एनआईबिएल एस क्यापिटलमा डिम्याट खाता निःशुल्क
काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन नयाँबर्ष २०७६ बैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लि. को पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सहायक कम्पनी हो । यस अभियानबाट बिशेषतः पूँजीबजार भन्दाबाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुँच बुद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ । यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिने जनाइएको छ ।
भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय, रुपन्देहीमा संख्या ६ पुग्यो
खस्यौली । शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरिद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनु पर्ने अवस्थाको अन्त्य भएको छ । “केही लगानीकर्ता आइरहनुभएको छ,” भिजन सेक्युरिटिज प्रालि ९३४० नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भने । भैरहवामा शेयर खरिद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल आउनु पर्ने बाध्यता थियो । बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् । पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले शेयरमा लगानी गर्न थालेको बताइएको छ । बुटवलमा रहेका पाँच ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको हाराहारीमा शेयर कारोवार हुँदै आएको छ । रासस
सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी बैंकको २ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १६६.६७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २१४.८३ रुपैयाँ तोकिएको छ । त्यस्तै, ग्रामीण लघुवित्तको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३०.६७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता २१५.५५ रुपैयाँ तोकिएको छ ।