सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउनु पर्ने, नत्र कारवाही
काठमाडौँ । स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनु पर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको छ । विभागले सर्वोच्च अदालत, संयुक्त इजलासको आदेश ०६९ डब्लुओ ०२१४ समेतको मुद्दामा २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्कृय हुनेगरी फैसला भएअनुसार सबै सिमेन्ट उद्योगलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउन आग्रह गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउँदा गुणस्तर लामो समयसम्म ह्रास नहुने र सिमेन्टको बोराबाट निस्कने धुलो कम हुने बताए । लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा नपठाउने सिमेन्ट उद्योगलाई कारवाही गर्नेसमेत विभागले जनाएको छ । रासस
उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक रु ७५ लाख क्षति
गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ । विद्युत्को भोल्टेजमा आएको समस्याका कारण मोटर सञ्चालन बन्द हुन पुगेकाले त्यसको मर्मत र विद्युत् व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिएका छन् । पटक–पटक विद्युत् भोल्टेजमा देखिएकोे समस्याले उद्योगलाई नै प्रभावित पारेको छ, भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनीयरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको उनले बताए । दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगले डेढ वर्षअघि पनि विद्युत्भार कटौतीका कारण ठूलो घाटामा गएको थियो । रासस
बन्द हेटौँडा सिमेण्ट उद्योगकाे पुनः उत्पादन शुरु
हटौंडा । करिब दुई महिनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग शुक्रबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करिब रु ३० लाखको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग सञ्चालनमा आएको हो । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको मुख्य मेसिन बिग्रेपछि उत्पादन ठप्प भएको थियो । उद्योग प्रशासनका अनुसार उद्योगको मोटर आफैँ प्राविधिक कर्मचारी तथा रोयटर पार्टस् ब्याण्डिङको काम वीरगञ्जबाट गराइएको छ भने भारतबाट एक जना विषेशज्ञ बोलाएर मेसिनको जाँच तथा निरीक्षण गराएपछि उत्पादन शुरु भएको जनाइएको छ । दुई महिनादेखि उद्योग सिमेण्ट उत्पादनको काम बन्द भएको कारण बजारमा हेटौँडा सिमेण्टको अभाव भएको थियो । शुक्रबारदेखि उद्योग पूर्ण क्षमतासहित सञ्चालनमा आएपछि अबको एक हप्तापछि बजारमा सिमेण्ट बिक्री वितरण गरिने उद्योगका महाप्रबन्धक सिंहले जानकारी दिएका छन् । वार्षिक ३१ लाख बोरा सिमेण्ट उत्पादन गर्ने लक्ष्य रहेको उद्योगले यसवर्ष लक्ष्य भने प्राप्त नगर्ने जनाइएको छ । यस वर्ष उद्योगले २० लाख बोरा मात्र सिमेण्ट उत्पादन गरेको महाप्रबन्धक सिंहको भनाइ छ । क्लिङकर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेण्ट उत्पादनको लक्ष्य राखेकामा मेसिन बिग्रेका कारण लक्ष्यमा पुग्न कठिन हुने महाप्रबन्धक सिंहको भनाइ छ । उद्योगको उत्पादनमा कमी आएपछि उपभोक्ता र आधिकारिक बिक्रेता चिन्तित भएका थिए । सर्वाधिक रुचाइएको हेटौँडा सिमेण्टको अभावले कतिपय उपभोक्ताले घर निर्माणमा समेत ढिलाइ गरेका थिए । निजी क्षेत्रका सिमेण्ट उद्योग आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक प्रतिस्पर्धामा गइरहेको वर्तमान परिस्थितिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित यस उद्योगमा पनि आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । हाल यस उद्योगमा मजदूर तथा कर्मचारी र प्राविधिक गरी करिब ४०० जना कार्यरत रहेका छन् । हालैमात्र नाप तथा गुणस्तर कार्यालय वीरगञ्जले पनि सिमेण्ट उद्योगको गुणस्तर जाँच गरेको छ । रासस