पर्यटन दिवसमा सुनसान ठमेल (फाेटाे फिचर)

काठमाडाैं । आज ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन । यसअघिको बर्षहरुमा पर्यटन दिवसको अवसरमा मुलुकको विभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याई हुन्थ्यो । पर्यटकका लागि पहिलो गन्तव्य ठमेल पनि यस वर्ष सुनसान देखिएको छ । हरेक बर्ष सेप्टेम्बर २७ को दिन विश्वभर पर्यटन दिवस मनाउने गरीएको छ । अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको भूमिकाका बारे चेतना जगाउने र यसले विश्वव्यापी रूपमा सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्य मान्यताहरूलाई कसरी प्रभाव पार्छ भनेर प्रदर्शन गर्ने उद्देश्यले सन् १९८० देखि यो दिवस मनाइदैं आएको हो । यस बर्ष पनि ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ । तर, यो बर्ष भने कोरोना प्रकोपको कारण पर्यटकहरुको स्वागत बिनै दिवस मनाउन बाध्य हुनु परेको छ । यसअघिको वर्षहरुमा मुलुकको विभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याई हुने गरेको थियो भने पर्यटकलाई लोभ्याउन होटलहरुले विभिन्न छुटका योजना सार्वजनिक गर्ने गरेका थिए । त्यस्तै, काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायीहरुले विभिन्न प्याकेज घोषणा गरी पर्यटको अवसरमा छुट दिदै आएका थिए । तर, यो वर्षको पर्यटन दिवसमा भने कोरोना संक्रमणको महामारीका कारण ठमेल क्षेत्र सुनसान बनेको छ । अघिल्लो बर्षहरुको पर्यटन दिवसको दिन छुट्टै माहोल सहित आन्तरिक र बाह्य पर्यटकको भिड हुने गरेकोमा यो बर्ष सुनसान बनेको व्यवसायीले बताएका छन् । विदेशी पर्यटक शून्य छन भने आन्तरीक पर्यटक समेत पाउन मुस्किल भएको व्यवसायीहरुको भनाई छ । ठमेल क्षेत्रका व्यापारीहरुको मात्रै नभई मुलुकभरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ । पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन् । महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटनको आगमन ठप्प हुँदा कतिपय व्यवसायीले पलायन हुने अवस्थामा पलायन हुने अवस्था आएको गुनासो गरेका छन् ।

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, “व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाै ।” लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताए । उनले भने, “प्रमुख शहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्नेछौँ ।” ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत सङ्घ संस्थासँग समन्वय भइरहेको उनले जानकारी दिए । आउँदा दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । “कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागि परेका छौँ”, भट्टराईले भने, “दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।” पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल सङ्घसहित ११ सङ्घ संस्थाले कार्यक्रमको आयोजना गरेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे । उनले आश्वासन दिए, “अब सौराहा शून्य हुँदैन, नगरपालिका तपाईहरुको साथमा छ ।” रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएकाले सन्देश प्रवाह गरिदिन अनुरोध गरे । सौराहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार पाँच सय जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल यही असोज १ गते यता क्रमशः सरसफाई र खुल्ने क्रम शुरु भएको छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् । पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । लकडाउनको अवधिमा बीचको समयमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ । रासस

खुला भयो होटल, छैनन् पाहुना

बर्दिया । पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन् । बन्द रहेका होटलका ढोका खुलेसँगै यस क्षेत्रमा चहलपहल पनि बढेको छ । बन्दाबन्दीका कारण घर गएका धेरै जसो होटलका कर्मचारी तथा मजदुर काममा फर्किइ सकेका छन् । दैनिक १०० देखि १५० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने ठाकुरद्वारा क्षेत्रका होटल कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका थिए । यहाँ रहेका अधिकांश होटल तथा रिसोर्टले सरसफाइ र मर्मत सम्भारको काम सकिसकेको गैँडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले जानकारी दिए । उनले भने, “ होटलको सरसफाइको काम सकियो, घर गएका होटल कर्मचारी तथा मजदुरलाई काममा बोलाइयो, तयारी सबै पूरा भयो, तर पाहुनाको पर्खाइमा छौँ ।” ठाकुरद्वारा क्षेत्रका होटल तथा रिसोर्ट सञ्चालकको संस्था पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै होटल सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “होटल तथा रिसोर्ट चिटिक्क पारेका छौँ तर होटलमा बस्ने पाहुना छैनन् ।” पछिल्ला वर्षमा ठाकुरद्वारा क्षेत्रमा होटल तथा रिसोर्टमा लगानी गर्ने क्रम बढ्दो छ । यस क्षेत्रमा पर्यटक लक्षित २९ सुविधासम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । ती होटल तथा रिसोर्टमा साढे तीन अर्ब बढीको लगानी रहेको छ । रासस