उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् ।  राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी संचालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पुँजी लिनसक्ने बताएका छन् । उनका अनुसार नवप्रवर्तनलाई प्रवद्र्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्नेछ ।  अध्यक्ष ढकालले भने–‘व्यवसायी, एनआरएनसहितको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा ल्याइएको छ । त्यो कम्पनीले ७७ ओटै जिल्लाकै शेयर होल्डिङको वनरसिप लिने र ७७ जिल्लामा भएका उद्यमी, नवप्रर्वतन गर्न चाहनेलाई लगानीको जरुरी भए त्यो कम्पनीले अन्टरप्रेनरलाई  लगानी गरेर त्यस्ता व्यवसायीक गतिविधिलाई बढाउन मद्दत गर्नेछ । १० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्ने हो भने ४०/५० अर्ब बराबरको ठूला परियोजनामा जान सक्ने अवस्था बनिसकेको छ ।’ महासंघ अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वर्षौँदेखिको डेडिकेटर लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालिन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताए । लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्र्दै त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे । 

उद्योगी व्यवसायीलाई पनि लाग्यो चुनाव, ढकालको नेतृत्वमा प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको छ । ढकालले प्रस्तावित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।  उनकाे समूहबाट ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । उनी ज्वेलर्स व्यवसायी तथा हाल महासंघको एसोसिएट उपाध्यक्षकै रूपमा काम गरिरहेकी छन् ।  यस्तै, उमेश डालमिया र कल्पना गैरे  जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् ।   यसैगरी, नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । उनी हस्तकला र निर्यात व्यवसायीका साथै ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी छ । उनीसँग दुई कार्यकाल कार्यसमितिको अनुभव समेत छ ।  कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् भने उनीसँग पनि तीन कार्यकाल महासंघको कार्यसमिति सदस्यको काम गरेकाे अनुभव छ ।   यस्तै, महिला उपाध्यक्ष पदका उम्मेदवार कमला श्रेष्ठले २०३६ सालबाट १० हजार लगानी गरेर एक महिनामा ८० रुपैयाँ कमाउनेदेखि अहिले लाखौंलाई रोजगारी दिने क्षेत्र सौन्दर्य बनेको बताइन् । ‘ससुराले पानी नचल्ने काम गरिस् भन्ने आक्षेप लगाएको गुनासो सुनाउँदै उनले भनिन्,’ ‘महासंघमा तीन कार्यकाल काम गरेर पनि महिला उद्यमी विकासमा उल्लेखनीय काम गरेकी छु ।’ वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले हस्तकला, उर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको अनुभव महासंघमा बसेर काम गर्ने बताए । उनले मतदातालाई साथ दिएर काम गर्ने अवसर दिन पनि आग्रह गरे । यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार कल्पना गैरेले पदले प्रतिष्ठाभन्दा पनि जिम्मेवारी भएको बताउँदै आफू जिल्ला नगरको आवाज बन्न उम्मेदवार बनेको बताइन् । उनले आफू जिल्ला नगरको उपाध्यक्ष बनेको खण्डमा व्यवसायीको समस्या सम्बोधनमा अग्रसर हुने बताइन् । उनले नेतृत्व क्षमता भएकै कारण उपाध्यक्षको उम्मेदवार बनेको सुनाउँदै पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारीका साथ काम गर्ने बताइन् । यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार उमेश डालमियाले पनि जिल्ला नगरका व्यवसायीको समस्या समाधानका लागि आफूले धेरै काम गरेको सुनाए । आगामी दिनमा पनि थप काम गर्ने बताए ।  एसोसिएट उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठले अब बलियो आवाज उठाएर बोल्नु पर्ने र काम गरेर देखाउनु पर्ने बताइन् । आफूले  वर्तमान कार्यसमितिमा रहेर महत्त्वपूर्ण काम गरेको सुनाउँदै अब थप काम गर्नका लागि मतदान गरेर सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् ।  'विदेशमा पनि नेपाली निजी क्षेत्रको आवाज उठाएँ, महिलासँगै समग्र उद्योगी व्यवसायीको आवाज बनें,’ उनले भनिन्, ’प्रणालीमा देखिएको ग्याप न्यूनीकरण गर्न र समस्या समाधान गर्न अगाडि बढेकी छु, निजी क्षेत्रको एकीकृत आवाज बन्नेछु ।’  यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले उद्योगी तथा व्यवसायीहरूका समस्याहरू समाधानका लागि आवाज बुलन्द गर्ने बताए ।  उनले सबै उद्योगीहरू सशक्त भई एकवद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायीहरूलाई मिलाएर जाने समेत प्रतिवद्धता जनाए ।  उनले भने,‘ अर्को समूहले पनि उम्मेदवारी दिने सुन्नमा आएको छ । म सबै व्यवसायी तथा उद्योगी साथीहरूलाई मिलेर जान अनुरोध गर्न चाहन्छु ।' 

६.८२ प्रतिशत घटेपनि डाबर नेपालको आम्दानी १५ अर्ब बढी, निर्यातमा ३.७१ प्रतिशत योगदान

काठमाडौं । डाबर नेपालले सन् २०२५ मा १५ अर्ब ६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६.८२ प्रतिशत अर्थात् १ अर्ब १० करोड ३० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार जुस तथा पेय पदार्थ खण्डमा बढ्दो प्रतिस्पर्धा, वैदेशिक रोजगारीका कारण घट्दो आन्तरिक उपभोग तथा समग्र आर्थिक सुस्तताले घरेलु बिक्रीमा असर पारेको छ । अघिल्ला वर्षहरूमा कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब ९ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा १० अर्ब २५ करोड ६० लाख रुपैयाँ, सन् २०१८ मा १० अर्ब १ करोड रुपैयाँ र सन् २०१७ मा ९ अर्ब ९३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको पीबिआइएलडीटी मार्जिन घटेर १५.८६ प्रतिशतमा झरेको छ, जसको मुख्य कारण उच्च छुट (डिस्काउन्ट) खर्च रहेको जनाइएको छ । यद्यपि यो मार्जिन कम्पनीको ऐतिहासिक १३-१४ प्रतिशतको दायराभन्दा माथि नै रहेको छ । ब्याज खर्च पनि अघिल्लो वर्षको तुलनामा घटेको छ, जसमा कार्यशील पुँजी उपयोग कम हुनु र ब्याजदरमा आएको गिरावटले सहयोग पुगेको छ । गत वर्ष ग्रस क्यास एक्रुअल २ अर्ब २४ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ५४ करोड रुपैयाँ थियो ।  सन् १९८९ मा स्थापना भई सन् १९९२ देखि उत्पादन सुरु गरेको डाबर नेपाल देशकै अग्रणी उपभोक्ता वस्तु उत्पादक तथा निर्यातकर्तामध्ये एक हो । यो भारतको बहुराष्ट्रिय कम्पनी डाबर इण्डिया लिमिटेडको स्टेप-डाउन सहायक कम्पनी हो । डाबर इण्डियाले आफ्नो पूर्ण स्वामित्वमा रहेको डाबर इन्टरनेशनल लिमिटेडमार्फत डाबर नेपालमा ९७.५० प्रतिशत सेयर स्वामित्व कायम राखेको छ । डाबर नेपालले जुस तथा पेय पदार्थ, च्यवनप्राश, ग्लुकोज, टूथपेस्ट, कपाल तेल, हाजमोला, महलगायतका उपभोक्ता वस्तु उत्पादन गर्दै आएको छ। कम्पनीसँग देशभर ३०० भन्दा बढी वितरक छन्, जसमार्फत करिब १ लाख खुद्रा बिक्री केन्द्रसम्म उत्पादन पुग्ने गरेका छन् ।  कम्पनीको व्यवसाय मुख्यतः खाद्य तथा पेय पदार्थ खण्डमा केन्द्रित छ, जसले कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । गत वर्ष कुल आम्दानीमध्ये करिब ६४ प्रतिशत हिस्सा निर्यातबाट आएको कम्पनीले जनाएको छ । डाबर नेपालले नेपालको कुल निर्यातमा ३.७१ प्रतिशत योगदान गरेको दाबी गरेको छ । निर्यात व्यवसाय र उल्लेखनीय योगदानका आधारमा कम्पनीले विगतमा विभिन्न सरकारी निकायबाट ‘उत्कृष्ट निर्यातकर्ता करदाता’, ‘व्यावसायिक रूपमा महत्वपूर्ण व्यक्ति’ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेको जनाएको छ ।  कम्पनीका डाबर, रियल, हाजमोला र वाटिका ब्रान्डहरू स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित छन् । ‘रियल’ ब्रान्डअन्तर्गत करिब ४० भेरियन्टमा जुस उत्पादन हुँदै आएको छ । सन् १८८४ मा स्थापना भएको डाबर इण्डिया भारतका अग्रणी फास्ट-मुभिङ कन्ज्युमर गुड्स उत्पादकमध्ये एक हो । कम्पनीले मार्च २०२५ सम्ममा १२५ अर्ब भारतीय रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको थियो भने फेब्रुअरी २०२६ सम्म यसको बजार पुँजीकरण करिब ८८३ अर्ब भारतीय रुपैयाँ रहेको उल्लेख छ । डाबर इण्डियाले स्वास्थ्य, व्यक्तिगत स्याहार तथा खाद्य पदार्थ क्षेत्रमा २५० भन्दा बढी हर्बल÷आयुर्वेदिक उत्पादनको पोर्टफोलियोसहित व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीका उत्पादनहरू विश्वका १२० भन्दा बढी देशमा उपलब्ध छन्, जसले यसको अन्तर्राष्ट्रिय उपस्थिति बलियो रहेको देखाउँछ । डाबर नेपालको मजबुतीमा डाबर इण्डियाको अनुभव र विशेषज्ञताको महत्वपूर्ण भूमिका रहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको जनाएको छ । साथै, कच्चा पदार्थको मूल्यमा उतारचढाव, ब्याजदरको अस्थिरता, कडा प्रतिस्पर्धा तथा नियामकीय जोखिमले व्यवसायमा असर पार्न सक्ने कम्पनीले जनाएको छ ।