लाहुरेको सहर पोखरामा गुञ्जियो ‘नैनताल’

  गण्डकी । ‘नैन ताल घुमी आयो रेल आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल…’ भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले पोखरेलीमाझ सुनाए । प्रदर्शनी केन्द्रमा ठेलमठेल दर्शकबीच गुरुङले झण्डै तीन घण्टा गायकीको जादु चलाए । ‘मानवता लागि साङ्गीतिक यात्रा’मा निस्केको नेपथ्य टोलीले मानवसेवा आश्रमका लागि आफ्नो ‘लाइभ कन्सर्ट’ समर्पित गरेको थियो । सधैँझैँ जिन्सको पहिरनमा उस्तै उर्जा, शैली र हाउभाउमा प्रस्तुत भएका गायक गुरुङले अन्तिमसम्मै दर्शकलाई कन्सर्टमा रोक्न सफल भए । उनले गीत आफैँमात्र गाएनन्, दर्शकलाई पनि गला मिलाउन बाध्य तुल्याए । ताली र वाहीवाहीसँगै दर्शकले नाचेर पनि साथ दिए । मानवसेवा आश्रमको भवन निर्माण सहयोर्ग नेपथ्यलाई जोड्न पाएकामा गायक गुरुङले आफूहरूलाई धन्य ठाने । ‘सहयोगापेक्षी सडक मानवमुक्त नेपाल’ बनाउने अभियानमा सबैलाई हातेमालो गर्न उनले अनुनय गरे । “यस्तो सुन्दर ठाउँमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भनेका गुरुङले हरेकले एकपटक देश दर्शनमा जानुपर्ने उल्लेख गरे । गीतको खोज र सङ्कलनकै क्रममा धवलागिरि क्षेत्रमा हिमाल–पहाड चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे । ‘तकसेरा झरौँला, डम्चनमा बसौँला ढोरपाटनमा घरजम गरौँला शिरफूल शिरैमा, वनफूल वनैमा हिउँको फूल धौलाश्रीमा…’ तक्सेरा रुकुमपूर्व पर्छ भने र ढोरपाटन बागलुङमा । गीतमा उल्लेख ‘धौलाश्री…’ म्याग्दीको हिमाल हो । हिमाल, पहाड, तराई जहाँ गयो त्यहीँको ठाउँले आफूलाई लोभ्याउने गरेको सुनाएका गुरुङ गीतमार्फत् एकैछिनमा पूर्व पुगे । ‘कोसीको पानी यो जिन्दगानी सललल जाइजाने हौ हजुर आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरण हौ हजुर…’ एकातिर गीत र अर्कातिर बीचबीचमा सन्देशप्रद विचार राखेर गुरुङले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई उनले आग्रह गरे– ‘युवालाई विदेश पयालयन हुनबाट रोकौँ, रोजगार सिर्जना गरेर यहीँ काम दिऔँ ।’ गुरुङले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर काम गरे । गुरुङले नेपथ्यका चर्चित गीत ‘रेशम’ ‘तालको पानी’, ‘जोगले हुन्छ’, ‘जोमसोमे बजार’, मै ‘नाचे छम्छमी’लगायत गाए । उनलाई ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए । बत्तीस वर्षअघि जन्मेको नेपथ्य देश–विदेशमा प्रसिद्धि कमाएको लोक रक ब्याण्ड हो । ब्याण्डले यसपालि मानवसेवा आश्रमको आयोजनामा देशमा प्रमुख सहरमा लाइभ कन्सर्ट गरिरहेको छ । पोखरामा पनि आश्रमकै भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले कन्सर्ट राखिएको हो । पोखरा महानगरपालिका–२५ हेम्जामा आश्रमको भवन निर्माणाधीन अवस्थामा छ । रु १० करोड लाग्ने सो भवनका लागि बजेट अभाव भएपछि आश्रम व्यवस्थापनले नेपथ्यसँग मिलेर साङ्गीतिक अभियानको जुक्ति निकालेको थियो । त्यसकै लागि टिकट किनेर सयौँ दर्शकहरू कन्सर्टमा पुगेका थिए । मानवता प्रवद्र्धन महाअभियामा लागेको आश्रमले सरकारसँग मिलेर सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोही उद्देश्यका लागि विभिन्न जिल्लामा अहिले आश्रमका भवन बनिरहेका छन् । प्रदेश राजधानी पोखरासँगै बागलुङमा पनि आश्रमको भवन निर्माणाधीन अवस्थामा छ ।

विश्वप्रसिद्ध एकोर ग्रूप नेपालमा भित्रियो, दि मेट्रोपोलिटिनको व्यवस्थापन सम्हाल्ने

काठमाडौं । होटल व्यवसायमा विश्व प्रशिद्ध एकोर ग्रूप नेपाल भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं एनआरएन तथा द्धि राष्ट्रिय समितिका सभापति देशबन्धु वस्नेत (अजित) ले उक्त ग्रूपलाई नेपालमा भित्र्याएका हुन् । वस्नेतले नेपालमा आफुले संचालनमा ल्याउन लागेको दि मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडको व्यवस्थापनमा विश्व प्रशिद्ध एकोर समुह भित्र्याएका हुन् । उक्त होटललाई एकोर समुहले ‘मर्क्यूर’ ब्रान्डको नाममा संचालनमा ल्याउने भएको छ । भारतको नयाँ दिल्लीमा उक्त ब्राण्डलाई नेपालमा भित्र्याउन एकोर र दि मेट्रोपोलिटिनबीच सम्झौता भएको हो । होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समुह एकोर ग्रूपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने पाँच तारे होटल दि मेट्रोपोलिटनमा वस्नेतको लगानी रहेको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त समुहले नेपालमा पहिलो पटक दि मेट्रोपोलिटनमा मर्क्यूर ब्राण्डमा होटलको व्यवस्थापन सम्हाल्ने भएको हो । उक्त सम्झौतामा दि मेट्रोपोलिटन होटलका अध्यक्ष वस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात दि मेट्रोपोलिटिनका अध्यक्ष वस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालिन सम्बन्धको सुरुवात गरेको बताए । ‘विश्वस्तरको ब्राण्डलाई नेपालमा ल्याउन पाउनु गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालमा आउने आगन्तुकहरुले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सृजना भएको छ ।’ उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयागग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरुलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले बताए । एकोरले नेपालमा कर्क्यूर ब्राण्डको नामबाट १०५ कोठो पाँच तारे होटल संचालनमा ल्याउने छ । काठमाडौंको सुकेधारमा निर्मार्णाधिन १० तले उक्त पाँच तारे होटलमा जिम, स्वीमिङपुल लगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् । उक्त सम्झौतामा सो होटललाई सन् २०२३ भित्रै संचालनमा ल्याउने उल्लेख गरिएको छ ।

पुस २७ गते ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने

गोरखा । गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’ मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ । गोरखा सदरमुकाम ठूलो आँगनमा नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण शाहको सालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राखेर राष्ट्र निर्माता सलामी अर्पण सुरु गरिने गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए । सङ्ग्रहालय परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख रानामगरले पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने बताए । समग्र गोरखाको पर्यटन प्रवद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योस्तको समयमा पृथ्वीनारायण शाह पालाका नेपाली सेनाको पेसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने उनले बताए । ‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको पालाका समयमा पनि तत्कालीन सेनाले हतियार प्रदर्शनसहित सेनाको परेड खेलाउने ठाउँको रुपमा ऐतिहासिक महत्व भएको ठाउँ हो,’ उनले भने, ‘सोही इतिहासको जर्गेना गर्न अबदेखि दैनिकरुपमा तत्कालीन सेनाको पोसाकमा नेपाली सेनाले विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्नेछ ।’ उनले यसबाट राष्ट्र निर्माता सलामी हेर्नका लागिसमेत पर्यटक गोरखा आउने वातावरणको सिर्जना हुने बताए । बिहान आउने पर्यटक बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटक बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अवस्थाको सिर्जना भएको उनको भनाइ छ । नगरप्रमुख रानामगरले यसबाट गोरखाको इतिहासको जर्गेना मात्र नभइ पर्यटनको प्रवद्र्धनसमेत हुने बताए । गोरखा नगरपालिकाको प्रस्तावमा नेपाली सेनाले गोरखाको इतिहासको जर्गेना गर्न राष्ट्र निर्माता सलामी अर्पणको थालनी गर्न लागेको उनले बताए । ‘ठूलो आँगनमा राखिने सालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिङ्गो गोरखाले फाइदा लिनसक्छ,’ उनले भने, ‘यसबाट गोरखाको समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने निश्चित छ ।’ उनले गोरखा नगरपालिकामा नै नेपाली सेनाबाट राष्ट्रिय निर्माता सलामीको थालनी गर्न पाउनु जिल्लाको लागि सौभाग्य भएको बताए । ‘अहिलेको सेना होइन ऐतिहासिक सेनाको पोसाक पनि ऐतिहासिक सेना हुने हो,’ उनले भने, ‘यसले गोरखाको इतिहासलाई विश्वास पु¥याएर गोरखाको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’ नेपाल एकीकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेको भन्दै नगरप्रमुख रानामगरले इतिहासलाई जोगाउँदै त्यसको प्रचारप्रसार गरेर जिल्लाले फाइदा लिन सक्नुपर्ने बताए । ‘गोरखा इतिहासलाई पनि जगेर्ना गर्नुपर्नेछ,’ उनले भने, ‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक राख्ने, झण्डा राखेर दैनिकरुपमा सलामी दिइन्छ ।’ पुस २७ गते राष्ट्रिय एकता दिवसको दिन देशभर हरेक वर्ष राष्ट्र निर्माता सलामी दिइन्छ । नेपाली सेना रिपुमद्र्धन गणका गणपति हेमराज विष्टले गोरखा झन ऐतिहासिक जिल्ला भएकाले नेपाल एकीकरणको उद्गमस्थलमा दैनिकरुपमा सलामी दिँदा झन् यसको छुट्टै महत्व हुने उनले बताए ।