गोरखाको गुम्बा बनाउन मनकामना दर्शनले दियो २ लाख रुपैयाँ

काठमाडौं । गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनको कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठले उक्त रकम एक कार्यक्रमका बीच गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुन् । गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पर्याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उनका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

अब विदेशीले पदयात्रा जान नपाउने

काठमाडौं । कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले शुक्रबार(चैत ७ गते) सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन् । बोर्डले आजैबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको हो । नेपालको पदयात्रामा जाने विदेशीले टिम्स अनिवार्य लिनुपर्छ । टिम्सबापत विदेशीले व्यक्तिगतरुपमा रु दुई हजार र संस्थागत गएमा रु एक हजार तिर्नुपर्छ । पर्यटनको महत्वपूर्ण आम्दानीका रुपमा टिम्स रकमलाई लिइन्छ । वसन्त ऋतु पदयात्राका लागि उपयुक्त याम भएकाले धेरै आरोही पदयात्राका लागि नेपाल आउने गरेका थिए । कोभिडको विश्वव्यापी सङ्क्रमण फैलिएपछि सम्बन्धित मुलुकले अन्य मुलुकका नागरिक प्रवेशमा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान पनि कटौती भएको र विदेशीको आवतजावत पनि कम भएको हो । बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले टिम्स कार्ड वितरण गर्दै आएका छन् । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाको सङ्क्रमण कम नभएसम्म टिम्स कार्ड वितरण बन्द गर्ने सरोकारवाला निकायबीच सहमति भएको जानकारी दिए । बोर्ड, टान र टान पोखरा कार्यालयले टिम्स वितरण गर्दै आएका छन् । यो याममा टानले दैनिक २००, बोर्डले १५० र पोखरा कार्यालयले ५० भन्दा बढी टिम्स वितरण गर्ने गरेको टानले जनाएको छ । रासस

नेपाल वायुसेवा निगमका भारतका तीन गन्तव्यका उडान स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगमले भारतमा तीन गन्तव्यका उडान स्थगित गरेको छ । निगमले एक सूचना जारी गर्दै उडान स्थगित गरेकाे बताएकाे हाे। निगमले भारतको नयाँ दिल्ली, मुम्बई र ब्याङ्ग्लोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ गतेदेखि लागू हुनेगरी स्थगित गरेको हाे । डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरु स्थगित गरिएकाे हाे । चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने एयरलाइन्सले बताएको छ। निगमले  हाल चैत्र १६ गतेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिएको छ ।