पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्री उडान सुरु, बुद्धले चार गन्तव्यमा उडान गर्ने
काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान/अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने जनाईएको छ । बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् । ‘पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि आजदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ, बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन्’, उनले भने । यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताए । बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन् । कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ । ‘हाल चारवटा जहाज पोखरामै रात्रि बिसान हुन्छ, भोलिपल्ट बिहान पोखराबाट सम्बन्धित गन्तव्यमा उडान सुरु हुन्छ । यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पुग्ने विश्वास छ’, उनले भने । पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन । विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ ।
श्री एयरलाइन्सकाे जहाजमा आगो, आकस्मिक अवतरण
फाइल फाेटाे काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । काठमाडौं विमानस्थलबाट उडान भर्नासाथ जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको हो । जहाजको इन्जिमा आगो देखिएपछि आकस्मिक अवतरणको गरिएकाे विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
पर्यटन उद्यमी अभिषेक विक्रम शाह सम्मानित
काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गरेका हुन् । सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । उनी दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध रही काम गर्दै आएका छन् । हाल बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह यसअघि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक थिए । नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत शाहले यस क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।