वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता

काठमाडौं ।  सन् २०१७ मा १०० जनाभन्दा धेरैको ज्यान लिने गरी पोर्चुगलमा फैलिएको उष्णलहर र डढेलोबाट प्रभावित बनेकी २४ वर्षीया क्लाउडिया डुआर्टे अगोस्टिन्होसहित उनका २० वर्षीय भाइ मार्टिम र ११ वर्षीया बहिनी मारियानासहित छ जनाले ३२ वटा देशका सरकारविरुद्ध मुद्दा हालेका थिए । युरोपेली सङ्घका सबै सदस्य, बेलायत, नर्वे, रुस, स्विट्जरल्यान्ड र टर्कीलाई जलवायु परिवर्तनको बारेमा पर्याप्त काम नगरेको र पेरिस सम्झौताले तोकेको लक्ष्यअनुरूप विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसभित्र कायम गर्ने गरी हरितगृह ग्यासको उत्सर्जन कम गर्न चुकिरहेको भन्ने उनीहरूको आरोप छ । उक्त मुद्दा मानवाधिकारसम्बन्धी मामिला हेर्ने युरोपेली अदालत (इसिएचआर)मा विचाराधीन छ । विश्वमा निकै महत्त्वका साथ हेरिएको जलवायु परिवर्तनसम्बन्धी पहिलो मुद्दा मानिएको छ । बाँच्न पाउने अधिकार, गोपनीयता, पारिवारिक जीवन र विभेदमुक्त हुन पाउनेसहितका आफ्ना आधारभूत अधिकारहरू जलवायु परिवर्तनसँग जुझ्ने कुरामा सरकारहरूले देखाएको अनिच्छाका कारण मिचिएको उनीहरूको दाबी छ । त्यस्तै अमेरिकाको ओरिगनको मल्ट्नोमा काउन्टीले कैयौँ तेल र ग्यास उत्पादकहरूविरुद्ध सन् २०२१ मा भीषण गर्मी गराएको भन्दै ५२ अर्ब डलर क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको छ । जलवायु परिवर्तनसम्बन्धी इतिहासकै ठूलो कानूनी लडाइँका रुपमा लिइएको यो मुद्दा अहिले पनि विचाराधीन रहेको छ । न्यायालयले काउन्टीको पक्षमा निर्णय गरेमा तापक्रम बढाउन मुख्य जिम्मेवार मानिएका जीवाश्म इन्धन उत्पादन गर्ने दजर्नौँ कम्पनीहरूले क्षतिपूर्ति दिनुपर्ने बाध्यताको सिर्जना मात्र हुँदैन । यस्ता कम्पनीहरुको अस्तित्वमाथि नै गम्भीर प्रश्न खडा हुने बताइएको छ । यी दुवै मुद्दालाई अन्तर्राष्ट्रिय विभिन्न सञ्चार माध्यमहरुले प्राथमिकता मात्र दिएका थिएनन्, भावी सन्ततिका लागि विश्वको सुरक्षित भविष्यको सुनिश्चित गर्न जिम्मेवार व्यवहारका लागि सूचनाहरु सम्प्रेषण गरेका थिए । जलवायु परिवर्तनका कारण विश्वका अनेक जटिल समस्याहरुलाई लिएर विभिन्न देशका न्यायालयहरुमा मुद्दाहरु दर्ता हुने क्रम बढ्दो छ र न्यायालयहरुबाट पनि साझा चासो र चिन्ताको जलवायु न्यायको पक्षमा निर्णयहरु भइरहेका छन् । न्यायाधीशहरूमा जलवायु परिवर्तनबारे आएको स्पष्ट दृष्टिकोणका कारण अधिकांश न्यायालयहरुबाट अगामी दिनमा जलवायुमैत्री निर्णय आउने आशा गरिएको छ । केही वर्षदेखि वैज्ञानिकहरुले लगातार जलवायु परिवर्तनको असरका बारेमा विभिन्न अनुसन्धानबाट देखिएका निस्कर्षहरुका बारेमा सचेत गराउँदै आए पनि राजनेताहरु भने पछिल्लो समय यस समस्याप्रति गम्भीर देखिएका छन् । राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कुनै पनि फोरमहरुमा यस विषयले प्राथमिकता पाउन थालेको छ र पृथ्वीमा तापमान वृद्धि गराउने मुख्य स्रोत जीवाश्म इन्धन भएकाले यसको खपतलाई घटाउँदै लैजानुपर्ने आवश्यकता महसुस हुन थालेको छ । समस्याको पहिचान गर्न सफल कोप २८ संयुक्त अरब इमिरेट्स (युएई) मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२८० मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जाने सहमति भएको छ । कोप–२८ मा हालसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने भएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी निकायका अनुसार नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी प्रतिबद्धतामा एक सय ३० देशले हस्ताक्षर गरेका छन् । विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन चीन, विकासशील भारत र प्रमुख ऊर्जा निर्यातकर्ता साउदी अरब र रुसले सम्झौतामा हस्ताक्षर गरेका छैनन् । नवीकरणीय ऊर्जा प्रतिवद्धतापत्रमा २०३० सम्म ११ हजार गिगावाट हरित ऊर्जा क्षमता पु¥याउने लक्ष्य राखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए)ले २०२२–२०२७ बीचमा नवीकरणीय ऊर्जाले विश्वको ऊर्जा क्षमतामा ९० प्रतिशतभन्दा विस्तार हुने जनाएको छ । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै गएर सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिकरूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार देखिएका छन् । नवीकरणीय ऊर्जा करिब दुई हजार चार सय गिगावाट हुनेछ, यो भनेको चीनले आज उत्पादन गरेको सम्पूर्ण ऊर्जा क्षमता हो । हिजो जीवाश्म इन्धनको अत्यधिक उपयोग गर्ने चीन, युरोपिय युनियन, अमेरिका, भारतले हालको नीति र बजारमा परिवर्तन गरेका कारण यो सम्भावना बढेको ऊर्जाविद्हरु बताउँछन् । विकाशोन्मुख देशहहरु मात्र होइन, विश्वका औद्योगिक मुलुकहरुमा पनि सौर्य, वायु, जलविद्युत् र जैविक इन्धन भविष्यको ऊर्जाको मुख्य स्रोत हुनेछ । ‘क्लाइमेट एक्सन’ का अनुसार जीवाश्मको योगदान अझै पनि विश्वव्यापी ऊर्जा उत्पादनमा ८० प्रतिशत बढीमा छ । विश्वव्यापी रूपमा हाल करिब २९ प्रतिशत विद्युत् नवीकरणीय स्रोतबाट प्राप्त भइरहेको छ । विश्व जनसङ्ख्याको करिब ८० प्रतिशतभन्दा बढी मानिस जीवाश्म इन्धनमा निर्भर छन् । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीले सन् २०५० सम्ममा विश्वको ९० प्रतिशत विद्युत् नवीकरणीय ऊर्जाबाट आउने अनुमान गरेको छ । आठ वर्षअघि मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर हुँदा कोइला, तेल र ग्यासको कतै पनि चर्चा भएको थिएन । सन् २०१५ को पेरिस सम्झौताले बढ्दो खडेरी, आँधीबेहरी र समुद्रको सतह वृद्धिलगायत जलवायु परिवर्तनको सबैभन्दा खराब विनाशबाट बच्न विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी नराख्ने महत्त्वाकांक्षा राखेको थियो । कोप–२८ को सचिवालयका अनुसार जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट बच्न सन् २०३० सम्म कार्बन उत्सर्जनलाई झण्डै आधाले घटाउने विषयमा पनि सहभागी राष्ट्रहरुको समान मत छ । कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर परेको छ । हरितगृह ग्यास उत्सर्जनमा जीवाश्म इन्धनको भूमिका ७५ प्रतिशत बराबर छ । जीवाश्म इन्धनको निर्भरता कम गर्दै स्वच्छ, पहुँचयोग्य, किफायती, दिगो र भरपर्दो ऊर्जाको वैकल्पिक स्रोतमा थप लगानीको आवश्यकता बढेर गएको छ । यस विश्व जलवायु सम्मेलनले जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्न देशहरूलाई आग्रह गर्ने सहमतिसहति पारित गरेको २१ पृष्ठ लामो सहमति कानुनी रूपमा भने बाध्यकारी छैन । तर यसले जलवायु परिवर्तनको चुनौती सामना गर्न देशहरूलाई मार्गदर्शन भने गर्नेछ । सहमतिमा देशहरूले जीवाश्म इन्धनको विकल्पतर्फ जान ‘न्यायपूर्ण, प्रक्रियाबद्ध र समतामूलक योगदान गर्नेछन्’ भनिएको छ । पहिलो पटक जलवायु सम्मेलनमा लिखितरूपमा कोइला, तेल र ग्यासजस्ता इन्धनहरूबारे प्रतिबद्धता जनाइएको छ । सम्मेलनमा सहभागी देशका सरकार प्रमुखहरू र तेल र ग्यास उद्योगहरूबीच नवीकरणीय ऊर्जालाई तीन गुणा वृद्धि गर्ने र सन् २०३० सम्ममा मिथेन ग्यास उत्सर्जनमा तीव्र कटौती गर्ने गैर–बाध्यकारी प्रतिज्ञा गर्न सहमत देखिएका थिए । करिब ५० इन्धन कम्पनीले मिथेनको उत्सर्जन शून्य गर्ने र सन् २०३० सम्ममा नियमित उत्सर्जनलाई अन्त्य गर्ने वाचा गरेका छन् । अत्यधिक शक्तिशाली तर तुलनात्मकरूपमा कार्बन डाइअक्साइडपछि दोस्रो मानिने अल्पकालीक मिथेन ग्यास अहिले हुने हरितगृह ग्यास उत्सर्जनबाट तापक्रम वृद्धिका लागि लगभग एक–तिहाई नतिजाको लागि जिम्मेवार छ । ऊर्जा उत्पादनको अतिरिक्त, पशु कृषि मिथेनको एक प्रमुख स्रोत हो । तत्कालीन विकल्पको खोजी पृथ्वीको तापक्रम बढ्दै जाँदा त्यसबाट निम्तिन सक्ने खराब अवस्थाहरू आउन नदिन संयुक्त राष्ट्रसङ्घका वैज्ञानिकहरूले हालै मानिसहरूले गर्नुपर्ने योजनासहित विभिन्न सुझावहरु सार्वजनिक गरेका छन् । राष्ट्रसङ्घको वातावरणीय निकाय इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज आइपिसिसीका अनुसार मानिसहरूले जलवायु परिवर्तनको जोखिमबाट जोगिनका लागि खनिज इन्धनको प्रयोग कम गर्नुको अर्को बलियो विकल्प नभएको बताएका छन् । पृथ्वीको तापक्रम बढ्न नदिन ऊर्जा उत्पादनका लागि कोइलाको प्रयोगलाई सदाका लागि बन्द गर्नुपर्छ । त्यसैगरी कार्बन उत्सर्जन कटौती गर्न एकदमै अप्ठ्यारो हुँदै गर्दा अनुसन्धानकर्ताहरू उपयुक्त समाधानका निम्ति फेरि प्रविधिको भूमिकामा जोड दिनुपर्ने बताउँछन् । आवास, आवागमन र पोषणजस्ता क्षेत्रमा मानिसहरूको ऊर्जाको मागलाई कटौती गर्न सकिने उपायहरूको खोजी हुनु पर्नेमा पनि उनीहरुको जोड रहेको छ । धनी मानिसहरूको व्यवहारका कारण पृथ्वीको अवस्थामा ठूलो प्रभाव परेकाले उनीहरुको व्यवहारमा परिवर्तन हुन आवश्यक छ । अहिले खनिज इन्धनका सम्बन्धमा भइरहेको पैसाको प्रवाह स्वच्छ ऊर्जाका निम्ति भइरहेको दाँजोमा एकदमै धेरै भएकाले खनिज इन्धनको खपतका निम्ति दिइरहेका अनुदानहरू बन्द गर्नु पर्ने हुन्छ । रासस (विभिन्न एजेन्सीहरुको सहयोगमा)

५ सय भारु लगानीमा जन्मिएको रिलायन्स ग्रुप

काठमाडौं । भारतको सबैभन्दा ठूलो व्यावसायिक घराना हो रिलायन्स ग्रुप । यो संसारका विशाल व्यापारिक समूहको सूचीमा पर्छ । यो ग्रुपका प्रमुख सञ्चालक मुकेश अम्बानी अहिले संसारका धनीमध्ये एक हुन् । उनी एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनको रिलायन्स ग्रुप जम्मा ५ सय भारु बीउ पुँजीबाट स्थापना भएको थियो भन्दा अचम्म लाग्छ । जसलाई मुकेशका बुबा धीरुभाइ अम्बानीले आफूसँग भएको त्यही ५ सय रुपैयाँबाट स्थापना गरेका थिए । यो सत्यकथा उनै धीरुभाइ अम्बानीको हो । धीरुभाइ अम्बानीको जन्म २८ डिसेम्बर १९३२ मा गुजरातको एउटा सानो सहरमा भएको थियो । बुबा शिक्षक र आमा गृहिणी थिए। दुई कोठाको घरमा पाँच दाजुभाइसहित पूरै परिवार बस्थे । परिवारलाई सहयोग गर्न बाल्यकालदेखि नै काम गर्न थालेका थिए धीरुभाइले । उनले ठेलामा गांठिया बेच्न थाले र त्यसबाट आफूले कमाएको थोरै पैसा आफ्नी आमालाई दिए । १० कक्षा पास गरेपछि उनी आफ्नो भाइ रमणीकलालसँग यमन गए । त्यहाँ उनले पेट्रोल पम्पमा काम गर्न थाले । पूरा दिन काम गरेवापत उनले ३ सय रुपैयाँ तलब पाउँथे । त्यो जागिरमा उनलाई रुचि लागेन । उनी आफ्नै व्यापार गर्न चाहन्थे । यही सोचेर भारत फर्किए । बचतको नाममा उनीसँग जम्मा ५ सय रुपैयाँ थियो, जसलाई लिएर उनी मुम्बई पुगे । उनले आफ्ना भाइ चम्पकलाल दिमानीसँग मिलेर रिलायन्स कमर्सियल कर्पोरेशन कम्पनी खोले । यही कम्पनीको सहयोगमा उनी अदुवा, बेसार र अन्य मसला पश्चिमी मुलुकमा बेच्ने गर्दथे । धीरुभइलाई बजार र मागको राम्रो ज्ञान थियो । आगामी दिनमा पोलिस्टर कपडाको माग बढ्ने उनको बुझाइ थियो । उनले त्यसमा पनि जोड दिन थाले । धीरुभाइले मुम्बईमा ३ सय ५० वर्गफिटको कोठा भाडामा लिएका थिए । कार्यालयमा एउटा टेबुल र तीनवटा कुर्सीबाहेक केही थिएन । यही सानो कोठाबाट उनले रिलायन्स इन्डस्ट्रिजको यात्रा सुरु गरे । मसलासँगै पोलिस्टर कपडा बनाउने काम पनि सुरु गरे । सन् १९६६ मा उनले गुजरातको अहमदाबादमा टेक्सटाइल मिल सुरु गरे। जसको नाम रिलायन्स टेक्सटाइल थियो । बिस्तारै उनले व्यवसाय विस्तार गर्न थाले । धीरुभाइलाई व्यापारको हरेक चाल थाहा थियो। एकपटक उनले अरब देशका शेखलाई भारतीय माटो बेचेर पैसा कमाए । वास्तवमा शेखले आफ्नो बगैंचामा गुलाब उब्जाउनुपर्ने थियो, जसका लागि उनलाई उर्वर माटो चाहिन्थ्यो। धीरुभाइले आफ्ना सम्पर्कहरूमार्फत भारतबाट माटो अरब शेखलाई पठाएका थिए। बदलामा शेखले उसलाई मनपर्ने मूल्य दिए। धीरुभाइ अम्बानीको व्यापार बढ्न थाल्यो । कपडा क्षेत्रमा कम्पनीको ठूलो नाम बन्न थाल्यो । कम्पनी कपडाबाहेक दूरसञ्चार, दूरसञ्चार सूचना, ऊर्जा, विद्युत्, खुद्रा बिक्री, पूर्वाधार, पुँजीबजार र खाद्यान्न क्षेत्रमा विस्तार भइसकेको थियो । धीरुभाइले स्वतन्त्र भारतको पहिलो आईपीओ सुरु गर्ने निर्णय गरे । त्यसबेला १० रुपैयाँमा २८ लाख कित्ताको आइपीओ निष्कासन भएको थियो । त्यतिबेला यो सेयर सात गुणा ओभरसब्सक्राइब भएको थियो । धीरुभाइ अम्बानी एक प्रतिभाशाली टोली नेता थिए । आफ्नो कार्यतालिका जतिसुकै व्यस्त भए पनि कर्मचारीलाई भेट्ने, समस्या सुन्ने र समाधान गर्ने गर्थे । उनले शून्यबाट पनि उचाइमा पुग्न सकिन्छ भन्ने प्रमाणित गरे । आज उनका छोराहरू मुकेश अम्बानी र अनिल अम्बानीले रिलायन्सको व्यापारलाई अगाडि बढाइरहेका छन् । एजेन्सी

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दाबी

इजरायल । उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकू समूह (हमास) का लडाकूहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच , भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ । हालैका हप्ताहरूमा, १६२औं डिभिजनको कमान्डमा १४औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमास आतंकवादी संगठनका नेता याह्या सिनवारको गोप्य बासस्थान (अपार्टमेन्ट) फेला पारी नष्ट गरेको छ । उक्त अपार्टमेन्ट उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षा बलले जनाएको छ । रक्षा बलका अनुसार, याहलोम युनिटका सैनिकहरूले थप प्राविधिक साधनहरू प्रयोग गरेर अपार्टमेन्टको खोजी गरेका थिए । अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरूङ मार्ग रहेको थियो । सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ । यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो । यसमा हमासका वरिष्ठ अधिकारीहरू सरेका थिए र सञ्चालन गरेका थिए । उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरूङ बनाई आफ्ना रणनीतिक कामहरू गर्दै आएको, इजरायली रक्षा बलले जनाएको छ । सुरुङभित्र विद्युतीय सञ्जाल, भेन्टिलेसन र ढल निकास पूर्वाधार, लुकेको सामग्री, प्रार्थना कक्ष र विश्राम कक्षहरू फेला पारेका थिए । सुरूङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुनेगरी निर्माण गरिएको थियो । इजरायली सेनाले याहलोम युनिटका सैनिकहरूले सुरुङलाई नष्ट गरेका छन् । रक्षा बलले याहलोम युनिटका सैनिकहरूले सुरुङको मार्ग पत्ता लगाएको र सुरूङभित्र सुरक्षा जाँचसमेत गरेको फुटेज साझा गरेको छ । सेनाले हमासको मुख्यालय क्षेत्रमा सुरुङहरू भत्काएको फुटेज पनि साझा गरेको छ । गुप्तचर सूचनाको आधारमा लडाकूहरूले हमास आतङ्कवादी सङ्गठनका कार्यकर्ताहरूको दर्जनौं घरहरूमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थहरू नष्ट गरेका छन् । एजेन्सी