बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीको अध्यक्षमा डुम्रे

काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड रुपन्देहीको अध्यक्षमा रमणी डुम्रे चयन भएका छन् । संघको प्रारम्भिक साधारण सभाले डुम्रेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा मोतीलाल ढकाल, सचिवमा यादव कोइराला, कोशाध्यक्षमा कमला थापा र सदस्यहरुमा महेन्द्रराज शर्मा अर्याल, गुनमाया थापा र जगन्नाथ न्यौपाने चयन भएका छन् । त्यस्तै, सहकारीको लेखा समितिमा शंकर भण्डारी, प्रकाश खनाल र जितेन्द्र यादव चयन भएका छन् । प्रारम्भिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्रमा समस्या आउनुमा सिद्धान्त, मूल्य र मान्यता नबुझ्नु भएको बताउँदै सहकारीको अभियानले सरकारलाई बुझाउन नसकेको बताइन् । त्यस्तै, सभामा बोल्दै लुम्बिनी प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गोविन्द केसीले युवाहरुको विदेश पलायन नरोक्ने हो भने मुलुकको भविष्य संकटमा पर्ने विचार व्यक्त गरेका थिए । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सञ्चालक सन्दीप सापकोटाले बैंकर र मिटर ब्याजीको प्रवेशले सहकारीमा समस्या आएको बताएका थिए । सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति रमणी डुम्रेले सहकारीको गठनले रुपन्देहीमा सहकारी अभियान नयाँ उचाईमा पुग्ने बताए ।

मल्टीपर्पस फाइनान्सले डेढ लाख कित्ता सेयर बिक्री गर्दै, मूल्य १०० रूपैयाँ मात्र

काठमाडौं । मल्टीपर्पस फाइनान्सले असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्तासम्म खरिद गर्न मिल्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा लगानीकर्ताले छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।