अन्य आम्दानी २९८.९७ प्रतिशत बढाएको सर्वाेत्तम सिमेन्टको नाफा कति ?

काठमाडौं । सर्वाेत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १८.५१ प्रतिशत घटेर १७ करोड ४२ लाख मात्रै आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८.४७ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । साथै कम्पनीको अन्य आम्दानी २९८.९७ प्रतिशत बढेर ४ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । यसअवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेर ७९ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ९७ करोड १५ लाख रुपैयाँ थियो । गत असारसम्म कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेर ६१ करोड ३७ लाख रुपैयाँ गरेको छ अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीको चुक्ता पुँजी १४.८१ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र अन्य इक्विटी ३६.४९ प्रतिशत बढेर ४ अर्ब २५ करोड ८५ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५३ रुपैयाँ घटेर ३.७५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ ।

दैजी छेला औद्योगिक क्षेत्र : ४३ हजार रुखको लगत संकलन गरिँदै

कञ्चनपुर । दैजी-छेला औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक वनभित्रका रुखको लगत लिने कार्य अगाडि बढाइएको छ । बेदकोट नगरपालिका–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार लगतमा समावेश हुनबाट छुटेका रुखहरूको लगत लिने कार्य अगाडि बढाइएको हो । औद्योगिक क्षेत्रका पूर्व, उत्तर र दक्षिणी क्षेत्रअन्तर्गत पर्ने जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वन क्षेत्रमा रुख तथा खम्बाको लगत लिने कार्य यसअघि गरिएको थियो । स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा छुटेको पश्चिमतर्फको क्षेत्रमा रुखको लगत लिने कार्य अहिले भइरहेको डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले बताए । उनका अनुसार औद्योगिक क्षेत्रभित्र पर्ने २४०.३४ हेक्टर जग्गामा रहेका रूखको लगत लिनुपर्नेमा हालसम्म २०४.५२ हेक्टर जग्गामा रहेका रुखहरूको लगत लिने कार्य गरिएको छ । बाँकी ३५.८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रुखहरूको लगत लिने कार्य सुरु गरिएको छ । यसअघि औद्योगिक क्षेत्रभित्र पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार ८ सय २ र बेदकोट सामुदायिक वनमा २३ हजार ४ सय ५५ गरी ४३ हजार २ सय ५७ रुखको लगत लिने कार्य गरिएको अधिकृत कँडेलको भनाइ छ । बाँकी रहेको ३५.८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रुखको लगत लिनका लागि डिभिजन वन कार्यालयका कर्मचारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्राविधिक कर्मचारी खटिएका छन् । लगत संकलन गर्ने कार्य दुई हप्ताभित्र सक्ने लक्ष्य लिइएको छ । ‘औद्योगिक क्षेत्रको पश्चिमी सिमानाको साजगाड (खोला) क्षेत्रबाट लगत लिने कार्य सुरु गरिएको छ,’ उनले भने, ‘स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार खोला क्षेत्रको २० मिटरको क्षेत्रभित्रका रुखलाई छाडेर अन्य रुखहरूको लगत लिन्छौँ ।’ लगत संकलनका लागि २५९ हेक्टर क्षेत्रफल प्रस्ताव गरिए पनि २४०.३४ हेक्टर क्षेत्रफल मात्रै लगत संकलनका लागि स्वीकृत भएको उनले बताए । चुरे क्षेत्रको वन्यजन्तु ओहोरदोहोर गर्ने झण्डै १९ हेक्टर क्षेत्रलाई घटाएर बाँकी स्वीकृत गरिएको उनको भनाइ छ । ‘रुखको लगत लिने कार्य पूरा गरी मन्त्रालयमा पठाउँछौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार रुख छपान, कटान कार्यको आदेशबमोजिम अरू कार्य त्यसपछि अगाडि बढ्छ, अहिले लगत लिने कार्य मात्रै भइरहेको छ ।’ तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा दैजी–छेला औद्योगिक क्षेत्र घोषणा गरेका थिए । विसं २०७७ फागुन १० गते केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । मन्त्रिपरिषद्को विसं २०७२ चैत १ गतेको निर्णयअनुसार साबिक पूर्वमा छेला मुक्त कमैया बस्ती, पश्चिममा दैजी–जोगबुढा सडक, उत्तरमा वन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकी ९ सय बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरिएको थियो । विसं २०७३ माघ १४ गते मन्त्रिपरिषद्ले साबिकको चार किल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती (राजमार्ग पश्चिमतर्फको पर्ति जग्गासमेत) औद्योगिक क्षेत्रमा गाभ्ने निर्णय गरेको थियो । औद्योगिक क्षेत्र स्थापना गरिएको २४०.३४ हेक्टर जग्गाको डिपिआर निर्माण गरी स्वीकृत गरिएको छ । वन तथा वातावरण मन्त्रालयबाट विसं २०७७ साउन १८ गते वातावरण प्रभाव मूल्यांकन प्रतिवदने पनि स्वीकृत भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि कुल लागत ९ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसमा औद्योगिक प्लट संख्या एक सयमध्ये साना उद्योगका लागि २३ प्लट छुट्याइएको छ । मझौला उद्योगका लागि ४४ प्लट र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएका छन् । आयोजना निर्माण भएपछि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा २२ हजार जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । आयोजनाको पूर्वाधार निर्माण गर्न आव २०७७ देखि पाँच वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म औद्योगिक क्षेत्रको सीमा क्षेत्र यकिन गरी, डिपिआर निर्माण, वतावरणीय प्रभाव मूल्यांकन गर्ने कार्य मात्रै सकिएको छ । औद्योगीक क्षेत्रका अन्य कार्य अगाडि बढ्न सकेका छैनन् ।

मोफसलमै खुल्यो ४ अर्ब लगानीकाे टायल्स उद्योग, एभरेष्टसहित यी चार बैंकले दिए ऋण

काठमाडाैं । कजारिया रमेश टायल्सले भैरहवामा चार अर्ब रुपैयाँ लगानीमा टायल्स उद्योग सञ्चालन गरेको छ । सोमबारदेखि सञ्चालनमा आएको उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर टायल रहेको कम्पनीले जनाएको छ । कजारिया रमेश टायल्स, रमेश कर्प र भारतको टायल निर्माता कम्पनी कजारिया सेरामिक्सको संयुक्त उत्पादन हो । यसै सहकार्यमार्फत नवलपरासीमा टायल निर्माण कारखाना स्थापना गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारखाना स्थापनासँगै स्थानीय कच्चा पदार्थ प्रयोग गरी कजारियाले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । उद्योगले नयाँ आधुनिक उत्पादन केन्द्र किल्न लाइट अप अर्थात् भट्टी प्रज्ज्वलनको पनि उद्घाटन गरेको छ । अब बजारको मागअनुसार टायल्स उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ । ‘नेपालमा नयाँ उत्पादनको केन्द्र स्थापना भएकामा हामी गौरवान्वित छौं,’ कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘यो आधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ ।’ मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रियामा रहेको कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले बताए । ‘हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं,’ उनले भने, ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धता हो ।’ उद्योगले स्थानीय अर्थतन्त्रलाई विकास गर्नुका साथै रोजगारी सिर्जना गर्ने समेत विश्वास लिएको जनाएको छ । कजरिया भारतमा ३५ वर्ष पुरानो उद्योग हो । उद्योगमा ५० प्रतिशत कजरिया र ५० प्रतिशत रेमश कर्पको लगानी रहेको बताइएको छ ।उद्योगमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको बताइएको छ । उद्योगका अनुसार एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । यो प्रोजेक्टमा सह-वित्तियकरणमा नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकले ऋण लगानी गरेको बुझिएको छ । कजरियाले ३ अर्ब ४ करोड ऋणको रेटिङ गराएको छ । के हाे कजारिया रमेश टायल्स ? कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्य मार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकंक्षा लिएको छ । नवलपरासी स्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ । कारखाना निर्माणका लागी गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिने र विश्वस्तरीय कजारिया टायलहरू सस्तो मूल्यमा उपलब्ध गराउने विश्वास कम्पनीकाे छ । कारखानाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय वृद्धि गर्नुका साथै हजारौं रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले लिएको छ । कजारिया रमेश टायल्स लिमिटेडले स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउँदै वृद्धि र विकासलाई प्रवर्द्धन गर्ने कम्पनीकाे भनाइ छ ।