‘आर्थिक– सामाजिक विकासका निम्ति बेल्ट एन्ड रोड इनिसिएटिभ उपयोगी’

काठमाडौं । चीनले अघिसारेको विकास–निर्माणको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ साउदी अरबको आर्थिक–सामाजिक विकासका निम्ति उपयोगी हुने बताएको छ । साथै उसले आफ्नो देशको ‘भिजन २०३०’लाई अघि बढाउन तथा उन्नत विज्ञान र प्रविधिबीच तालमेल मिलाउन चिनियाँ परियोजना फलदायी हुने विश्वास व्यक्त गरेको छ । साउदीका उद्योग तथा खनिज सम्पदामन्त्री बन्दर अल्खोरायफले सिन्ह्वासँगको अन्तर्वार्तामा अर्थतन्त्र र व्यापारका क्षेत्रमा दुई देशबीचको सहकार्य एवम् साझेदारीको महत्वमा जोड दिँदै प्रचुर मात्रामा खनिज सम्पदा भएको आफ्नो देश र नवप्रवर्तन तथा उच्च प्रविधिको विकासमा अग्रपङ्क्तिमा रहेको चीनसँगको सहकार्यबाट खनिज स्रोतको विकासमा सघाउ पुग्ने बताए । दुवै मुलुकको साझेदारीबाट खनिजको अधिकतम दोहनका साथै अर्थव्यवस्थामा विविधीकरण, अर्धतयार वस्तुको उत्पादन, प्रशोधन एवम् निर्यात बढाउन सहज हुनेमा उनले जोड दिए । चिनियाँ कम्पनीहरूको प्रभावशाली प्रदर्शन र अनुभवलाई आफ्नो देशका युवा तथा महिलामा हस्तान्तरण गर्नसके पारस्परिक लाभका धेरै क्षेत्रमा सहकार्य बढ्नसक्ने बताए । साथै उनले द्विपक्षीय सहयोग प्रवद्र्धन अथाह सम्भावना रहेका बताए । ऊर्जा र खानी उद्योग बाहेक अनुपम भौगोलिक अवस्थिति एवम् पूर्ण पूर्वाधार भएको साउदी अरबमा फस्टाउँदै गरेको ‘स्टार्टअप’मा लगानी गरेर मध्यपूर्व र उत्तर अफ्रिकामा व्यापार विस्तार गर्ने महत्वपूर्ण केन्द्र बनाउन सकिने भन्दै उनले आफ्नो देशको रेलमार्ग, बन्दरगाह र एक्सप्रेसवे निर्माणमा सहभागी हुन आह्वान गरे । मन्त्री अल्खोरायफले भाषा शिक्षा र व्यावसायिक तालिमजस्ता जनता–जनताबीचको आदानप्रदानमा साझेदारी विस्तार गर्न दुवै पक्षलाई आग्रह गरे । चीन आर्थिक क्षेत्रमा मात्रै नभएर अन्य धेरै क्षेत्रमा पनि साउदीको महत्वपूर्ण साझेदार भएको उनले बताए । चीनले अघि सारेको विश्वको विकास प्रयासको प्रशंसा गर्दै साउदी मन्त्रीले हाल विश्वले सामना गरिरहेका धेरै चुनौतीको सामना कुनै पनि देश एक्लैले गर्न नसक्ने त्यसनिम्ति सहयोग आवश्यक पर्ने यथार्थ सुनाए । उनले एकापसका सहयोगबाटै विकासका लक्ष्य हासिल गर्न सहज हुने बताए ।

श्रीलङ्कालाई एफडिआईको रूपमा ५२३ मिलियन अमेरिकी डलर प्राप्त

एजेन्सी । श्रीलङ्काले यस वर्षको पहिलो छ महिनामा ५२३ मिलियन अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्राप्त गरेको एक छ। श्रीलङ्काका लगानी बोर्ड (बीओआई) का वरिष्ठ अधिकारी निरोसानीले यो सरकारले तोकेको वार्षिक लक्ष्यको ५२.३ प्रतिशत रहेको बताएकी छन् । निरोसानीले बीओआई अन्तर्गत एक हजार ५५० कम्पनी दर्ता भएकाले ५ लाखभन्दा बढी रोजगारी सृजना भएको समेत उल्लेख गरेकी छन् । श्रीलङ्काले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न १५ वटा स्वतन्त्र व्यापार क्षेत्रहरू बनाएको छ र सरकारले देशलाई थप लगानीमैत्री बनाउन केही कानूनहरू पुनरावलोकन गर्न खोजिरहेको बताएकी छन् । उनका अनुसार सन् १९७८ देखि २०२२ को मध्य सम्ममा श्रीलङ्काले २०।६ बिलियन अमेरिकी डलर एफडीआईको रूपमा प्राप्त गरेको छ।

कम्बोडियालाई एडिबीको पाँच करोड डलर ऋण

कम्बोडिया । मनिलास्थित एसियाली विकास ब्याङ्क एडीबीले कम्बोडिया सरकारलाई देशको अर्थतन्त्रलाई विविधीकरण गर्न तथा विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता बढाउन पाँच करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । महामारीपछिको आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न ब्याङ्कले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । कम्बोडियाको आर्थिक पुनरुत्थानमा सघाउन, लगानी तथा व्यापारिक वातावरण वृद्धि गर्न,लघु,मध्यम र साना उद्यमको विकासमा टेवा दिन, व्यापार नीति एवम् व्यापार सहजीकरणमा सुधार गर्न ऋण उपलव्ध गराउने निर्णय भएको ब्याङ्कले एक विज्ञप्ति निकालेर आज जनाएको हो । कोरोना महामारीले कम्बोडियाली अर्थतन्त्रका प्रमुख क्षेत्र गार्मेन्ट, जुत्ता, कपडा उत्पादन, पर्यटन र निर्माण क्षेत्रमा गम्भीर असर पारेको एडिबीका वरिष्ठ अर्थशास्त्री सायन एल मोर्टनले बताएका छन् । ऋण सहायताबाट कम्बोडियाको आन्तरिक एवम् बाह्य व्यापार प्रवद्र्धनका निम्ति अनुकूलन वातावरण बनाउन मद्दत पुग्ने,लघु,मध्यम र साना उद्यमको विकास र विविधीकरण, वित्तमा उनीहरूको पहुँच सुधार तथा उत्पादनहरूका निम्ति नयाँ बजारहरू सृजनामा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । सहुलियतपूर्ण उक्त ऋण सहयोगले कम्बोडियालाई क्षेत्रीय व्यापार सम्झौता कार्यान्वयनमा सुधार तथा औद्योगिक उत्पादन निर्यात गर्न थप अवसर प्रदान गर्नका साथै व्यापार सहजीकरण एवम् समन्वयलाई सहज बनाउन मद्दत गर्ने अपेक्षा ब्याङ्कले गरेको उनले बताएका छन् । रासस