अरुण काबेली पावरको सञ्चालक समिति गठन

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडमा सञ्चालक समिति परिवर्तन भएको भएको छ । पुस ३० गते सम्पन्न सातौं र आठौँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समितिमा संस्थापक समूहबाट गुरुप्रसाद न्यौपाने, जीवनराम शाक्य, बच्छराज तातेड र भेजप्रसाद तिमल्सिना चयन भएका छन् । त्यसैगरी साधारण समूहबाट मिलन खड्का र नोलकुमारी आचार्य तथा स्वतन्त्र सञ्चालकमा इन्द्रमणि धिताल चयन भएको कम्पनी सचिव सिर्जना खड्काले बताइन् ।

पाण्डे र थापा मिर्मिरे लघुवित्तको सञ्चालक चयन

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक समूहका २ जना सञ्चालक चयन भएका छन् । पुस ३० गते बसेको बैठकले सुवर्ण पाण्डे र मोनी बोहरा थापालाई सञ्चालक समितिको सदस्यमा चयन गरेको हो । रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि पाण्डे र थापालाई चयन गरिएको कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।

घलेम्दी हाइड्रोको आइपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?

काठमाडौँ । घलेम्दी हाइड्रो पावर कम्पनीको साधारण शेयर मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीले बिक्री गरेका साधारण शेयरमा आवेदन गर्नेमध्ये ८० प्रतिशतले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने करीब २० प्रतिशतले २० कित्ता शेयर प्राप्त गरेका छन् । सो कम्पनीको साधारण शेयरमा ५४ हजार ७१८ आवेदन परेका थिए । बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार २६ आवेदन रद्द भएका छन् । कूल १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले यही पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । रु ५५ करोड जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ । घलेम्दी जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको छ । उक्त आयोजनाबाट आगामी फागुनदेखि विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।