ग्लोबल आइएमई बैंकले निर्यात व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार महासंघमा आबद्ध सदस्य संघ/संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी दुई कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालिन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्नेछ । साथै, बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ । सम्झौता अनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पुर्याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए । बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको र हाल व्यवसायीहरु कोभिड-१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरुलाई आवश्यकतानुसार अल्पकालीन देखि दीर्घकालीन अवधिसम्मको लागि सहुलियतपुर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने देखि बैंकिङ्ग सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने गरी समझदारी भएको बताए । ग्लोबल आइएमई बैंकसँगको सहकार्यले महासंघसँग आवद्ध संस्थाहरुलाई आवश्यक बैंकिङ्ग कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङ्गले महासंघले आफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरुलाई बैंकसँग कारोबार गर्न प्राथमिकता दिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ्ग समस्या समाधान गर्दै एक आपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए । महासंघका महासचिब दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रमहरु गर्ने बताए ।
मकवानपुर जिल्लाका अधिकांश क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत
वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान मापदण्डविपरीत रहेका छन् । जिल्लामा ३२ वटा क्रसर उद्योग र ७० वटा बालुवा प्रशोधन उद्योग रहेका छन् । सबै उद्योग कुनै न कुनै निकायमा दर्ता भएको पाइए पनि हालको वर्तमान मापदण्डभित्र नरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । केही बालुवा उद्योगले उद्देश्यविपरीत क्रसिङको कार्यसमेत पाइएकाले अनुमतिबाहेकका अन्य काम गर्न ती उद्योगलाई रोक लगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार ११ वटा क्रसर उद्योग र १४ वटा बालुवा प्रशोधन उद्योग समयावधिभित्र नवीकरण नभएको पाइएको छ । यसैगरी आठ वटा क्रसर उद्योग तथा १८ वटा बालुवा उद्योगले गत आर्थिक वर्ष ०७६/०७७ को कर चुक्ता नगरेको पाइएको प्रशासनले जनाएको छ । प्रदेश सरकारले २०७५ असोज ३० गते मन्त्रिपरिषद्बाट पास गरेको ‘नदीजन्य पदार्थ सङ्कलन र उपयोग कार्यविधि’ कुनै पनि क्रसर उद्योग मापदण्डमा नभएको हो । उक्त कार्यविधिमा क्रसर उद्योग र बालुवा प्लान्ट सञ्चालन गर्न नदी खोलाका किनारबाट ३०० मिटरभन्दा टाढाको दूरीमा, हाइटेन्सन लाइनबाट १०० मिटर, राजमार्गबाट ३०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक संस्था र सुरक्षा निकायबाट एक किलोमिटरभन्दा टाढाको दूरीमा हुनु पर्नेछ । यस्तै मापदण्डानुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षबाट दुई किलोमिटरभन्दा टाढाको दूरी, घनाबस्तीबाट दुई किलोमिटरभन्दा धेरै दूरी, वन क्षेत्रबाट एक किलोमिटरभन्दा धेरैको दूरी, पक्की पुलबाट ५०० मिटरभन्दा टाढा हुनुपर्ने छ । मकवानपुरमा सञ्चालित सबै बालुवा प्लान्ट उद्योग र क्रसर उद्योग मापदण्डविपरीत पाइएको हो । रासस
उद्योग वाणिज्य संघ चितवनले हस्तान्तरण गर्यो बीमा बापतको रकम
भरतपुर । उद्योग वाणिज्य संघ चितवनले कोरोना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि बिमित संघका सदस्य फर्म थ्रीस्टार व्युटि पार्लरका प्रोपाईटर गौरी खड्कालाई बीमा रकम हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य संघ-चितवनले संघमा आवद्ध रहेका सदस्य व्यवसायी मध्ये असार मसान्त सम्म नवीकरण गर्ने सदस्यलाई ५० हजार रूपैयाँको निशुल्क कोरोना बीमा गरिदिएको थियो । वीमा रकम हस्तान्तरण कार्यक्रममा बाेल्दै संघका अध्यक्ष राजु श्रेष्ठले काभिड १९ का कारण व्यवसायमा मात्र नभई व्यवसायीहरुलाई पनि आक्रान्त बनाएको भन्दै बीमा योजनाले व्यवसायीलाई राहत पुग्ने आशा व्यक्त गरे । कार्यक्रममा उनले आगामी दिनहरुमा पनि सदस्य केन्द्रित विविध कार्यक्रमहरु ल्याउन लागिएको बताए । संघका निबर्तमान अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहनलाल प्रधानले ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका थिए । बिमितलाई चेक हस्तान्तरण गर्दै केन्द्रिय सदस्य प्रधानले संघको सामाजिक उत्तरदायित्व अन्तर्गत रही व्यवसायीक हितका लागि यो योजना ल्याइएको बताए । यस बिमा योजनामा ७ सय जना व्यवसायी सहभागी भएका र हालसम्म २३ जना कोरोना भाईरस पोजेटीभ देखीएर विमा भुक्तनी दावी भईसकेको र हालसम्म ३ जना व्यवसायीहरुलाई वीमा रकम हस्तान्तरण गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । बीमा रकम ग्रहण गर्दै थ्रीस्टार व्यूटी पार्लर को प्रोपाइटर गौरी खड्काले संघको सदस्य भएकोमा गौरव महशुस भएको बताए । खड्का लाई असोज २ गते चितवन मेडिकल कलेजमा पिसिआर परिक्षणको लागी नमुना संकलन गरी असोज ८ गते उनलाई कोरोना पोजेटीभ देखिएको थियो । संघले व्यवसायीका हितका लागि कोरोना कोष र व्यवसायी राहत कोष सञ्चालन गरेको संघका स्वास्थ्य संयोजक सिरिस पन्तले जानकारी दिए । बीमा रकम हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, भोजराज कौडाल र कार्यकारी निर्देशक निलबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।