एशिया–प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

बैङ्कक । चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । २९ औँ एशिया–प्रशान्त आर्थिक सहयोग एपेक आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भने, ‘एशिया–प्रशान्त क्षेत्र हाम्रो घर हुनुका साथै विश्वव्यापी आर्थिक विकासको शक्तिकेन्द्र पनि हो’ । बितेका दशकहरूमा, यस क्षेत्रमा बलियो आर्थिक सहयोगले ‘एशिया–प्रशान्त चमत्कार’ सिर्जना गरेको छ जुसको विश्वभर प्रशंसा गरिएको छ । राष्ट्रपति सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम गर्न र शान्ति र स्थिरताको एशिया–प्रशान्त क्षेत्र निर्माण गर्न राष्ट्रहरूलाई आग्रह गर्दै पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगको महत्वलाई विशेष जोड दिन सम्मेलनमा सहभागी नेताहरूसँग आग्रह गरे । उनले खुलापन र समावेशिताप्रति प्रतिबद्ध रहन र एशिया–प्रशान्त क्षेत्रका सबैका लागि समृद्धि ल्याउन सामुहिक प्रतिवद्धताका लागि आह्वान गरे । एशिया–प्रशान्त सहयोगलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने, क्षेत्रीय सहयोगको मुख्य च्यानलका रुपमा एपेकको भूमिकालाई कायम राख्नुपर्ने र एशिया–प्रशान्त सहयोगलाई सही दिशामा लैजानुपर्ने उनले बताए । रासस

निजी रूपमा निर्मित पहिलो भारतीय अन्तरिक्ष रकेट प्रक्षेपण

भारतीय । निजी रूपमा विकसित पहिलो भारतीय रकेट शुक्रबार वायुमण्डलको माथिल्लो भागमा प्रक्षेपण गरिएको छ । भारतका लागि प्रमुख अन्तरिक्ष शक्ति बन्ने प्रयासमा यो अर्को कोसेढुङ्गा भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन आईएसआरओको प्रत्यक्ष भिडियोअनुसार आधा टनको विक्रम–एस रकेट स्थानीय समयअनुसार मध्याह्नअघि नै प्रक्षेपण गरिएको थियो । एजेन्सीका अनुसार ६ मिनेटपछि उक्त रकेट सकुशल समुद्रमा खसेको थियो । स्थानीय ‘स्टार्टअप स्काइरुट एयरोस्पेस’ले विकास गरेको यो रकेट पृथ्वीलाई बाह्य अन्तरिक्षबाट छुट्याउने अन्तर्राष्ट्रिय मान्यता प्राप्त १०० किलोमिटरको कर्मन रेखाभन्दा ९० किलोमिटर ५५ माइलको उचाइमा पुगेको थियो । ‘यो वास्तवमै भारतको अन्तरिक्ष कार्यक्रमको यात्रामा नयाँ सुरुवात हो, नयाँ बिहानी हो । विज्ञान मन्त्री जितेन्द्र सिंहले श्रीहरिकोटाको दक्षिणी टापुमा रकेटको प्रक्षेपण सुविधामा उत्साही प्राविधिकहरूको भीडसँग प्रक्षेपणपछि भने’ । ‘स्टार्ट’ नाम दिइएको पहिलो विक्रम–एस मिसनको पूर्वसन्ध्यामा सरकारले बिहीबार रकेट ‘कार्बन कम्पोजिट स्ट्रक्चर र थ्रीडी प्रिन्टेड कम्पोनेन्ट्स’का साथ एकल मञ्च सिंगल स्टेज, सोलिड फ्युल रकेट निर्माण गरिएको हो । भारतले हालैका वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रमलाई बढावा दिइरहेको छ, जसमा सन् २०२३ वा २०२४ का लागि रूसी सहयोगमा एक मानवसहितको रकेट निर्माण पनि समावेश छ । भारतको क्षमता र महत्वाकाङ्क्षा बढेको यसको रकेट र पृथ्वीभन्दा बाहिरी ग्रहको अभियानको सफलताले उजागर गरेको छ । सन् २०१४ मा मङ्गलयान ‘अर्बिटर’मार्फत् मङ्गलग्रहमा पुग्ने भारत पहिलो एसियाली राष्ट्र बनेको थियो । यसको कम लागतको लागि प्रशंसा गरिएको, त्यो मिशनले भारतलाई संयुक्त राज्य अमेरिका, रूस र युरोपेली संघसहित एक सानो समूहमा समाहित गरायो । सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ‘अन्तरिक्ष महाशक्ति’ को संज्ञा दिएका थिए । भारतले विश्वव्यापी व्यावसायिक अन्तरिक्ष बजारमा आफ्नो दुई प्रतिशत हिस्सा बढाउन पनि काम गरिरहेको छ । विज्ञहरूका अनुसार भारतले विद्यमान अन्तरिक्ष प्रविधिको नक्कल गरेर र अनुकूलन गरेर लागत कम राख्न सक्छ ।

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका छन्,’ उनले भने । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं ।’ रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ । युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन् । युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन् । रासस