अब देशभरका होटल र विद्यालयलाई क्वारेन्टाइन बनाइने
विश्वरभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको बेला नेपाल सरकारले पनि उचित सतर्कता अपनाइरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सरकारले पूर्व तयारी भने तीव्र रुपमा भइरहेकाे छ ।नागरिकमा कोरोनाको त्रास बढिरहेको बेला सरकारले विभिन्न होटल र विद्यालयहरुलाई क्वारेन्टाइन बनाउने तयारी गरिरहेको छ । विभिन्न होटल सञ्चालकहरुले आफ्ना होटललाई क्वारेन्टाइनको रुपमा दिन सहमत भएपछि सरकरले पनि त्यसको लागि तयारी गरिरहेको हो । शनिबार बसेको कोरोना रोकथामका लागि उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर आवश्यकता अनुसार क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । बैठकले व्यक्तिको घर, विद्यालय र होटलहरु क्वारेन्टाइन बनाउन दिने प्रस्तावलाई पनि स्वीकार गरेको हो । विभिन्न ठाउँका होटल सञ्चालकहरुले होटलहरुलाई क्वारेन्टाइनका रुपमा दिन सक्ने निर्णय गरिसकेका छन् । काठमाडौंका सबै होटल सरकारलाई कोरोना रोकथामका लागि आवश्यक परे क्वारेन्टाइनका लागि दिने होटल व्यवसायीहरुले निर्णय गरेका छन् । शनिवार होटल व्यवसायी महासंघको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ काठमाण्डौ जिल्ला होटल व्यवसायी संघका ९ वटा इकाईका अध्यक्षहरुको आकस्मिक बैठकबाट काठमाण्डौ उपत्यकाभित्र रहेका पर्यटन सम्बद्ध होटलहरुले नेपाल सरकारलाई कोरोना नियन्त्रणका लागि आवश्यक परेको खण्डमा पर्यटन व्यवसायको रुपमा संचालन भइरहेका होटलहरु क्वारेन्टाइन संचालनका लागि प्रदान गर्ने निर्णय गरेका हुन् । बैठकले उपत्यकाबाहिरका अन्य जिल्लाहरुमा सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशैभर क्वारेन्टाइन संचालनका लागि सहयोग गर्ने निर्णय समेत गरेको छ । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको बताए । काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुने उनकाे भनाइ छ । यस्तै, ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालले पनि होटल क्वारेन्टाइनमा दिनको लागि आज साँझ बैठक बस्ने बताएको छ । संघका महासचिव शाजन शाक्यले सरकारले चाहेमा आफुहरु सहयोग गर्ने तयार रहेको बताए । आज त्यसको बारेमा छलफल गर्ने र कसरी जाने भन्ने विषयमा छलफल हुने बताए । व्यवसायीहरुले कोरोनाको त्रासका कारण आफूहरुको व्यवसाय शून्यको अवस्थामा झरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । तर, राज्यलाई विपत आएको अवस्थामा आफूहरु सहयोग गर्न तयार रहेको उनीहरूकाे भनाइ छ । यस्तै, प्रेसिडेन्ट ग्रुपले पनि क्वारेन्टाइनका लागि होटलहरू सरकारलाई दिन तयार भएकाे छ । प्रेसिडेन्ड ग्रुपका अध्यक्ष शंकर भण्डारीले एक विज्ञप्ती जारी गरी होटललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका हुन् । अध्यक्ष भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अब सरकारले क्वारेन्टाइनमा कडाइ गर्ने भएकाे छ । होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्ने व्यक्तिहरु समेत नबसेको पाइएपछि कडाइ गर्ने निर्णय गरेको हो । शनिबारकाे बैठकमा क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नु पर्नेहरु नबसेको, बिरामीहरू चेकजाँचमा नगएको पाइएपछि सुरक्षाका साथ शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।
चौतर्फी दबाबपछि बुद्ध एयरले घटायो हवाई भाडा, कहाँ जान कति ?
काठमाडौं । चौतर्फी दबाबपछि बुद्ध एयरले हवाई भाडा घटाएकाे छ । सरकारले लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा १० दिनसम्म रोक लगाएपछि बुद्ध एयरले हवाई भाडा घटाएको हाे । आइतबार बिहान विज्ञप्ती जारी गर्दै हवाई भाडा घटाएको बताएकाे हाे । यात्रुवाहक सवारीसाधनमा रोक लगाएपछि हवाईमार्ग मात्रै यात्राको पहिलो साधन बन्न पुगेकाले नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि भन्दै भाडादर घटाइएको बुद्धको भनाइ छ । जसअनुसार विराटनगरमा ७ हजार ८ सय ७८ रुपैयाँ लिँदै आएकोमा ५ हजार ५ सय, भैरहवा ४ हजार ९ सय, नेपालगन्ज ६ हजार ३ सय, भद्रपुर ६ हजार २ सय, धनगढी ७ हजार ९ सय, पोखरा ३ हजार ७ सय, राजविराज ४ हजार २ सय रुपैयाँ ताेकेकाे छ । कुन ठाउँ जान कति ?
श्री एयरलाइन्सले भाडा घटायो, कहाँ जान कति ?
काठमाडौं । श्री एयरलाइन्सले शनिबारदेखि नयाँ भाडा ताेकेकाे छ । शनिबार नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने बताएको छ । विश्वभर काेराेना भाइरसकाे त्रासपछि काठमाडाैं छाड्नेकाे भिड छ । यसकाेबीचमै श्रीले नयाँ भाडादर ताेकेकाे हाे । श्री एयरलाइन्सले सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो । एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले कम्पनीले काठमाडौं आउने यात्रुको सख्या अति कम भएका कारण काठमाडौं आउने भन्दा बहिर जाने भाडा केही बढी भए पनि नेपाल सरकारले स्वीकृत गरेका भाडा दरको सीमा भित्रै बसी सेवा सुचारु गरिरहेको जानकारी दिए। ‘अहिले काठमाडौं छाड्ने यात्रुको सङ्ख्या बढेको छ, यस्तो बेला आन्तरिक एयरपोर्टमा यात्रुको चाप छ, जति टिकट विक्री हुँदै गयो, उत्ति टिकटको मूल्य अटोमेटिक बढ्ने गर्छ ,तर, श्रीले मेनुअल रुपमा टिकटको मूल्य घटाएको हो,’ उनले भने । अब काट्ने टिकटमा आगामी दुई दिन उल्लेखित भाडादर लागु हुने कम्पनीले जनाएको छ । शनिबार सार्वजनिक गरेकाे भाडादरमा भद्रपुरको भाडादर अधिकतम ७ हजार ४ सय रुपैयाँ छ । जबकि नयाँ भाडादर अनुसार यात्रुले भद्रपर उड्न ८ हजार ९६५ रुपौयाँ तिर्नुपर्छ । त्यसैगरी, सरकारले तोकेको काठमाडौंदेखि बिराटनगरसम्मको भाडा ७ हजार ४ सय ४० रुपैयाँ छ । तर, श्रीले अधिकतम ६ हजार १ सय रुपैयाँ लैजाने दाबी गरेको छ । जनकपुरको भाडा ४ हपार २ सय ४० रुपैयाँ छ । श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँमा लैजाने बताएको छ । सकारले सिमराको भाडा ३ हजार ८० रुपैयाँ तोकेकोमा श्रीले ३ हजारमा लैजाने बताएको छ । यसैगरी सरकारले काठमाडौं पोखराको भाडा ४ हजार ९ सय ७५ तोकेको भएपनि श्रीले अधिकतम ३ हजार ७ रुपैयाँमा पोखरा उडाउने भएको हो । त्यसैगरी भैरहवाको भाडा ६ हजार १०५ रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, सरकारले नेपालगन्ज र धनगढीको भाडा क्रमशः ९ हजार ८ सय ५० र १२ हजार ४ सय ५० रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ६ हजार २ सय र ७ हजार ९ सयमा यात्रुलाई लैजान लागेको उनकाे भनाइ छ ।