२६ करोड बजेटले निजगढ विमानस्थल बन्छ भनेर मन्त्रीहरु नउफ्रिम : प्रेम आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । आईतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रश्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका हुन् । अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै केही मन्त्रीहरुले निजगढ विमानस्थल बनाउँछौँ भनिरहेको तर बजेटमा भने २६ करोड रुपैयाँ मात्रै छुट्याएको भन्दै अव्यवहारिक कुरा गर्न नमिल्ने उनी बताउँछन् । उनले विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने जिकिर गरे । उनले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे । मन्त्री आलेले विमानस्थल निर्माणमा र ३ खर्ब र फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोप लगाए ।

त्रिभुवन विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो । एक वर्षमा काम सम्पन्न गरि सक्ने गरी पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इन्जिनियरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिए । पछिल्लो समयमा थपिँदै गएको आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल विकास गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टि कन्ट्रक्सनले लिएको छ । उक्त भवन निर्माणपछि यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ । आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडा हुनेछ । करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर बेल्ट (दुईतर्फी ब्याग लिन मिल्ने) हुनेछ ।

पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

काठमाडाैं । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याए । सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याए । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भए । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरे । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचितभएका छन् । यस्तै, सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भए । नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको सङ्घले जनाएको छ ।