नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

फाइल फोटो म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् । आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ । रासस/एएफपी

प्रविधिको खराबीपछि रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु

बर्लिन । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ । बुधबारबाट सुरु भएको आइटी समस्याका कारण फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्यालयसहित जर्मनीभरका आफ्नै ब्रान्डका प्लान्टमा असर परेको थियो । भीडब्लू समूहका अन्य ब्रान्डहरू पनि प्रभावित भएका छन् । ‘फक्सवागन नेटवर्कमा आईटी पूर्वाधारको समस्या रातको समयमा समाधान गरिएको थियो,’ भोक्सवागनले एक बयानमा भनेको छ- ‘विश्वव्यापी उत्पादन सञ्जाल चलिरहेको छ, र उत्पादन योजनाबद्ध रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।’ प्रविधिमा देखिएको गढबढी ‘बाह्य प्रभावका कारण’ भएको भन्ने कुनै सङ्केतहरू फेला नपरेको भोक्सवागनको बयान छ । गत महिना जापानी प्रतिद्वन्द्वी टोयोटाले पनि कम्प्युटर प्रणालीमा खराबी आएको भन्दै जापानमा रहेका आफ्ना सबै कारखानामा उत्पादन रोक्न बाध्य भएको थियो । अगष्ट २९ मा टोयोटाका १४ वटा घरेलु प्लान्टमा पार्टपुर्जाको उत्पादन केन्द्रहरू बिग्रिएपछि एक दिनका लागि मर्मत सम्भारका लागि कारखाना बन्द गरिएको थियो । टोयोटाका अनुसार यो घटना पनि साइबर आक्रमणका कारण भएको कुनै आधार फेला परेको थिएन । रासस/एएफपी

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने

न्युयोर्क । ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ । अहिलेसम्म प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रियाहरू पूराना जानकारीमा आधारित थिए, जसमा अगस्त २०२१ पछिको जानकारी समावेश गरिएको थिएन । ‘च्याटजीपीटीले अब स्रोतहरूसँग सीधा लिङ्कहरूको साथ इन्टरनेटमा खोजी गर्न सक्छ र तपाईंलाई वर्तमान र आधिकारिक जानकारी प्रदान गर्छ,’ ओपनएआईले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् सार्वजनिक एक सूचनामा जानकारी गराएको छ । पोष्टमा भनिएको छ, ‘यो अब सेप्टेम्बर २०२१ भन्दा अघिको जानकारीमा मात्र सीमित छैन ।’ नवीनतम सुविधाले वेबसाइटहरूलाई च्याटजीपीटीले उनीहरूसँग कसरी अन्तरक्रिया गर्दछ भनेर नियन्त्रण गर्न अनुमति दिने पनि जनाइएको छ । ओपनएआईले जुनमा आफ्ना पैसा तिरेका ग्राहकहरूका लागि अद्यावधिक सार्वजनिक गरेको थियो, तर प्रयोगकर्ताहरूले इन्टरनेट सामग्रीमा पैसा तिरेका ग्राहकहरूको सूचना चोरी गर्न सफल भएपछि यो अवधारणालाई खारेज गरेको थियो । ’ब्राउज विथ बिङ’ नाम दिइएको यो सुविधा च्याटजीपीटी प्लस र उद्यम सेवाका ग्राहकका लागि पनि आरक्षित छ, तर ओपनएआईले यो चाँडै नै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएको छ । च्याटजीपीटीले यसको प्रतिक्रियाहरूको साथ प्रत्यक्ष स्रोतहरू पनि उद्धृत गर्नेछ, जुन अब कार्यक्रमको प्रकाशकले नियन्त्रण गर्ने एकल जानकारीमा आधारित हुनेछैन । रासस/एएफपी