टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैंकक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ । थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ । श्रीलङ्कन एयरलाइन्सले उडान थप्यो श्रीलङ्कन एयरलाइन्सले सातामा सातवटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जिएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतबार, सोमबार, मङ्गलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो । कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ । प्राधिकरणका अनुसार हाल टिआइए भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यिमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् । टिआइएमा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । रासस

सगरमाथा आरोहण गरेकी डा भुषालले मनास्लु र आमादब्बल हिमाल आरोहण गर्ने

काठमाडाैं ।  नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् । डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ । सगरमाथाको सफल आरोहण गर्ने भुषाल पहिलो नेपाली महिला चिकित्सक हुन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भुषालले हाई अल्टिच्युड मेडिसिन फिजिसियन (उच्च उचाई चिकित्सक) स्पोर्टस मेडिसिन बन्ने आफ्नो इच्छा जाहेर गरिन् । उनले भनिन्, ‘आगामी २०२२ अक्टोबर, नोभेम्बरमा मनास्लु हिमाल र आमा दब्लम शिखर चढ्ने मैले योजना बनाएको छु ।’ उनले आगामी दिनमा हिमाल आरोहणमा रुची राख्ने तर यो विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगको लागि बाँसबारीमा हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेडमार्फत काम गर्ने योजना बनाएको बताईन् । उनले गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । काठमाडौंमै जन्मिएकी प्रितीको बुवाको जन्मथलो भने अर्घाखाँची हो ।

पर्यटनमन्त्री श्रेष्ठकोे पहिलो निर्णय : हेरिटेज मार्ग बनाउनेदेखि पर्यटन क्षेत्र उकास्नेसम्म

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताएका हुन । उनले आफू सांसद भएदेखि शुरु भएको कामलाई पूर्ण गर्न हस्ताक्षर गरेको बताए । कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकोले ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा हस्ताक्षर उनले हस्ताक्षर गरे । उनले पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । मन्त्री श्रेष्ठले आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।