको भीडभाडबाट टाढा रहनका लागि दबाब सिर्जना गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनेछ । प्रधानमन्त्री आबेले अन्य व्यक्तिसँगको सम्पर्क घटाउन सक्यौं भने आगमी केही सातामा नै संक्रमितको संख्या उल्लेख्य मात्रामा घटाउन सक्ने बताए । सोमबार जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको देखिएको छ । सोमबार प्राप्त समाचारमा जापानमा यस भाइरसबाट संक्रमितको संख्या १५ हजार पुगेको देखिएको छ । यी संक्रमितहरुमध्ये जापानाको राजधानी टोकियोमा मात्र ४ हजार ६सय रहेका छन् । यस संक्रमणका कारण यहाँ ५ सयभन्दा बढीको ज्यान गएको छ । अधिकारीहरुले यसैकारण जापानमा आपतकालको अवधि थप गरिएको विषयमा घोषणा गर्न लागिएको बताएका छन् । यस अघि पनि अघिल्लो महिनामात्र जापानमा भाइरसको नयाँ संक्रमित देखिने क्रम बढेकाले उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनीसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको थियो । रासस/एएनआई