उडानका क्रममा विमानको झ्याल फुटेपछि…

वासिङ्टन । अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ । ‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षितरूपमा फर्काइएको थियो,’ सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा) मा लेखेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ । विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो । ‘यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाईमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महसुस गरिएन,’ उनले सीएनएनसँग भने । अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएकोे चर्को आवाजले उनलाई ब्यूँझाएको थियो । ‘मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ,’ गुयेनले न्युयोर्क टाइम्ससँग भने, ‘त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन ।’ जब मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचें, ‘म मृत्युको मुखमा जाँदैछु,’ उनले थपे । राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताएका छ । ‘६ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो ।’ बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)’ ले जनाएको छ । फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो। बोइङले थप जानकारी संकलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ ।

संसारकै धनी अर्बपति महिला बनिन् फ्रान्सकी मेयर्स, मुकेश अम्बानी पछि धकेलिए

काठमाडौं । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै विश्वकै धनी महिला अर्बपति सूचीको १२औं स्थानमा पुगेकी छन् फ्रान्सकी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स । उनी १ सय अर्ब अमेरिकी डलर सम्पत्ति आर्जन गर्ने विश्वकै पहिलो महिला बनिन् । भारतीय व्यापारी मुकेश अम्बानी विश्वका धनीहरूको सूचीमा १३औं स्थानमा छन् । उनको सम्पत्ति ९७ अर्ब डलर छ । जसको अर्थ फ्रान्कोइस बेटेनकोट मेयर्ससँग मुकेश अम्बानीभन्दा धेरै सम्पत्ति छ । फ्रान्कोइस बेटेनकोट मेयर्स कस्मेटिक कम्पनी लोरियलको सञ्चालक समिति उपाध्यक्ष हुन् । यससँगै उनी लोरियलको होल्डिङ कम्पनी टेथिसकी अध्यक्ष पनि हुन् । ब्लूमबर्ग बिलिनायर्स इन्डेक्सद्वारा प्रस्तुत रिपोर्टअनुसार फ्रान्कोइसको कस्मेटिक्सको सम्पत्ति बढेर १ खर्ब १० अर्ब डलर पुगेको छ। यो वर्ष उनको सम्पत्ति २८ अर्ब ६० करोड डलरले बढेको छ । लोरियलको स्थापना सन् १९०९ मा उनका मावली हजुरबुबा यूजीन पाल लुइस शूएलरद्वारा गरिएको थियो । लोरियल कम्पनीमा सेयरको कुरा गर्दा मेयर्स र उनको परिवारको ३४ प्रतिशतभन्दा बढी सेयर छ । उनी १९९७ देखि लोरियलको सञ्चालक समितिमा छिन् । यसअघि उनकी आमा लिलियन बेटेनकोर्ट विश्वकै धनी महिला थिइन् । लिलियनको मृत्युपछि, मेयर्स अध्यक्ष भएकी हुन् । मेयर्स आफ्नो देशमा सम्पत्तिको हिसाबले दोस्रो स्थानमा छिन्। फ्रान्सका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट विश्वकै दोस्रो धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलिनायर्स इन्डेक्सको रिपोर्टअनुसार उनको सम्पत्ति बढेर १ खर्ब ७९ अर्ब अर्ब डलर पुगेको छ ।

अमेरिकाको ऋण पुग्यो ३४ हजार अर्ब डलर

काठमाडौं । पाकिस्तानको गरिबीबारे सबैलाई थाहा छ। आफ्ना गल्तीका कारण पाकिस्तान ऋणको बोझमा डुबेको छ । तर, के तपाईंलाई थाहा छ पाकिस्तान मात्रै होइन, विश्वकै शक्तिशाली राष्ट्रमध्येको एक ‘सुपरपावर’ अमेरिका पनि ऋणको बोझले दबिएको छ । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । अमेरिकाले तिर्नुपर्ने ऋण रकमले पाकिस्तान गरिबीबाट बाहिर निस्किन र देशको मुहार बदल्न सक्छ । अमेरिका यस्तो देश हो जसले अरू देशलाई ऋण दिन्छ । तर, त्यहाँका हरेक नागरिक ऋणको बोझले थिचिएका छन् । अमेरिकाका अगाडि धेरै देश झुकेका छन्, तर पनि उनीहरूको ऋण ३४ हजार अर्ब डलर पुगेको छ । अमेरिकामा धेरै वर्षदेखि ऋण थियो जुन निरन्तर बढ्दै गएको छ । यो समयमा ऋण रेकर्ड उच्चस्तरमा पुगेको छ । विश्व महाशक्ति अमेरिका अरूलाई ऋण दिँदा आफैं ऋणको जालमा फसेको छ । कोरोना भाइरस महामारीपछि अमेरिकाको ऋणको बोझ झनै बढेको छ । हालै अमेरिकी वित्त विभागले एक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा ऋण रकम ३४ हजार अर्ब डलर पुगेको उल्लेख छ । यस्तो कर्जाले आर्थिक तनाव बढाउने पनि बताइएको छ । यसबाट सरकारको काम प्रभावित हुनेछ । पछिल्लो तीन वर्षमा अमेरिकाको ऋण १ सय खर्ब डलरले बढेको छ । अमेरिकाले ऋणको ब्याज दैनिक १ अर्ब ८ करोड डलर ब्याज मात्रै तिर्नुपर्छ । कुल ऋण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को १ सय २३ प्रतिशत पुगेको छ । यसअघि सन् २०२० मा अमेरिकाले आफ्नो ऋणमा दैनिक ९० करोड डलरमात्र ब्याज तिर्नुपर्ने थियो । तर, अहिले दैनिक ब्याज भुक्तानी १ अर्ब ८ करोड डलर पुगेको छ । यदि यो गतिमा ऋण बढिरह्यो भने केही वर्षमा अमेरिकाको ऋण यसको अर्थतन्त्रको दोब्बर हुनेछ । एजेन्सी