ठगी आरोपमा टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्टका संचालक पक्राउ

काठमाडाैं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले बिहिबार गुरुङलाई पक्राउ गरेको हो । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो । हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरुमाथि पनि आक्रमण भएको थियो । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ ।

गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे, सम्हाले कार्यभार

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ घिमिरले माघ १९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । घिमिरेले आगामी ४ वर्षसम्म संस्थाको संस्थाको सीईओ पदमा रहेर कार्यभार सम्हाल्ने छन् ।

६ सिनियरलाई पन्छाउँदै अधिकारीलाई क्यानको महानिर्देशक बनायो सरकारले

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यान अन्तरगतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक पदमा चारवर्षे कार्यकालका लागि अधिकारी नियुक्त गरिएको हो । चार वर्षे अवधिका लागि महानिर्देशकमा नियुक्त भएसँगै पहिलो पटक क्यानकै इतिहासमा युवाले नेतृत्व गर्न पाएका हुन् । यसअघि १२ औँ तहका उपमहानिर्देशक क्यानको महानिर्देशक हुँदै आएकोमा ११ औं तहका अधिकारी पहिलो पटक महानिर्देशकमा नियुक्त भएका हुन् । ४२ वर्षका अधिकारी प्राधिकरणमा आठौँ तहबाट आन्तरिक खुला प्रतिस्पर्धाबाट ११ औँ तहमा पुगेका हुन् । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियर पास गरेका छन् । महानिर्देशक बन्न्का लागि क्यानमा १२ औं तहका ६ जना उपमहानिर्देशकले लबिङ गर्दै आएका थिए । जसमा प्रतापबाबु तिवारी, भोला गुरागाईँ, देवचन्द्र लाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुर प्रतिस्पर्धामा थिए भने निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले कार्यकाल लम्ब्याउने प्रकृयामा थिए ।