पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरुवात भएको क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । उनले नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामिण तहसम्म वितरण गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे । ‘सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको छ, नेपालको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक र हाम्रो आन्तरिक तथ्यांकमा अन्तर देखिएकाले नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा काम गरिरहेको छ,’ उनले भने । मन्त्री किराँतीले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, बिस्तार एवं विविधिकरण गर्ने पर्यटन प्रवद्र्धन गर्न र पर्यटकहलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तरको सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए । यो कार्यशाला गोष्ठीले नेपालको पयटकीय तथ्यांक व्यवस्थित गर्न, राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको प्रभव कति प्रतिशत छ, विदेशी पयर्टकको खर्च लगायतका विषयको यकिन तथ्यांक आउन मद्दत पुग्ने बताए । आजबाट शुरु भएको कार्यशाला गोष्ठी तीन दिनसम्म सञ्चालन हुनेछ ।

सन्तोषजनक देखिएन गुण एयरको वित्तीय अवस्था, उडान प्रतिबन्ध कायमै

काठमाडौं । कर्मचारीलाई तबल नदिएपछि ग्राउण्डेड गरिएको गुण एयरका जहाज तत्काल नउड्ने भएका छन् । कर्मचारीलाई तलब समेत दिन नसक्ने भएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरेको थियो । ग्राउण्डेड गरेपछि क्यानको टिमले गुण एयरको फाइनान्सिङ अटिड गरेको थियो । अडिटका आधारमा जहाज उडानको अनुमति दिने तयारी गरिएतापनि अडिट रिपोर्ट सन्तोषजनक नभएको क्यानका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् । ‘हामीले फाइनान्सिङ अडिट गरेपछि त्यसकै आधरमा उडानको अनुमति दिने तयारी गरेका थियौँ, अडिट रिपोर्ट सन्तोषजनक पाइएनन, उडान प्रतिबन्ध लम्बियो’, उनले भने । गुणले बिग्रिएको आर्थिक अवस्था सुधार गर्ने, कर्मचारीको रोकिएको सेवासुविधा नियमित दिने, जहाज मर्मतसम्भार तथा क्यानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी गर्ने आधार पेश गरेपछि उडान सुचारुको विषयमा थप अध्ययन हुने उनको भनाइ छ । अडिट गर्दा गुण एयरले तीन महिनादेखि कर्मचारीलाई तलब नदिएको क्यान स्रोतले जनाएको छ । ‘लामो समयदेखि गुण एयरले कर्मचारीलाई सेवा सुविधा भुक्तानी नगरेको पाइएको छ, कर्मचारीसँगै क्यानलाई समेत ४ करोड रुपैयाँ बढी बक्यौता भुक्तानी भएको छैन, तत्काल जहाज उडानको अनुमति दिने कुनै आधार भेटिएन’, स्रोतले भन्यो । ‘गत वर्षबाट गुण एयरको नामबाट उडान सुरु गर्दा नै हामीले वित्तीय अवस्थाको विषयमा विश्लेषण गरेका थियौँ, यति छिटो अवस्था बिग्रन्छ भन्ने हामीले अनुमान समेत गर्न सकेनौं’, क्यानको वित्त विभाग (फाइनान्स डिपार्टमेन्ट) स्रोतले भन्यो, गुणले आर्थिक अवस्था सुधार गर्ने आधार पेश नगर्दासम्म उडान नियमित हुन सक्दैन ।’ २०७८ को असोज १ गतेबाट रियलस्टेट व्यवसायी राजेन्द्र शाक्यले सिम्रक एयरको नाम फेरेर गुण बनाएका थिए । साढे ४ करोड बक्यौता गुण एयरले क्यानलाई साढे ४ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । क्यानको वित्त विभागका अनुसार गुणले गत वर्षको माघदेखि विमानस्थल कार्यालयलाई बुझाउनु पर्ने रकम भुक्तानी नगरेको हो । एयरलाइन्सले कम्पनीले विमानस्थल कार्यालयलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ । उक्त शिर्षक अन्तर्गत गुणले ४ करोड ४४ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । गुणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा २ करोड ८७ लाख, विराटनगरमा १९ लाख, नेपालगन्ञ विमानस्थल कार्यालयमा ५ लाख ६९ हजार रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै क्यानले फागुन ८ गतेदेखि अनिश्चितकालका लागि गुणको उडान बन्द गरेको छ । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ । गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् । तीन महिनादेखि कर्मचारीलाई सेवासुविधा भुक्तानी नगरेको र वित्तीय अवस्था समेत सन्तोषजनक नभएको सार्वजिनक भैसक्दा गुण एयर भने बाहिर आएका कुरामा सत्यता नभएको बताउँदै आएको छ । गुण एयरका प्रवक्ता तथा मार्केटिङ्ग प्रमुख प्रज्वल थापा नियमित रुपमा सबै कर्मचारीहरुलाई तलब दिइएको बताउँछन् । उनले जहाज मर्मत तथा पाइटलको तालिम एकैपटक हुँदा उडान रोकिएको दाबी गरे । क्यानले जहाज ग्राउण्डेड गरेपछि पुराना जहाज बिक्रीको तयारी थालिएको गुणले जनाएको छ । २०७८ सालमा यती एयरलाइन्ससँग किनेको ५ वटा पाँचवटा जेट स्ट्रिम जहाज बिक्री गर्ने तयारी थालिएको जनाएको छ । ‘यतीसँग किनेका ५ सहित गुणसँग ७ वटा जहाज भएतापनि ४ वटाले मात्र उडान गर्ने गरेको थियो, उडान नगर्ने जहाज हामीले बिक्रीको तयारी थालेका थियौँ, तयारीकै बीचमा क्यानले उडानमा प्रतिबन्ध लगायो’, थापाले भने, ‘प्रतिबन्धकै बीच जहाज खरिद गर्न अमेरिकाको एक कम्पनीले जहाज लैजाने टुंगो लगभग लागिसक्यो, मूल्यांकनको काम बाँकी छ ।’ उनले पुराना जेट स्ट्रिम जहाज बिक्री गरेर ५० देखि ७० सिट क्षमताका मझौला जहाज ल्याएर गुणले पुनः उडान सुचारु गर्ने बताए । क्यानका प्रवक्ता निरौला भने गुण एयरले जहाज बिक्रीको औपचारिक रुपमा कुनै जानकारी नगराएको बताए । ‘हामीसँग गुणले जहाज बिक्रीको विषयमा कुनै जानकारी गराएको छैन, मैले पहि समाचार देखेर थाहा पाएको हो’, उनले भने, बिक्रीको आन्तरिक तयारी भएको होला, हामीकहाँ भुक्तानी गर्नुपर्ने बक्यौता रकम पूर्ण रुपमा भुक्तानी नभएसम्म जहाज बिक्रीको अनुमति दिदौनौँ ।’ जहाज खरिद तथा बिक्रीका लागि क्यानले अनुमति दिनुपर्छ ।

पाँच क्यासिनाेको बक्यौता २ खर्ब, भुक्तानी गर्न ३५ दिने म्याद

काठमाडौं । ५ वटा होटलमा सञ्चालीत क्यासिनोको बक्यौता रकम करिब २ खर्ब रुपैयाँ रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालय अन्तरगतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सोमबार जारी गरेकाे सूचना अनुसार विभिन्न होटलमा सञ्चालन भएका क्यासिनोको बक्यौता रकम १ अर्ब ८१ करोड ८१ लाख ४५ हजार ४ सय १२ रुपैयाँ रहेको हो । कार्यालयका अनुसार नेपाल रिक्रीयसन सेन्टर प्रालि, दि फुलबारी लिमेटड, अन्नपूर्ण इन्टरनेशनल प्रा.लि दरबारमार्ग, ह्यापी आवर प्रा.लि र होटल याक एण्ड यतीमा सञ्चालन भएकाे क्यासिनो रहेका छन् । कार्यालयले सोमबार एक सूचना जारी गर्दै ३५ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न अन्तिम मौका दिएको हो । उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले तोकिएको म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रक कार्यालयले चेतावनी दिएको छ । सूचना अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेपाल रिक्रीयसन सेन्टर प्रालिको रहेको छ । ९० करोड ५० लाख १३ हजार रुपैयाँ बक्यौता रहेको उक्त सेन्टरका सञ्चालक भारतीय नागरिक राकेश बाधवा हुन । क्यासिनोका अन्य सञ्चालकहरु शान्ती चड्डा, तुलाराम भट्ट, सुवर्ण क्षत्री, रिचर्ड डोयल टटल र शालिन बाधवा रहेका छन् । यस्तै, होेटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोको बक्यौता २० करोड बढी रहेको छ । सूचना अनुसार राधेश्याम सराफ सञ्चालक रहेको उक्त होटलको बक्यौता रकम २० करोड ८ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसैगरी, बन्द रहेको पाँचतारे होटलमा रहेको दी फुलवारी ली क्यासिनो पोखराको नाममा ४१ करोड ७१ लाख ३४ हजार रुपैयाँ बक्यौता रहेको छ । क्यासिनो सञ्चालकहरुमा पियुष बहादुर अमात्य, गंगा अमात्य, सञ्जु अमात्य राजभण्डारी, नुरो श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य र आन्टु अमात्य रहेका छन् । ह्यावी आवर प्रालिको ९ करोड २७ लाख ६७ हजार ९ सय ४१ रुपैयाँ बक्यौता रहेको छ । यसका सञ्चालक सुरेन्द्र बहालुर सिंह र भोज बहादुर बम रहेको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । अन्नपूर्ण होटलमा सञ्चालन भएको अन्नपूर्ण ईन्टरनेशनल प्रालिको नाममा १९ करोड ७७ लाख ६२ हजार रुपैयाँ बक्यौता रहेको छ। यसका सञ्चालकहरु तप्तबहादुर विष्ट, नरेन्द्रलाल प्रधान, कल्पदीप राई, इश्वरी प्रसाद श्रेष्ठ र जोत्सना बस्नेत रहेको कार्यालयको सूचनामा उल्लेख छ ।