पर्यटन बोर्डलाई कारबाही गरिँदै, सीईओ रेग्मी भन्छन्ः पूर्व सीईओले गल्ती गरे म पारदर्शी काम गर्दैछु
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई कारबाही गर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डलाई कारबाही गर्न प्रस्ताव गरेसँगै मन्त्रालयले पनि बोर्डलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको हो । महालेखा कार्यालयले बोर्डलाई आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण गराउन पटक–पटक पत्राचार गर्दा पनि कुनै प्रतिक्रिया नदिएको र आर्थिक वर्ष २०७५/७६ को पनि वित्तीय विवरण तथा कारोबारको लेखा पेश पनि नगरेको भन्दै कारबाहीका लागि महालेखाले मन्त्रालयलाई कारबाहीकाे प्रस्ताव गरेको हो । सोही प्रस्ताव अनुसार मन्त्रालयले बोर्डलाई कारबाहीको प्रक्रिया अगाडि सारेको हो । संस्कृति पर्यटन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईका अनुसार बोर्डलाई महालेखा परीक्षक कार्यालयबाट आएको प्रस्ताव र कानुनले तोके बमोजिम कारबाही हुनेछ । ‘हामीले पनि महालेखा परीक्षक कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदन हेर्यौं, त्यसमा नेपाल पर्यटन बोर्डले लेखा परीक्षणका लागि कुनै पनि विवरण पठाएको रहेनछ, अब हामी कानुनले भने बमोजिमको कारबाहीका लागि अगाडि बढ्दैछौं, बोर्डलाई लेखा परीक्षण ऐन २०७५ को दफा २५ बमोजिम कारबाही हुनेछ,’ उनले विकासन्युज सँग भने । प्रतिवेदनमा लेखेर नै आइसकेपछि त्यसलाई कार्यान्वन गर्नु आफुहरुको कर्तव्य भएको उनको भनाई छ । महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा बोर्डलाई महालेखा परीक्षण ऐन २०७५ को दफा २५ बमोजिम कारबाही गर्न उल्लेख गरेको छ । महालेखा परीक्षण ऐन २०७५ को दफा २५ मा उल्लेख भए अनुसार लेखा परीक्षण नगराउने, दफा ११० र ११ बमोजिम नियुक्त लेखा परीक्षकलाई वित्तीय विवरण तथा लेखा उपलब्ध नगराउने, दफा १२ अनुसार लेखासँग सम्बन्धित कागजात पेश नगर्ने, तत्सम्बन्धित सूचना तथा जानकारी नदिने, दफा २३ बमोजिमको ढाँचामा लेखा नराख्ने लेखा परीक्षण सम्बन्धिी काम कारबाहीमा बाधा विरोध गर्ने तथा ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लघंन गर्ने सम्बन्धित कामको जिम्मेवारी तोकिएको पदाधिकारी वा व्यक्तिलाई महालेखा परीक्षकले विभागिय कारबाही लगायतका प्रतलित कानुन बमोजिमको कारबाही गर्ने सम्बिन्धत निकायलाई लेखी पठाउन सक्ने उल्लेख गरेको छ । सीईओ रेग्मी भन्छन्ः पूर्व सीईओले गल्ति गरे म पारदर्शी काम गर्दैछु नेपाल पर्यटजन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनन्जय रेग्मीले बोर्डले लेखा परीक्षण नगराउनु पूर्व सीइओहरुको गल्ति भएको बताएका छन् । पूर्व सीइओले कुनै पनि वित्तीय विवरणहरु महालेखा परीक्षकको कार्यालयलाई नपठाएको स्वीकार गर्दै उनले ती गल्तिहरुलाइ सच्याउँदै आफुले बोर्डको आर्थिक गतिविधिलाई पारदर्शी गराउन तर्फ लागेको उनले बताए । तपाईहरुले लेखा परीक्षण किन गराउनु भएन भन्ने विकासन्युजको प्रश्नमा रेग्मीले भने, ‘पूर्व सीईओसावले राम्रो गर्नु भएनछ, पहिला केके बारेमा मुद्दा मामिला चलेको रहेछ, मुद्दा मामिला भएको कारणले वित्तीय विवरण दिन सकिन्न भनेर दिनु भएनछ, त्यो गरेर उहाँहरुले गल्ति गर्नु भयो । दोस्रो गल्ति महालेखाले बोर्डर्लाइ पत्राचार गर्नुको साँटो मन्त्रायलाई पठाएछ, म्नत्रालयले पनि सही समयमा बोड्र्रलाई खबर गरेनछ, यो सबै कम्युनिकेसन ग्यापकाका कारण यो हुन सकेको होइन ।’ अब आफु सीईओ भएर आइसकेपछि यो सबै समस्या समाधान हुने उनको दावी छ । ‘सबै वित्तीय विवरण पारदर्शी हुनु पर्छ भनेर मैले भनेको छु, म आफै त्यसमा लागेको छु, केही फाइलहरु पठाइपनि सकेका छौं,’ उनले भने । बोर्डको सबै डकुमेन्ट महालेखालाई दिन तयार रहेको उनको भनाई छ । आगामी ५/६ महिनाभित्र एक रुपैयाँ पनि बाँकी नराखेर काम सकाउने उनले बताए । त्यसाे भए गल्ति पूर्व सीईओले गरे तपाई बिचमा बलिको बोको हुनु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा म किन पर्छु, यो कारबाहीको प्रक्रियामा धेरै संस्थाहरु पर्छन्, मैले पहिलेदेखिका चिठ्ठीहरु पढेँ, संस्था यहाँ चुकेको रहेछ भन्ने बुझेँ, म अलिकति व्यापार ब्याकग्राउण्डबाट आएको हुँ, सार्वजनिक संस्थाको पारदर्शीता भन्ने कुरा मैले राम्रोसँग बुझेको छु, त्यही अनुसार म अगाडि बढिरेहको छु,’ उनले भने । आफुले आर्थिक वर्ष २०७५/७६ को गरेर सकेको र २०७६/७७ को भइरहेको उनको भनाई छ । विगतमा भएका गल्तिलाई सुधार गर्दै अगाडि बढ्ने उनको भनाई छ ।
नेपालकै लामो झोलुङ्गे पुल: अब एक घण्टाको यात्रा १० मिनेटमा
गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् । गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन । पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजाको यात्रा छोटिएको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक सुवेदीले जानकारी दिए । बागलुङ नगरपालिका–१ रामरेखाबाट कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल गत वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको छ । पुल हस्तान्तरण प्रक्रिया शुरु भएको जनाउँदै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले शुक्रबारदेखि पुल खुला गर्न अनुमति दिएको हो । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ । पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भीड नै लागेको छ । शुक्रबारदेखि खोल्नका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाैंका सिनियर डिभिजन इञ्जीनियर हुमाकान्त मिश्रले पुल निर्माण सम्पन्न भएपश्चात सबै प्राविधिकरूपमा अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको जनाउँदै पुल सञ्चालन गर्न भनिएको बताए । “पुलको प्राविधिक परीक्षण ग¥यौँ, अब अफिसियलरूपमा हस्तान्तरणको काम गर्दा एक हप्ता लाग्छ होला, पुल सञ्चालन तथा संरक्षणको जिम्मा स्थानीय तहले समन्वयका आधारमा गर्नेछ”, उनले भने । ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण सकिएको थियो । पुल हस्तान्तरण नहुँदा तीन महिनादेखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी/बिएलटी/हिमशिखर कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । “हामीले लकडाउनमा समेत पुल निर्माण रोकेनौँ”, उनले भने, “वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले समस्या ल्यायो, अब पुल हस्तान्तरण गर्न थालेका छौँ, तर कार्यालयले शुक्रबारदेखि पुल खोल्न भनेको छ ।” उनका अनुसार झोलुङ्गे खुला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलोपटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माणकार्य आगामी २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको थियो । पहिलोपटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चुनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाइ छ । पुलको एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता रहेको छ । विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने जनाउँदै काम शुरु हुनसकेको थिएन । रु ४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्विकृति दिएपछि पुल निर्माण थालिएको थियो । अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा सम्झौता भएको थियो ।
त्रिभुवन विमानस्थल नयाँ सेवा सुविधाका साथ सञ्चालन हुन्छः मन्त्री भट्टराई
काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरिक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन् । कोभिड १९ का कारण चार महिना सम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईले बताए । उनले विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अव अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए । । त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए । । लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएका छन् । जसले गर्दा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कमगर्ने विश्वास समेत मन्त्री भट्टराईले बताए । यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो । विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् । यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२/२३ वटा जहाज पार्किङ स्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत मन्त्री भट्टराईले बताउ । उनले अराइभल हलको निर्माण कार्यपनि सम्पन्न भइसकेको बताए । उनले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभुति गर्न पाउने बताए । सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका थिए । उनले भौतिक दुरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पुरागर्न विमानस्थल प्रशासनलाई निर्देशन दिएको समेत बताउनुभयो । विमानस्थले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपायोग गरी सञ्चालन गर्ने योजना बनाएको छ ।