एसएमईलाई ऋण सहजीकरण गर्न महासंघ र एनबीएबीच सम्झाैता, छिट्टै कार्यदल गठन गर्ने
काठमाडौं । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसिएसन(एनबीए) बीच सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहालबीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमती भएको हो । महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डी. बी. बस्नेतले विषय प्रवेश गराएका सो भेटवार्तामा महासंघ र बैकर्स एसोसिएसन बीच घरेलु तथा साना उद्योग(एसएमईजहरू) क्षेत्रमा हुन सक्ने सहयोग/सहकार्यका विषयमा छलफल भएको थियो । भेटवार्तामा एसएमईजहरूलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा सानो कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ । यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गरी अगाडी बढ्ने सहमती समेत भएको छ । महासंघको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईजहरुलाई लगानी सहजीकरणका लागि बैकर्स संघ र नेपाल राष्ट्र बैंकसंग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णय अनुसार उक्त भेटवार्ता भएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाहरूबाट महासंघको आएका सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिवद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ । नेपाल राष्ट्र बैंकले काेभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृत्ति सर्बेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत संचालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरुमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन् । नेपाल राष्ट्र बैंकद्धारा गरिएको एक अर्को अध्ययनका अनुसार नयाँ व्यवसाय संचालनका लागि बैंक तथा वित्तिय संस्थाहरुमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ । निर्यात प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामाग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरुको रहेको छ । उक्त भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी, एसोसिएसनका प्रमुख कार्यकारि अधिकृत अनिल शर्मा र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।
परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने
काठमाडाैं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । परिसंघले सधै स्वदेशी उत्पादनको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरीखर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने जनाएको छ । सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसभन्दा पहिले परिसंघले तेस्रो मुलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।
अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्ष मुलुकको लागि खाँचो छ- अध्यक्ष गोल्छा
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मेला महोत्सव मुलुकको अर्थतन्त्रको ऐना भएको बताए । समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै उनले मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै मेला महोत्सव रहेकाे बताएका हुन् । मेला महोत्सवले आर्थिक गतिविधि विस्तार, उत्पादन विविधिकरण र नविनतम उद्यमशीलताको प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उनले बताए । अहिले पनि दशकौं पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले मुलुकभित्र विश्वस्तरको प्रदर्शनी कक्षको खाँचाे रहेको र सरकार निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न उनले समितिलाई सुझाव दिए । साथै, उनले महासंघले आयोजना गर्ने मेला महोत्सवलाई कसरी अझबढी स्तरीय र अन्तराष्ट्रियस्तरमा आयोजना गर्न सकिन्छ त्यसमा पनि समितिलाई क्रियाशिल हुन सुझाव दिए । महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काको सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ । समितिका सह-सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल छन् । समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सीना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमा नाथ श्रेष्ठ छन् । त्यसैगरी, समितिको विशेष आमन्त्रितहरुमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोब्रेन तौजले, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, ईटहरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गायत्री कटुवाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य लोकमान शाक्य, सोही संघका पूर्व कार्य समिति सदस्य राकेश मुल्मी, धादिङ उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य अनिल कोइराला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रलाल मास्के, नेपाल निर्यात परिषदका अध्यक्ष हरि कार्की, नेउवामहासंघ प्रदेश १ का सदस्य रविन कुमार दाहाल, आनका पूर्व अध्यक्ष संतोष श्रेष्ठ,नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसनका उपाध्यक्ष उत्तम अधिकारी, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष धिरज थपलिया, नेपाल वोटल वाटर्स एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सदस्य सार्थ बाहनन्द शाक्य छन् । समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिल सुन्दर श्रेष्ठ, मनिषलाल प्रधान, अभिनाश बोहोरा, अरुणराज सुमार्गी, राजेन्द्र राउत, कृष्णलाल महर्जन, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, ई. देश बन्धु बस्नेत (अजित), भक्त बहादुर हमाल, बाबुराम गिरी, हेमराज ढकाल र ज्योत्साना श्रेष्ठ र विशेष सल्लाहकारमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारि निर्देशक सरद विक्रम राणा छन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिको सफलताको कामना गर्दै मेला महोत्सव उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारको प्रभावकारी माध्यम भएकाले स्तरीय मेला महोत्सव आयोजनाका लागि महासंघका सदस्य संघ संस्थाहरूलाई समेत दक्ष बनाउने कार्यमा समितिको सहयोग आवश्यक हुने बताए । मेला समितिका सभापति खड्काको अध्यक्षतामा वसेको पहिलो बैठकले मेला महोत्सव आयोजान गर्ने सम्बन्धमा फुकुवा गर्न नेपाल सरकारमा पहल गर्ने, नवौ अन्तराष्ट्रिय मेला आयोजनाका लागि पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।