अफगानिस्तानलाई एक हजार पाँच सय मेगावाट विद्युत् आवश्यक : तालिबान

काबुल । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ । विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, ‘सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ ।’ उनका अनुसार देशमा ५०० मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ । अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युतले धेरै क्षेत्रमा सेवा पुर्याउँदै आएको छ । यहाँका मुख्य विद्युत बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन् । सन् २००९ मा लगातारको विद्युत अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो । तथापि, उच्च ईन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन । ‘यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो । यसको समग्र क्षमता १०५ मेगावाट छ । सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ,’ स्टेशनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले बताए । अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ । यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एशियाबाट आयात गरिन्छ । रासस/सिन्ह्वा

वातावरण दिवस सन्दर्भ : लिपिष्टिकको माइक्रोप्लाष्टिक खाँदा आनुवंशिक उत्परिवर्तन हुने खतरा

काठमाडौं । विश्वभरी नै दिनप्रतिदिन प्रदूषण बढीरहेको छ । हरेक वर्ष विश्वमा ४३० मिलियन टन भन्दा धेरै प्लाष्टिक पैदा हुने गरेको छ । यो मध्ये पोलिथिन ब्याग लगायत दुई तिहाई प्लाष्टिक छिट्टै नै नष्ट भएर जान्छ । प्लाष्टिक प्रदुशणको मुख्य स्रोत भनेको माइक्रोप्लाष्टिक हो, जुन मानिस र पृथ्वी दुबैको लागि निकै खतरनाक मानिने गरेको छ । माइक्रोप्लाष्टिक छोटो भाग जुन दैनिक जीवनमा प्रयोग हुने कपडा, चुरोट, सौन्दर्य सामग्री लगायतमा प्लाष्टिकको सानो कणको रुपमा प्रयोग गरिएको हुन्छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)का अनुसार यी वस्तुहरुको प्रयोगले वातावरणमा ठूलो मात्रामा प्लाष्टिक बढिरहेको छ । माइक्रोप्लाष्टिकले कसरी खतरा पैदा गर्छ ? माइक्रोप्लाष्टिकको ब्यास डायमिटर पाँच मिलिमिटर सम्म हुन सक्छ । प्लाष्टिक उत्पादन गर्ने कारखानाबाट चुहावट भएर वा पाइप सफा गर्ने क्रममा यो पानीको माध्यमबाट समुद्रसम्म पुग्ने गर्छ । यसले प्रकृतिको खाद्य श्रृंखलालाई प्रत्यक्ष रुपमा असर गर्छ । चरा, माछा वा समुद्री जीवहरुले माइक्रोप्लाष्टिकलाई खाएपछि यसले ती जीव तथा जनावरहरुमा विषाक्त र यान्त्रिक प्रभावहरु देखाउन थाल्दछ । यसका कारण ती जीवहरुलाई कम भोक लाग्ने समस्या सिर्जना हुन्छ । यसले ती जीवहरुको व्यवहार र आनुवंशिक उत्परिवर्तन समेत गराउने काम गर्छ । कहिलेकाहीँ सास फेर्न समस्या हुने समेत हुन्छ । मानिसहरुले नदीजन्य वा समुद्री जीवहरुको खानाको रुपमा खाँदा ती माइक्रोप्लाष्टिकहरु मानिसको शरिरमा समेत प्रवेश गर्छन् । खाना खाँदा, सास फेर्दा र कहिलेकाहीँ हाम्रो छालाले समेत माइक्रोप्लाष्टिलाई लिने काम गर्छ । पछिल्लो समयमा यस्ता माइक्रोप्लाष्टिक मानिसहरुको विभिन्न अंग र नवजात शिशुहरुको नालमा पनि प्राप्त हुन थालेको छ । महिलाहरुको लागि थप खतरनाक युएनइपी २०२१ को प्रतिवेदन ‘पोल्युसन टु सोलुसन’ मा माइक्रोप्लाष्टिकमा पाइने रसायनहरुले मानिसको स्वास्थ्यमा खासगरी महिलाकाे स्वास्थ्यमा नराम्रो असर गर्छ । यसले मानव आनुवंशिकी, स्वास्सप्रश्वासको गति र मानसिक विकासमा प्रत्यक्ष प्रभाव पार्छ । युएनइपीको मरिन एन्ड फ्रेसवाटर ब्रान्चकी प्रमुख लेटिसिया कार्भाल्होले माइक्रोप्लाष्टिक तथा यसको रसायनहरुले मानिस र समुद्री जीवहरुलाई निम्त्याउने खतरा भर्खरै शुरु भएको बताएकी छन् । यसलाई फैलिनबाट रोक्न सकिने तर त्यसका लागि सो दिशामा काम गर्नुपर्ने उनको भनाइ छ । यसो गर्दा मानिसको स्वास्थ्य सहित जैविक विविधतामा पनि ठिक हुने उनले बताएकी छन् । समुद्र किनारमा सिगरेटको फोहोर सेल्युलोज एसीटेट सबैभन्दा धेरै पाइने गरेको छ । संसारमा हरेक वर्ष एक सय करोड मानिसले छ लाख करोड चुरोट पिउने गर्छन् । चुरोटको फोहोरले समुद्री जैविक विविधतामा धेरै ठूलो संवेदनशील असर गरेको छ । महासागरहरुमा नौ प्रतिशत माइक्रोप्लाष्टिक कपडाबाट आउने गरेको छ । खासगरी पोलिस्टर, नाइलन, एक्रिलिकबाट बनेको कपडामा प्लाष्टिकको मात्रा समावेश गर्ने गरिएको हुन्छ । विश्वको कपडा–टेक्सटाइल बजारमा यस्ता कपडाको हिस्सा ६० प्रतिशत रहने गरेको छ । यी कपडाहरु धुँदा वा लगाउँदा पनि यसबाट माइक्रोप्लाष्टिक बाहिर आउने गर्दछन् । यो प्रकारको प्रदूषणबाट बच्न पोलिस्टर, नाइलन र एक्रिलिकबाट बनेका कपडा कम धुन सकिन्छ भने प्राकृतिक वस्तुबाट बनेका कपडाहरु किनेर पनि कम गर्न सकिन्छ । सौन्दर्य सामग्रीमा प्लाष्टिक सौन्दर्य सामग्रीहरुमा मिसाउनको लागि माइक्रोप्लाष्टिकहरु विशेष प्रकारले तयार गरिन्छ । माइक्रोप्लाष्टिकहरु साबुन, टुथपेस्ट, लगायत श्रृंगार सामग्रीहरुमा माइक्रोप्लाष्टिक मिसायर फिनिसिङ गर्ने गरिन्छ । यस्ता सामग्रीहरु प्रयोग गर्दा प्लाष्टिकका स–साना टुक्राहरु सिधै हाम्रो छालामा जान्छन् । लिपिस्टक र लिपबाममा पनि माइक्रोप्लाष्टिक प्रयोग गरिएको हुन्छ, जसको प्रयोग गर्दा माइक्रोप्लाष्टिक सिधै हाम्रो पेटमा पुग्छ । ग्लोबल केमिकल्स आउटलुक २ रिपोर्टले सौन्दर्य प्रशाधनहरुमा एक्सफ्लोएटिङ एजेन्ट मध्ये १० प्रतिशत भन्दा धेरै माइक्रोबीड्स प्रयोग गरिएको हुन्छ । यसबाट बच्नको लागि थोरै भन्दा थोरै कस्मेटिक सामग्रीको प्रयोग गर्नुपर्छ, न्यूनतम माइक्रोबिड्स प्रयोग गरिएका उत्पादनहरु खरिद गर्नुपर्छ । एजेन्सीको सहयोगमा ।

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

भारत । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् । भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ । एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । रेल मन्त्रालयले रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालबाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो । यद्यपि,सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन । सोमबार रेलहरूले एउटा छेउमा लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ । रासस