ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । ‘ब्राेकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्’, उनले भने । अर्थमन्त्री पौडेलले पुँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिए । उनले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए । बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।

पुँजीबजार विकास तथा विस्तारका लागि अघि बढ्छु- अध्यक्ष थापा

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष मेख बहादुर थापाले पुँजी बजार विकास तथा विस्तारका लागि अघि बढ्ने बताएका छन् । उनले नेपाल धितोपत्र बोर्डको नीति निर्देशन कार्यान्वयन गरी बजार बिकासका लागि पूर्ण प्रतिबद्धता जनाएका हुन् । संघका नवनिर्वाचित अध्यक्ष थापाले शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँग भेटमा साे प्रतिबद्धता गरेका हुन् । शुक्रबार अध्यक्ष थापाको नेतृत्वमा सम्पूर्ण कार्य समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्षसँग औपचारिक भेटवार्ता गरेको छ । सो अवसरमा शुभकामना प्रदान गरिनुका साथै पुँजी बजारको थप विकास र विस्तारका सम्बन्धमा विस्तृत छलफल भयो । उक्त अवसरमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा संघका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।

कोरोनाको कारण विदेशमा ज्यान गुमाएका ७९ परिवारलाई आइएमई पेको साढे ३९ लाख सहयोग

काठमाडौं । विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई आइएमईपेले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । आइएमईपेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी काेराेना भाइरसको कारण मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कोरोना भाइरसको कारण विदेशमा मृत्यु भएका श्रमिकहरुका आफन्तहरुलाई सहयोग गर्ने उद्धेश्यले आइएमई भरोशा कोषको रकम हस्तान्तरण गरेकाे बताएकाे हाे । आइएमईपेले ७९ जना पीडित परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पीडितहरुलाई चेक हस्तान्तरण गरेका हुन् । उनले चेक हस्तान्तरण कार्यक्रममा बोल्दै पीडित परिवारको घाउमा मल्हम लगाउने उद्धेश्यले सानै भएपनि सो रकम सहयोग गरेको बताए । ‘म आफै पनि कोरोना संक्रमित भएँ, कोरोना भाइरस संक्रमित र संक्रमितका परिवारलाई हुने पीडा मैले आफैले महसुस गरेको छु, हामीले हाम्रो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गरेका छौं, यसले थोरै भएपनि पीडितको घाउमा मल्हम लाग्छ,’ उनले भने । यस्तै, कार्यक्रममा आइएमईपेका प्रवन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको निधन हुनु धेरै दुखद भएको भन्दै पीडित परिवारहरुलाई सहयोग गरेकाे बताए । ‘हामी सबैले एक अर्कालाई सहयोग गर्ने बानी बसालौं, यो एउटा हाम्राे सुरुवाती मात्र हो, भोलि हामी जस्तै धेरै संस्थाहरुले पनि यस्तो अभ्यास गरुन् भन्ने हाम्रो सोच हो, ’ उनले भने । यस्तै, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत पोखरेरले पनि भरोशा कोष स्थापनाको उद्धेश्यमाथि प्रकाश पारे । उनले संस्थाको उद्धेश्य नाफा हेर्ने मात्र नभई संस्थागत सामाजिक उत्तरदायित्व पनि भएकोले तयसको उद्धेश्य र पीडित परिवारहरुको घाउमा मल्हम लगाउने प्रयास आफुहरुले गरेको बताए । कार्यक्रममा आईएमईपेका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला पनि उपस्थित थिए ।