खराब मौसमका कारण उडान प्रभावित
फाइल फाेटाे काठमाडौं । खराब मौसमका कारण विभिन्न विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ । आईतबार बिहानैदेखि मौसम खराब हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्य विमानस्थलमा उडान तथा अवतरण भएतापनि उक्त विमानस्थलको भिजिविलिटी नहुँदा उडानहरु प्रभावित भएका हुन् ।
पोखराका होटलमा ९० प्रतिशत पर्यटक, व्यवसायी खुसी
पोखरा । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए । ‘नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्’, उनले भने, ‘लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।’ नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए। नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल वर्षेनी बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।
नेपाल वायुसेवा निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गरे । दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए । ‘दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौँ, अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ’, उनले भने । भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ । नेपालको विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमले जनाएको छ । विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । यो विमानस्थल भएर बौद्ध धमावलम्बीको बाहुल्यता भएका मुलुकहरू श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओसलगायत मुलुकमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण हुने अपेक्षा गरिएको थियो । उक्त विमानस्थलबाट अहिले अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले अघिल्लो वर्ष छोटो समय चार्टर्ड उडान गरेको थियो । भैरहवामा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानका लागि चासो देखाए पनि उडान सञ्चालन हुनसकेको छैन । रासस ।