भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज हुने

काठमाडाैं । नेपाल उद्योग परिसंघले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउने भएकाे छ । परिसंघले संस्थामा धेरै भारतीय लगानीकर्ताहरु आवद्ध रहेकोले उनीहरूलाई लगानीकाे लागि सहज वातावरण बनाउन आफू तयार रहेकाे बताएकाे हाे । नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा आज(माघ २८ गते) परिसंघको कार्यालय थापाथलीमा छलफल भएको हाे । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उध्रित गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको छ । राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुन सक्ने अध्यक्ष मोरको धारणा थियो । नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानु पर्ने धारणा परिसंघले राखेको छ । नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ । त्यसैगरी, अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नु पर्ने तर्क परिसंघको छ । दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुबै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताए । यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नु पर्ने बताए । नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दुतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गरे । लगानीको वातावरण तयार गर्नको लागि आगामी दिनमा परिसंघ र दुतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरहरुलाई उजागर गरी लगानीकर्ताले चाहेको क्षेत्रमा लगानी विस्तार गर्न परिसंघले सहजीकरण गर्ने बताएको छ । उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नु पर्ने धारणा परिसंघको रहेको छ । नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आइटि, गार्मेण्ट, शिक्षा, औषधी उत्पादन लगायतका क्षेत्रमा नेपालमा लगानीकोसम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ । नेपाल उद्योग परिसंघले नेपाल सरकारबाट भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने छलफलमा बताइएको छ । छलफलमा परिसंघको तर्फबाट उपाध्यक्षहरु क्रमशः अनुज अगरवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।

उद्योग वाणिज्य संघ-चितवनले शुरू गर्याे चार दिने अचार बनाउने तालिम

काठमाडाैं । उद्योग वाणिज्य संघ-चितवनको प्रशिक्षण कक्षमा आज देखी ४ दिने अचार बनाउने तालिम शुरु भएको छ । गृहणी महिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै बसी आय आर्जन गर्न सक्ने भएको हुनाले तालिमको आयोजना गरिएको बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाहरुले बनाएको अचार घरमा मात्र उपभोग नगरि यसलाई व्यवसायीकरण गर्नुपर्ने बताउँदै उत्पादन भएको अचारको बजारीकरणका लागि उद्योग वाणिज्य संघ–चितवनले पूर्ण सहयोग गर्ने बताए । सोहि कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने आवश्यकता रहेको बताउँदै आर्थिक सवलीकरणका लागि सिप हासिल गरि प्राप्त सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । सोहि अवसरमा संघका तालिम संयोलक योगिता पियाले स्थानिय रुपमा उपलब्ध हुने स्रोतलाई सहज तरिकाले प्रशोधन गरि उत्पादन गर्न सकिने भएकोले तालिमले आय आर्जनमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताउंदै तालिमको सफलताको शुभकामना व्यक्त गरे । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक मुना श्रेष्ठले उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने कुनै पनि कार्यक्रम गुणस्तरिय रहने भन्दै आफुले जानेको ज्ञान र सीपलाई सहभागिहरु महिलाहरुलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । महिला उद्यमशिलता विकास एवम् सशक्तिकरण अन्तरगत आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना महिलाहरुको सहभागिता रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । ४ दिनसम्म संचालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रममा संघका उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यसमिति सदस्य लक्ष्मी रिमाल, शर्मिला न्यौपाने, पूर्णिमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संघका व्यवस्थापन सहायक गणेश सुवेदीले सञ्चालन गरेको कार्यक्रम संघका अध्यक्ष राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

सप्तरीमा भाडा नबुझाउने बन्द उद्योगको सामान जफत

लहान । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडाबापतको रकम नबुझाउने उद्योगको समान जफत गरी असूली गर्ने प्रक्रिया शुरु गरेको छ । औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडाबापतको रकमसमेत नतिरेपछि कृष्णा खाद्य उद्योग र पदमा ज्योति प्लाष्टिक उद्योगको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया शुरु गरेको हो । वर्षाैदेखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरी कब्जामा राख्ने र भाडासमेत नबुझाउने प्रवृत्ति बढेपछि कारवाही गरी सेड खाली गराइएको तथा सामानसमेत लिलाम गर्ने प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले जानकारी दिए । खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि प्रक्रियासमेत शुरु गरिसकेको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिका–६ का वडाध्यक्ष जगदीश दास, घरेलु तथा साना उद्योग कार्यालयका नेत्र बाँस्तोला, सघन शहरी विकास आयोजना राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरी तथा सञ्चारकर्मीलगायतको टोलीको उपस्थितिमा बन्द उद्योगको ताला फुटाएर समान जफत गरिएको प्रमुख आचार्यले बताए । कार्यालयका अनुसार ती उद्योगबाट करीब ४०/४५ लाख भाडाबापतको बक्यौता रकम उठाउन बाँकी छ । कृष्णा खाद्य उद्योगबाट करीब ११ लाख ७० हजार र पदमा ज्योति प्लाष्टिक उद्योगबाट आठ लाख ८० हजार भाडाबापतको रकम उठाउन बाँकी रहेको प्रमुख आचार्यले जानकारी दिए । भाडा नबुझाएका यी सबै उद्योग बन्द अवस्थामा रहेको र बक्यौता रकम बुझाउन पटक–पटक सूचना दिँदा समेत कुनै सुनुवाइ नभएपछि समान जफत गरी सेड खाली गराउन लागेको प्रमुख आचार्यको भनाइ छ । यसअघि गत वर्ष पनि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले महालक्ष्मी खाद्य उद्योग र एसएण्ड इलेक्ट्रोनिक्सको समान जफत गरेको थियो । कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधासम्पन्न १० घरेलु उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ । त्यसमा हाल मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कोशी पोलिमर्स र उषा जल उद्योग सञ्चालनमा छन् । यस औद्योगिक क्षेत्रमा नेपाल सरकारका तर्फबाट कार्यालय प्रमुखसहित १० जना कर्मचारीको दरबन्दी छ । भारत सरकारको सहयोगमा विसं २०४४ मा शिलान्याश भएको उक्त औद्योगिक क्षेत्र निर्माण भएपश्चात २०५१ मा भारत सरकारले नेपाललाई हस्तान्तरण गरिसकेपछि त्यसमा नौ वटा उद्योग सञ्चालनमा आएका थिए । राजविराज औद्योगिक क्षेत्रका नामबाट २०४४ सालमा स्थापित उक्त औद्योगिक क्षेत्रलाई विकाश गर्ने उद्देश्यले हृदयेश त्रिपाठी उद्योगमन्त्री भएका बेला गजेन्द्रनारायण सिंहको नामसँग जोडेर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको नाममा नामकरण गरिएको थियो । रासस