चीनमा निजी व्यवसायलाई बढी ऋणको अवसर

एजेन्सी । देशका वाणिज्य बैंकहरुले निजी व्यवसाय प्रवद्र्धन एवं प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन् । बैंक तथा बीमा नियामक निकायको निर्देशनअनुसार निजी उद्यम बढाउन ऋण सहयोगको सिमामा वृद्धि गरिएको हो । बढाएको आफ्नो शीर्ष बैंकिङ तथा ले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ । निजी उद्यमहरूलाई नयाँ कर्जाको ब्याजदर बितेका छ महिनमाको ४.७४ थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ०.५७ प्रतिशत बिन्दुले कम हो ।

बंगालादेशमा इन्धनको मूल्य इतिहासकै बढी

एजेन्सी । बंगालादेशमा सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो । बंगालादेश सरकारले शुक्रबार राति आजदेखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य १३५ टाका पुगेको छ । हिजो अपराह्नसम्म सोही परिमाणको पेट्रालको मूल्य ८९ टाका थियो । डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ । पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ । अधिकारीहरूले भने कि खुद्रा स्तरमा पछिल्लो मूल्य वृद्धि राज्य सञ्चालित वितरण कम्पनीहरूलाई दिइएको सहुलियतको बोझ कम गर्न अपरिहार्य भएकाले इन्धनको मूल्य बढाइएको उक्त मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । साथै मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बंगालादेशको भन्दा धेरै बढी भएको बताएको छ । आर्थिक क्षेत्रका जानकाररूले इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई बढाउने बताएका छन् गत जुनमा मुद्रास्फीति बढेर ७।५६ प्रतिशत पुगेको थियो । बितेका नौ वर्षयता पहिलोपटक यति उच्च बिन्दुमा मूल्यवृद्धि पुगेको हो ।

मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

लस एन्जेलस । मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो । अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो । सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो । विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ ।अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन् । अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरु पाइएका बताइएको छ ।