लक्ष्मी क्यापिटलको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको १५ औं वार्षिक साधारण सभा असोज ७ गते आइतबार सम्पन्न भएको हो । लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पनि पारित गरेको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । क्यापिटलको हालको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १५ गते बसेको बैठकले लाभांश र साधारण सभा बोलाएको थियो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सनराइज क्यापिटलसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन, डेपुटी गभर्नर ढुंगानासमक्ष लिए शपथ

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) को सञ्चालक समितिको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । निवर्तमान अध्यक्षलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चालक मनोनित भएपछि केहि समयदेखि अध्यक्ष पद रिक्त रहेको थियो । उक्त रिक्त पदमा न्यौपाने नियुक्त भएका हुन् । नवनियुक्त अध्यक्ष न्यौपाने लामो समयदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा विभिन्न भूमिकाहरुमा आवद्ध भई योगदान पुर्याएको र हाल माछापुच्छ्रे बैंकमा नायब प्रमुख कार्यकारी सञ्चालक पदमा कार्यरत छन् । अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले भुक्तानी प्रणाली विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ को विनियम १२ बमोजिम ईजाजत प्राप्त संस्थाको सञ्चालक समितिको अध्यक्षले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर वा विभागको कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नुपर्ने प्रावधान अनुसार सपथ लिएका हुन् । नेप्स १२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं संचालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली संचालकका साथै पीसीआई एसएससीको बोर्ड अफ एडभाइजरी र पीसीआई डीएसएस भर्जन ३.२ र पीसीआई पीन प्रमाणित संस्था पनि हो । नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न कार्ड संजाल मार्फत कारोबारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

हिमालयन र सिभिल क्यापिटलले बोलाए साधारण सभा, सिभिललाई गाभ्ने

काठमाडौं । हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले वार्षिक साधारण सभा आह्वान गरेका छन् । हिमालयन बैंकका सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका दुवै मर्चेन्ट बैंकले असोज २६ गते वार्षिक साधारण सभा डाकेका हुन् । हिमालयन क्यापिटलको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे रजिष्टर्ड कार्यालय ठमेलमा छैठौं साधारण सभा बोलाएको हो । यस्तै, सिभिल क्यापिटलको सञ्चालक समितिको असोज ४ गतेको बैठकले दिउसो साढे १२ बजे सिटिसी मल सुनधारा काठमाडौंमा १५ औं साधारण सभा बोलाएको हो । यसअघि सम्पन्न भएको विशेष साधारण सभाले एकआपसमा मर्ज गर्ने प्रस्ताव पारित गरिसकेका छन् । दुवै क्यापिटलका माउ संस्था (हिलमायन बैंक र सिभिल बैंक) एक आपसमा मर्जर तथा एक्विजिशन भएपश्चात् हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभ्ने भएको हो । दुवै क्यापिटललको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए)अनुसार सेयर आदान प्रदान अनुपात १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । अर्थात् सिभिल क्यापिटलको १ सय कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर पाउने छन् । सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार गर्नेछन् । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।