स्वास्थ्य मन्त्रालयको सचिवमा डा. रोशन पोखरेल नियुक्त

काठमाडौं । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । आज (साउन ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज बसेको बढुवा समितिको बैठकले सचिव नियुक्तका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिस गरेको थियो । जसमध्ये मन्त्रिपरिषद्को बैठकले डा. पोखरेललाई सचिवमा नियुक्त गरेको हो । डा. पोखरेल झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका हुन् । यसअघि उनी मन्त्रालयमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए ।

प्रभु क्यापिटलले कर्मचारीलाई दियो लिडरसिप तथा मोटिभेसन तालिम

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना कर्मचारीहरुको वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले एक्जिओम नेपालको सहयोगमा साउन २ गते शनिबार काठमाडौंको ग्राण्ड नोर्लिङ्ग होटेल तथा रिसोर्टमा सो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक इन्द्रबहादुर गुरुङ्ग तथा सञ्जिव काफ्लेले सञ्चालन गरेका थिए । सो तालिम अन्तरगत कर्मचारीहरुलाई समुह निर्माणका साथै समुहको महत्व एवं समुहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको अन्त्यमा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्षका लागि कम्पनीले लिएको लक्ष्यका साथै कम्पनीको आगामी कार्यदिशाका बारेमा जानकारी दिएका थिए ।

एक्सेल डेभलपमेन्ट बैंकका कामु सीईओ कार्कीले सम्हाले कार्यभार

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखराज कार्कीले साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यभार सम्हालेका हुन् । असार ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई बैंकको कामु सीईओ पदमा नियुक्त गरेको हो । बैंकका सीईओ दिनेशकुमार पोखरेलको पदावधी २०७८ असार मसान्तबाट सकिएसँगै कार्कीलाई कामु सीईओमा नियुक्त गरेको हो ।