कुन देशका मानिसले धेरै सेकेन्ड ह्यान्ड कपडा किन्छन् ?

काठमाडौं । संसारका धेरै देशमा मानिसहरूले आफ्ना पुराना लुगा विशेष ठाउँमा छोड्छन् ताकि खाँचोमा परेकाहरूले तिनीहरूलाई प्रयोग गर्न सकून् । मानिसहरूले छाडेका पुराना कपडा खाँचो परेकाहरूले प्रयोग गर्छन् । पुराना कपडा पनि बेचिन्छन्। धेरै विकसित देश सेकेन्ड ह्यान्ड कपडा किन्न विकासशील देशभन्दा धेरै अगाडि छन् । स्टेटिस्टा कन्सुमर इनसाइटको तथ्यांकअनुसार फिनल्याण्ड यस सूचीमा पहिलो स्थानमा छ । एक सर्वेक्षणका अनुसार यो देशका ३३ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेका थिए । त्यसैगरी, युरोपेली देश पोल्याण्डमा पछिल्लाे १२ महिनामा ३३ प्रतिशत मानिसले पुराना कपडा खरिद गरेको बताइएकाे छ । स्वीडेन विश्वका धेरै सूचकहरूमा पहिलो स्थानमा छ । तर, यो देशमा ३० प्रतिशत जनताले पछिल्लो एक वर्षमा पुरानो कपडा किनेकाे सर्भेले जनाएकाे छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा ३० प्रतिशत मानिसले सेकेन्ड ह्यान्ड कपडा किनेको स्टेटिस्टा कन्सुमर इनसाइटले जनाएकाे छ । फ्रान्स र बेलायतमा पनि याे चलन चलिरहेकाे छ । विश्वको शीर्ष अर्थतन्त्र भएका यी देशमा २९ प्रतिशत मानिसले पुरानो लुगा किन्ने गरेको जनाइएकाे छ । भारतमा गरिएकाे एक सर्वेक्षणमा सहभागी २४ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् । यसैगरी, विश्वको तेस्रो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा २१ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा १२ प्रतिशत मानिसले आफूले अरूले लगाएको लुगा लगाइएको बताएका छन् । जापान र दक्षिण कोरियामा १०/१० प्रतिशतले सेकेन्ड ह्यान्ड कपडा किन्ने स्वीकार गरेका छन् । नेपालमा पनि कुनैकुनै ठाउँमा सेकेन्ड ह्यान्ड कपडाकाे बिक्री भएकाे पाइन्छ । साथै कपडा ब्यांककाे चलन पनि चलेकाे थियाे  तर काेराेनाकालपश्चात् हराएर गयाे । एजेन्सीहरूकाे सहयाेगमा

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए एलन मस्क अर्थमन्त्री बन्ने चर्चा, प्रचार-प्रसारमा देखाए ‘ग्रिन सिंग्नल’

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अमेरिकाको नयाँ अर्थमन्त्री बन्न सक्ने अनुमानले अमेरिका गर्माएकाे छ । मस्कले राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको लागि कस्सिएर प्रचार गरिरहेका छन् । ट्रम्पको जित्ने सम्भावना पछिल्लो समय निकै बढेको छ । यदि ट्रम्प राष्ट्रपति बने भने मस्कलाई २०२५ को फेब्रुअरीमा मन्त्रिपरिषद्का लागि मनोनयन गर्न सकिने विश्वास गरिएको छ । मस्कले अमेरिकाको बढ्दो ऋणप्रति चिन्ता व्यक्त गरेका छन् । आफू अर्थमन्त्री भए अमेरिकी बजेटमा कम्तीमा २ ट्रिलियन डलर बचत गर्न सक्ने उनको भनाइ छ । न्युयोर्कमा आइतबार ट्रम्पको समर्थनमा आयोजित र्‍यालीमा मस्कले भनेका थिए, ‘तपाईंहरूको पैसा बर्बाद भइरहेको छ । म अमेरिकी बजेटबाट कम्तीमा २ खर्ब डलर बचत गर्न सक्छु ।’ अमेरिकाको ऋण ३५.७ खर्ब डलर पुगेको छ र सरकारले वार्षिक १ खर्ब डलरभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ । अमेरिकाको बढ्दो ऋणलाई आर्थिक आपतकालको संज्ञा दिँदै मस्कले यो संकट तत्कालै सामना गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । मस्ककाे फाइदा मस्कले जसरी जनतासामु आफ्नो भावी रणनीति प्रस्तुत गरिरहएका छन्, त्यसले उनी देशको अर्थमन्त्री बन्ने अनुमान गरिएको छ । र्‍यालीमा ट्रम्पले मस्कलाई सरकारी खर्च कटौती गर्ने विभागको जिम्मेवारी दिने बताए । तर, आलोचकहरूले मस्कलाई यस्तो जिम्मेवारी दिँदा स्वार्थको द्वन्द्व सिर्जना हुने बताएका छन् । टेस्ला र स्पेस एक्सलगायत धेरै कम्पनीहरू मस्ककाे स्वामित्वमा छन् ।  उनका कम्पनीहरूसँग धेरै सरकारी सम्झौता छन् । मस्कका कम्पनीहरू विशेषगरी टेस्ला र स्पेस एक्स सरकारको नीतिबाट धेरै लाभान्वित भएका छन् । ट्रेजरी विभागका अनुसार यस वर्ष अमेरिकी सरकारको खर्च करिब ६.७५ खर्ब डलर हुनेछ । मस्कले यसको एक तिहाइ बचत गर्ने कुरा गरिरहेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले देशको ऋण घटाउने कुरा गरेका थिए तर उनले यस सम्बन्धमा कुनै खास योजना भने पेस गरेका छैनन् । मस्कले ट्रम्प र अन्य रिपब्लिकन पार्टीका उम्मेद्वारहरूका लागि कम्तीमा १३२ मिलियन डलर खर्च गरेका छन् । उनी २०२४ को चुनावमा सबैभन्दा बढी चन्दा दिने व्यक्तिहरूको शीर्ष सूचीमा समेत परेका छन् । मस्क २७२ बिलियन डलरको साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । (एजेन्सीको सहयाेगमा )

बंगलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

काठमाडौं । गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् । ‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित भएका थिए । यो पद संवैधानिक भएपनि उनको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको छ । ‘राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ,’ हसिनाको भारत पलायनसँगै घोषणा भएको राजिनामापछि बनेको अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले सोमबार भने । अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’का रूपमा गरिरहेका छन् । सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताएका छन् । हसनले आइतबार पत्रकारहरूसँग भने, ‘क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्छ।’ ‘उहाँलाई हटाउनुपर्ने माग आन्दोलनको भावनासँग मेल नखाने दाबीका आधारमा आएको हो,’ उनले भने। यसै महिनाको सुरुमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो । त्यसको केही समयपछि युनुसको सरकारमा कार्यरत विद्यार्थी नेता आसिफ नजरुलले उक्त टिप्पणी ‘उनी ९राष्ट्रपति० को शपथको उल्लंघन’ भएको आरोप लगाएका थिए । गत हप्ता राष्ट्रपति भवनपरिसरमा आक्रमण गर्न खोज्ने सयौंको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए । रासस