घरेलु काममा रमाउँदै महिला श्रमिक, कस्तो काम गर्छन् ?

ललितपुर । वैदेशिक रोजगारीमा गएका श्रीमान फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थालेकी थिइन् । त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उनले काम छाड्न सक्नुभएन र निरन्तरता दिइरहिन् । सामाखुशी र आसपासका परिवारमा काम गर्दागर्दै उनी श्रमिक सङ्गठनमा संलग्न भइन् । त्यतिबेला भन्दा अहिले मजदूर एक भएकाले मजदूरका अधिकार स्थापित हुँदै गएको उनको अनुभव छ । धेरै दिदीबहिनी विदेशमा घरेलु श्रमिकका रुपमा गएर दुःख पाएर फर्किरहँदा उनी भने खुशी भएर स्वदेशमै काम गर्छिन । आफ्ना दिदीबहिनी र साथीलाई समेत घरेलु श्रमिकका रुपमा काम गर्न उनी सल्लाह दिन्छिन् । उनले भनिन्, “विदेशको कानून फरक भएकाले दुःख भए पनि यहाँ काम गर्दा त्यस्तो समस्या पर्दैन ।” घरेलु श्रमिकका रुपमा काम गर्न विदेशमा भन्दा स्वदेशमा सजिलो भएको अञ्जनाले बताइन् । दिनभर काम गरेपनि बिहान साँझ आफ्ना सन्तानसँग टाढा हुनु पर्दैन । उनी एकै दिनमा दुई तीन वटा घरसम्म काम गर्छिन् । कुनै घरमा भान्साको काम मात्रै त कतै बालबालिका र कतै ज्येष्ठ नागरिकको हेरचाह गर्छिन् । उनी भन्छिन्, “विदेशिका आमाबुबा र छोराछोरी हेर्नु भन्दा थोरै पैसामा भए पनि नेपालीका घरपरिवारमा काम गरौं भनेर विदेशबाट फर्किएकालाई सम्झाउँछु ।” विदेश जानका लागि एक दशक पहिले काठमाडौँ आएकी मनिषा घिमिरे अहिले बसुन्धाराको एउटा घरमा काम गर्छिन् । अरुको लहैलहैमा उनी साउदी अरब जाने योजना बनाउँदै थिइन् । घरेलु श्रमिकका रुपमा गएका मानिसको त्यहाँ हत्या भएको सुनेपछि डराएर स्वदेशमै केही गर्ने योजना बनाइन् । नजिकैका घरबाट बोलाएपछि उनी बिहान साँझ यो काम गर्न थालिन् । अहिले भने पूरै समय एउटा परिवारका लागि काम गर्छिन् । यही कामबाट कमाएरै मनिषाले छोरालाई पढाएकी छिन् । । विदेशमा बगाउने पसिना यहीँ बगाउँदा राम्रो कमाउन सकिने उनको अनुभव छ । उनले भनिन्, “यहाँ पनि १८ घण्टा काम गर्दा उता बराबर कमाउन नसकिएला, तर परिवार पाल्न सक्ने कमाइन्छ ।” काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा एकल परिवार बढ्दै जाँदा वा कामकाजी महिला बढ्दा घरेलु श्रमिकको सङ्ख्या बढ्दै छ । काम अनुसारको पारिश्रमिक नपाए पनि धेरै श्रमिकले यही कामबाट जीविकोपार्जन समेत गरिरहेका छन् । पहिले सम्मान नभएको कामका रुपमा लिइएको घरेलु श्रमलाई विस्तारै परिवार र समाजले स्वीकार गर्न थालेको घरेलु श्रमिक बताउँछन् । शर्मिला खत्री मैतीदेवीमा एउटी वृद्धाको स्याहार गर्छिन् । त्यस घरका श्रीमान श्रीमती नै कार्यालय गएदेखि फर्किएर आउँदासम्म वृद्धालाई खाना र औषधि खुवाउने, लुगा धुनेलगायतका काम गर्नुहुन्छ । श्रीमान्ले अर्को विवाह गरेपछि उनले यो घरमा काम शुरु गरेकी थिइन् । कतिपय महिला श्रीमानलाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले घरेलु श्रमिकका रुपमा काम गरेका छन् भने धेरैले श्रीमानले अर्को विवाह गर्दा, आर्थिक सहयोग नगर्दा वा श्रीमान नकमाउँदा काममा लागेका छन् । श्रीमान आर्थिक सहयोग नगर्दा पनि महिलाले खान बस्नदेखि सन्तानको शिक्षा यही कामबाट पूरा गरिरहेका छन् । रासस

कैलाश विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर, वित्तीय क्षेत्रमा १८ वर्षको अनुभव

काठमाडौं । कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत( डेपुटी सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले पुस ६ गते(आज)देखि लागु हुने गरी मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त नायब सीईओ मानन्धरले नियुक्त भएदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मानन्धर यसअघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । नेपाल बङ्गलादेश बैंकबाट बैंकिङ् करियर शुरु गरेका मानन्धरले विभिन्न वाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनको वित्तीय क्षेत्रमा करिब १८ वर्षभन्दा बढीको कार्य अनुभव छ ।

सिटिजन्स बैंकको कामु कार्यकारी प्रमुखमा गणेशराज पोखरेल, भण्डारी प्रमुख सल्लाहकार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल भएका छन् । मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे । प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुने भएको र उनी पुस १ गतेबाट विदामा बसेकाले अर्को व्यवस्था नभए सम्मका लागि पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । साथै, सेवा निवृत भएका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलाई पुस १७ गतेबाट लागु हुने गरि बैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बैंकले जनाएको छ ।