सहकारीमा डेढ अर्ब हिनामिना, सञ्चालक र कर्मचारी कारागार चलान

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा.दिवाकर भट्टको इजलासले आज सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४८१ जना बचतकर्ताले १ अर्ब ३० करोड रुपैयाँ बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए । सहकारीमा संस्थागत खाता रहेका प्रभा माध्यमिक विद्यालय निसीखोला, पौदिटार आधारभूत विद्यालय बडिगाड, युनियन लाइफ क्लब बागलुङ, दुदिलाभाटी स्वास्थ्यचौकी गलकोट, भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था बागलुङ, कालिका सहकारी संस्था बागलुङ, गलकोट बहुउद्देश्यीय सहकारी संस्था बागलुङ, दुदिलाभाटी इङ्लिस बोर्डिङ स्कुल गलकोट, सेयर सदस्य बागलुङ नगरपालिका–३ निवासी लालचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, राजकपुर श्रेष्ठ, लोकेन्द्र केसी, टङ्कप्रसाद पन्त, भीमसेनप्रसाद श्रेष्ठ, बा नपा–२ निवासी मनोविज्ञान श्रेष्ठ, दयाराम पौडेल, सञ्जु प्रधान पालिखे, लेखबहादुर खड्का, दिलप्रसाद कँडेल, बानपा–८ निवासी लक्ष्मी जिसी कार्की, बानपा–४ निवासी आत्माराम पौडेल, बानपा–७ निवासी मीनबहादुर कार्की, बानपा–१ निवासी दुर्गाबहादुर कुँवर, कुश्मा नगरपालिका–१ का हिरामणि उपाध्याय, गलकोट नगरपालिका–३ निवासी मञ्जु शर्मा चालिसेसहित एक हजार चार सय ८१ जना बचतकर्ताले अदालतमा गत असार २५ गते ठगीको मुद्दा दर्ता गराएका थिए । बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक भण्डारीलाई गत जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेको थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक किसानलाई पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ निवासी देवकुमार नेपाली, गलकोट नगरपालिका–११ निवासी रुपा विक, ढोरपाटन नगरपालिका–१ निवासी डोरबहादुर परियार, ढोरपाटन–१ निवासी सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, बडिगाड गाउँपालिका–२ बोहोरागाउँ निवासी झकबहादुर साही र निसीखोला गाउँपालिका–१ निवासी अनिता बुढामगरको खोजीकार्य भइरहेको छ । सहकारीका सञ्चालक र कर्मचारीलाई आठदेखि १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिए । बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेर सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिका नगरप्रमुख नेपाली डेढ महिनादेखि बेपत्ता छन् । नेपाली बेपत्ता भएपछि बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । उनीहरूले जिल्लाका राजनीतिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिन आग्रह गरेको पीडित तथा सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।

सलिकोले उठायो साढे ४ अर्ब प्रिमियम, ग्राहकलाई विश्वसनीय सेवा दिने प्रण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म कम्पनीले ३ लाख ११ हजार ३५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । कम्पनी हाल स्थापनाकालको २७औं वर्ष पार गरी २८औं वर्षमा प्रवेश गरेको छ । यो अवधिसम्म कम्पनीले देशभरका ११३ वटा शाखाका ६३७ जना कर्मचारीमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ । साथै, २७औं वर्षको अवसरमा सलिकोले आफ्ना ग्राहकहरुलाई थप सशक्त, सबल, गतिशील र विश्वसनीय बीमा सेवा दिने प्रतिवद्धता गरेको छ ।

१६ सहकारी खारेज गर्दै ललितपुर महानगर, ८ करोड अपचलन गर्ने दुई सहकारी प्रहरीको निगरानीमा

ललितपुर । ललितपुर महानगरपालिकाले गत चैत्र २२ मा सहकारीको अद्यावधिक विवरण पेस गर्न भन्दै सूचना जारी गरेको थियो । महानगरले विशेषगरी, २६ वटा सहकारीलाई लक्षित गरेर सूचना जारी गरेर ३० दिनमा विवरण अध्यावधिक गर्न भनेको थियो । ती सहकारी संस्थाहरूले ५ वर्षभन्दा बढी अवधिदेखि लेखा परीक्षण र साधारण सभाको विवरणसमेत नबुझाएपछि सूचना जारी गरिएको महानगरका सूचना अधिकारी तथा सहकारी विभागका प्रमुख देवप्रसाद गुरागाईले बताए । महानगरको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) ले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गर्नुपर्ने व्यवस्था गरेको छ । दफा ५३ को उपदफा (१) ले भने आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र संस्थाको कारोबारको लेखा परीक्षण गराउनु पर्ने भनेको छ । त्यसरी विवरण अद्यावधिक नगरेका २६ मध्ये सूचना जारी भएपछि १० वटा सहकारीले मात्रै विवरण अद्यावधिक गरेको गुरागाईले बताए । बाँकी १६ सहकारी भने अझै सम्पर्कमा आएका छैनन् । सम्पर्कमा नआएका सबै सहकारीलाई एकमुष्टरुपमा खारेजी गर्ने तयारी गरिएको गुरागाईले बताए । सम्पर्कमा नआउनेमा गेट बचत तथा ऋण सहकारी, संकल्प बचत तथा ऋण सहकारी, गंगा सागर बचत तथा ऋण सहकारी, रातो मच्छिन्द्र गृहश्रमिक महिला सिपमुलक सहकारी, पासा पुच बचत तथा ऋण सहकारी र रिद्धिसिद्धि बचत तथा ऋण सहकारीलाई खारेज गर्ने प्रक्रिया महानगरले सुरु गरेको छ । यस्तै, सनापाताल बचत तथा ऋण सहकारी, पूर्णचण्डी बचत तथा ऋण सहकारी, सिलौटी बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी, जेनिथ बचत तथा ऋण सहकारी, समभाव बचत तथा ऋण सहकारी, ललितपुर वातावरण सफाई सहकारी, खोकना पर्यटन सहकारी र नव जागरण कृषि सहकारी गरी जम्मा १६ वटा संस्थालाई खारेज गर्ने तयारी रहेको महानगरले बताएको छ । ‘यी सहकारी खारेजी हुन लागेको सूचना केही दिनमा प्रकाशन गर्दै छौं । त्यसपछि खारेजीको प्रक्रियामा जान्छ’, गुरागाईले भने । ८ करोड अपचलन ललितपुर महानगरपालिकाले दुई वटा सहकारी संस्थालाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । सहकारीले बचतकर्ताको करोडौं रुपैयाँ रकम हिनामिना गरेको भन्दै महानगरले कानुनी कारबाही गर्न प्रहरीमा पत्र पठाएको हो । ओम शान्ति र लभ नेपाल सहकारी संस्थालाई कारबाहीको माग गर्दै महानगरले प्रहरीलाई पत्र पठाएको गुरागाईले बताए । ओम शान्तिले करिब ६ करोड र लभ नेपाल सहरकारीले २ करोड रुपैयाँ रकम हिनामिना गरेको छ । बचतकर्ताको रकम लिएर फरार भएका सो सहरकारी वषौंदेखि सम्पर्कमा नआएपछि कारबाहीको प्रक्रियामा जानु परेको गुरागाईले बताए । ललितपुर महानगरमा ३१९ वटा सहरकारी दर्ता भएका छन् । गत वर्ष नै खारेज भए १० सहकारी खारेज ललितपुर महानगरले गत वर्ष १० वटा सहकारीलाई खारेज गरेको छ । लामो समयदेखि विवरण अद्यावधिक नगरेका र सम्पर्कमा नआएका सहकारी खारेज गरेको गुरागाईले बताए । महानगरले २०७९ माघ २९ को निर्णयबाट सहकारी खारेज गरेको थियो । महिला सीप विकास, बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडिबुटि सहकारी, एभरेष्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी खारेज भएका थिए ।