सिटिजन्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका देवकोटालाई २०७६ साल बैशाख १ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै गणेशराज पोखरेल नियुक्त भएपछि नायव प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको थियो । नव नियुक्त नायब प्रमुख कार्यकारी अधिकृत देवकोटाले स्थापनाकाल देखि नै बैंकसंग आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । यस बैंकमा आबद्ध हुनु अघि उनले नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।
राष्ट्रिय बाणिज्य बैंकले ६६१ जना कर्मचारी माग्यो, बैशाख १२ गतेसम्म आवदेन दिन सकिने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगिताद्वारा ६६१ जना कर्मचारी स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले शुक्रबार पदपूर्ति सम्बन्धी दरखास्त फारम भर्न सूचना प्रकाशित गरेको छ । वरिष्ठ प्रबन्धक देखि सहायक स्तरसम्मको पदपूर्ति गर्ने बैंकले जनाएको छ । नवौं तहको बरिष्ठ प्रबन्धक २ जना, आठौँ तहको प्रबन्धक ७ जना, सातौ तहको उपप्रबन्धक ११ जना, छैठाँै तहको सहायक प्रबन्धक १४२ जना, पाँचौँ तहको वरिष्ठ सहायक(प्रशासन) १०५ जना, वरिष्ठ सहायक(कानून) १० जना, वरिष्ठ सहायक(नगद) ३२ जना, वरिष्ठ सहायक (सूचना प्रविधि) ४३, चौथो तहको सहायक(प्रशासन) २३९ र सहायक(नगद) ७० जना कर्मचारी माग गरिएको हो । बरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक र सहायक प्रबन्धक पदको आवेदन दिनका लागि स्नातकोत्तर उत्तीर्ण हुनु पर्नेछ । त्यसैगरी बरिष्ठ सहायकको लागि स्नातक र सहायक पदका लागि प्लस टु उत्तीण गरेको हुनु पर्नेछ । आवेदकले बैशाख १२ गतेसम्म आवदेन दिन सक्नेछन्, यो अवधिमा आवेदन नदिए दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ । अनलाइनबाट फारम भर्न सकिने जनाइएको छ ।
सिविआईएल क्यापिटलको अध्यक्षमा बोधराज देवकोटा नियुक्त
काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिविआईएल क्यापिटलमा बोधराज देवकोटा अध्यक्षमा नियुक्त भएका छन् । संस्थाको अध्यक्ष रहेका गणेशराज पोखरेल मुख्य कम्पनी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएसँगै संचालक समितिको बैठकले बोधराज देवकोटालाई अध्यक्ष पदमा नियुक्ति गरेको हो । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता, शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापनको साथै डिम्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्ने अनुमति सिविआईएल क्यापिटलले लिएको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको सो संस्थाले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । सो कम्पनीमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह लगानी रहेको छ ।