अप्पर लोहोरे खोलाको हकप्रद सेयर निष्काशनमा एनआईसी एशिया बिक्री प्रबन्धकमा नियुक्त
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ०४० कित्ता सेयर बराबरको चुक्ता पुँजीको आधारमा १ः१.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ०६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसबाट कुल ७६ करोड ४७ लाख ०६ हजार रुपैयाँ बराबरको रकम संकलन हुनेछ । हकप्रद सेयर निष्काशनसम्बन्धी कार्यका लागि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत सदिक्षा काकी र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष र डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन सम्पन्न गरिसकेको छ । यस सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गराउन सफल भएको कम्पनीले जनाएको छ ।
नेशनल लाईफको ३९ वर्ष पूरा, सामाजिक र प्रविधिमुखी कार्यक्रमलाई प्राथमिकता
काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा आयोजित समापन समारोहको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । उक्त अवसरमा अध्यक्ष सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरिन् । उनले सेवाग्राहीलाई उच्चस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारीलाई प्रविधिमा दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिइरहेको बताउँदै प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टिलिजेन्स (एआई) सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिइन्। साथै, यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले उल्लेख गरिन् । समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा सरोकारवालाको सहयोग र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले भविष्यमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै नियामक निकाय तथा सम्बन्धित संस्थाहरूको मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरे । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरमा शैक्षिक सामग्री वितरण, बालबालिकालाई भोजन व्यवस्था तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै, देशभरका प्रदेश तथा शाखा कार्यालयमार्फत वृद्धाश्रम, बालकल्याण संस्था तथा मानव सेवा आश्रमहरूमा पनि विभिन्न सामाजिक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कर्मचारीहरूको शारीरिक तथा मानसिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तरकर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटसल, टेबल टेनिस तथा बुद्धिचाललगायत खेलहरू आयोजना गरिएको थियो । समापन समारोहमा अध्यक्ष सिंहले खेलकुदमा विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र, रक्तदाता कर्मचारीलाई प्रमाणपत्र तथा सांस्कृतिक प्रस्तुति दिने कर्मचारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
एसियन स्मार्ट एग्रो कम्पनीको साधारण सभा सम्पन्न, पुँजी वृद्धि गर्ने
काठमाडौं । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको साधारण सभा अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सिराहाको लहानस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । फाल्गुण २ गते आयोजित सभाको उद्घाटन अध्यक्ष लामाले गरेका थिए । सभामा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सञ्चालक तथा सेयरधनीलाई स्वागत गरेका थिए । साधारण सभामा सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्याउने निर्णय गरिएको छ । त्यसैगरी, सेयर पुँजीको आधारमा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सभाको माइन्युटमा हस्ताक्षर गर्ने अधिकार अध्यक्ष र सेयरधनी रामपुजन रायलाई दिने प्रस्ताव पनि पारित गरिएको छ । सभाको अन्त्यमा अध्यक्ष लामाले उपस्थित सबै सेयरधनी तथा सञ्चालकप्रति धन्यवाद ज्ञापन गर्दै विशेष साधारण सभाको समापन गरेका थिए ।