दिगो बैंकिङ प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंकको फेवाताल किनारमा पदयात्रा

काठमाडौं । महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ प्रवर्द्धन तथा वातावरण संरक्षणप्रति प्रतिबद्धता जनाउँदै पोखराको फेवाताल किनारमा दुईदिने कार्यशाला तथा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो । बैंकले वार्षिक कार्यक्रमअन्तर्गत फागुन २४ र २५ गते आयोजना गरेको उक्त कार्यक्रममा वातावरण, संस्कृति तथा सम्पदा संरक्षणसँगै दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो । दुईदिने कार्यशालामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको बैंकको समग्र वित्तीय अवस्था समीक्षा गर्नुका साथै हालै सम्पन्न निर्वाचनपछिको सकारात्मक आर्थिक वातावरण र अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सम्भावित आर्थिक चुनौतीबारे समेत विश्लेषण गरिएको बैंकले जनाएको छ । दिगो वित्तीय अभ्यासको सन्देश आम नागरिकसम्म पुर्याउने उद्देश्यले ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण फेवाताल क्षेत्र वरिपरि सामूहिक पदयात्रा आयोजना गरिएको थियो । कार्यक्रममा हरित बैंकिङ तथा दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो । 'सबल बैंक, सफल सहकार्य' भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।  

११ शाखामार्फत सम्पदा लघुवित्तको सिपमूलक तालिम, ३५६ सदस्य लाभान्वित

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ११ वटा शाखा कार्यालयमार्फत कुल ३५६ जना सदस्यलाई विभिन्न व्यावसायिक तथा आयआर्जनमुखी तालिम प्रदान गरेको जनाएको छ । तालिम कार्यक्रम बाँकेको मदनचौक, सप्तरीको चन्ही, धादिङको चैनपुर, रुपन्देहीको लुम्बिनी सांस्कृतिक तथा भैरहवा, इलाम, मकवानपुरको शिखरकटेरी, नुवाकोटको देउराली, लमजुङको सातबिसे, कास्कीको खोलाकोछेऊ र कैलालीको दुर्गौली शाखाबाट सञ्चालन गरिएको थियो । मदनचौक शाखामा व्यवसायिक बाख्रापालन तालिममा ३० जना सहभागी भएका थिए भने चन्ही शाखामा लहरे तरकारी खेती तालिममा २९ जना सहभागी भए । चैनपुर धादिङमा उन्नत जातको बाख्रापालन तालिममा ३४ जना, लुम्बिनी सांस्कृतिक रुपन्देहीमा लहरे तरकारी खेती तालिममा ३३ जना तथा इलाम शाखामा आचार बनाउने तालिममा २९ जनाको सहभागिता रहेको थियो । त्यसैगरी शिखरकटेरी मकवानपुरमा व्यवसायिक बाख्रापालन तालिममा ३७ जना, देउराली नुवाकोटमा टमाटर खेती तालिममा ३२ जना, सातबिसे लमजुङमा मौरीपालन तालिममा २९ जना, खोलाकोछेऊ कास्कीमा क्रिस्टलका चुरा बनाउने तालिममा २३ जना सहभागी भएका थिए । दुर्गौली कैलालीमा उन्नत जातको बाख्रापालन तालिममा ५० जना तथा भैरहवा रुपन्देहीमा उन्नत जातको भैंसीपालन तालिममा ३० जना सहभागी भएका थिए । सम्बन्धित स्थानीय तहका कृषि अधिकृत तथा विषयगत विज्ञ प्रशिक्षकहरूले तालिम प्रदान गरेका थिए । तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलका अनुसार आगामी दिनमा पनि अन्य शाखामार्फत सिप विकास गरी उद्यमशील बन्न इच्छुक सदस्यहरूका लागि यस्ता तालिम कार्यक्रम सञ्चालन गरिनेछ । हाल सम्पदा लघुवित्तले ४५ जिल्लामा रहेका १५५ शाखा कार्यालयमार्फत एक लाख ८१ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको कुल लगानीमा रहेको कर्जा रकम करिब १० अर्ब ४० करोड रुपैयाँ रहेको जनाएको छ ।  

२५४ कम्पनीको सेयर मूल्य बढ्यो, ६ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७१२ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २५४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावर कम्पनीको २७ करोड, एसवाई प्यानलको २४ करोड, मन्जुश्री फाइनान्सको २२ करोड र न्यादी गुप्रको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशत बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।  आज साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।