नारायणी किनारबाट भरतपुर भ्रमण वर्ष शुभारम्भ हुने
चितवन । चितवनको भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०२४ जनवरी १ तारिखमा नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो सङ्ख्यामा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदै छ । महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा. विश्व सुवेदीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीयस्तरका पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वको उपस्थिति रहने छ । पर्यटनविज्ञ सुवेदीका अनुसार घोषणा कार्यक्रममा ५० हजार हाराहारी स्थानीयलाई उपस्थिति गराउने तयारी गरिएको छ । महानगरपालिकाका २९ वडाबाट नागरिकलाई कार्यक्रममा सहभागी गराइँदै छ । यसको नेतृत्व वडाका अध्यक्षले गर्ने गरी तयारी भइरहेको छ । भ्रमण वर्षको वडास्तरमा प्रचारका लागि वडाअध्यक्ष संयोजक रहेको प्रवर्द्धन समिति बनाइएको छ । कार्यक्रमको घोषणापूर्व नदी किनारमा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रिय कलाकारले साँझसम्म आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति, प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य रहेका छन् । भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदै छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार ६ करोड रुपैयाँभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरपालिकाले तीन करोड रुपैयाँ विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यसैगरी पर्यटन बोर्डबाट ७० लाख रुपैयाँ निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिए । यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उनले बताए । भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ । महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन्। भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टलाई विशेष छुटमा प्याकेज दिन आग्रह गरिएको छ । पन्ध्रदेखि ४० प्रतिशतसम्म छुटको प्याकेज दिने गरी महानगरपालिकामा होटल रेष्टुरेन्टले प्रस्ताव पेस गरेका छन् । प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको उनले जानकारी दिइन् । गैँडाकोटसहित जोड्दा चितवनमा १५ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको छ । भ्रमण वर्षलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने गरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५० भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका कार्यक्रम गरिँदै छन् । कसराबाट मेघौलीको गोलाघाटसम्म ‘इन्टरनेसनल ह्यारिटेज म्याराथुन’, इन्टरनेसनल जङ्गल सफारी मार्ट, अन्तरराष्ट्रिय साहित्य सम्मेलनलगायत कार्यक्रम गर्ने योजना छ । उद्योग वाणिज्य सङ्घ चितवनले विभिन्न गोष्ठी गर्दैछ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा गर्न अनुरोध गरिएको प्रमुख दाहालले बताइन् । ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिँदै छ । यसैगरी दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिल्ने गरी खुल्ला खोरमा राख्न लागिएको उनले जानकारी दिइन् । भ्रमण वर्षका अवसरमा विश्वका ५९ देशका भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउने गरी निम्तो दिइएको छ । प्रमुख दाहालले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।’ भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो । ‘भ्रमण वर्ष सफल पार्न सरकारी प्रयासले मात्रै हुँदैन, निजी क्षेत्र पनि सक्रियरूपमा लाग्नुपर्छ,’ उनले भनिन् । सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उनको अपेक्षा छ । देशमै स्थानीय स्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै ठूलो सङ्ख्यामा पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्यापर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ । रासस
धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई
दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मङ्गलबार र सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ । सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगर बताउँछन् । यहाँ विशेष गरी मङ्गलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन् । अध्यक्ष थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन् । थापाले भने, ‘मन्दिरमा विशेष गरी कात्तिक र मङ्सिरको मङ्गलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कात्तिकमा दसैँ र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो ।’ प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत चित्ताकर्षक हिमशृङ्खला देख्न सकिन्छ ।
पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी
भक्तपुर । वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल । चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी । वरिपरि कलात्मक इँटा छापेर बनाइएको बाटोको बीचबीचमा देवीदेवताका मूर्तिहरु । बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका बिभिन्न ठाउँबाट आउने पारिवारिक र युवा जोडीको भ्रमण अचेल देखिने यस्ता दृश्य उपत्यकाकै जेठो र ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानीपोखरीको हो । नेपाली सैनिकको सैनिक इलाका । नेपाली सेनाको सैनिक आवासीय माध्यमिक विद्यालय र उच्च शिक्षा अध्ययन हुने क्याम्पससँगै जोडिएर रहेको एतिहासिक सम्पदाको धरोहर भक्तपुरको रानीपोखरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित प्राचीन एवं ऐतिहासिक महत्व बोकेको पुतली बगैँचासहितको रानीपोखरीको संरक्षणमा राससको पटक पटकको समाचार सम्प्रेषणले झक्झक्याएसँगै भक्तपुर नगरपालिकाको अथक प्रयासपछि यो पोखरीले पाएको पुनर्जीवनले एउटा हराउँदै गरेको साँचो इतिहास पछिल्ला पुस्ताका लागि जीवित बन्न सफल भएको छ । पोखरीको चारै दिशामा रहेको कलात्मक पाटीहरू भत्किसकेको र यसको जीर्णोद्वारमा सेनाले चासो नदिएका कारण सिङ्गो रानीपोखरी, पुतली बगैँचा, यहाँका पाटीहरु र कलात्मक एवं बहुमूल्य कलाकृति सङ्कटमा पर्दै लोप हुने अवस्थामा पुगेको भन्दै राससले पटकपटक समाचार सम्प्रेषण गरेको थियो । विसं २०४० मा तत्कालीन पञ्चायती सरकारले सैन्य तालीम केन्द्रका लागि पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गा अधिग्रहण गरेपछि भक्तपुरको रानीपोखरी नेपाली सेनाको घेराभित्र पुगेसँगै यसको अस्तित्व नै लोप हुने अवस्थामा पुगेको थियो । यहाँको तस्वीरसमेत लिन बन्देज गरेको अवस्थामा दिवाली पूजाका लागि खुलेको समयमा मैदानमा परिणत भएको पोखरीको तस्विर र समाचार सम्प्रेषण भएको थियो । त्यसपछि नयाँ पुस्तालाई बल्ल थाहा भयो, भक्तपुरमा पनि रानीपोखरी छ भनेर । पटकपटकका समाचार, स्थानीय इतिहासविदहरुको चासोसँगै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले २०७५ चैत १८ नेपाली सेनाका तत्कालीन सेनापति पूर्णचन्द्र थापालाई भेटेर रानीपोखरी संरक्षणको विषयमा छलफलको सुरुआत भएको थियो । त्यसपछिको पटकपटकको सेना र नगरपालिकाबीचको छलफलले २०७६ असार १ नेपाल सेनाले ऐतिहासिक रानीपोखरी पुनःनिर्माण र संरक्षणको लागि भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको लिखित सम्झौतापछि बल्ल यस पोखरीले पुनर्जीवन पाउने बाटो तय गरेको थियो । नेपाल संवत् ७५० अर्थात १६८७ सालमा भक्तपुरका राजा जगज्योति मल्लले आफ्नी रानी राजलक्ष्मीको सम्झनामा झन्डै ३२ रोपनी क्षेत्रफलमा यो पोखरी निर्माण गराएको र रानीको नाममा बनाइएकोले यस पोखरीको नाम पनि रानीपोखरी रहन गएको इतिहासमा उल्लेख छ । रानीपोखरी भन्ना साथ मानिसहरू काठमाडौँको ऐतिहासिक रानीपोखरी सम्झन्छन् । तर, तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउनुभन्दा ४० वर्षअघि नै भक्तपुरमा रानीपोखरी बनेको इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् । कान्तिपुरका राजा प्रताप मल्लले नेपाल सम्बत ७९० अर्थात १७२७ सालमा बनाउन लगाएका भन्दै उनले त्यो भन्दा ४० वर्ष अगाडि नै भक्तपुरको रानीपोखरी नेपाल सम्बत ७५० (विसं १६८७) मा भक्तपुरका तात्कालीन मल्ल राजा जगज्योति मल्लले बनाएको बताए । रानीपोखरी नजिकका तःपुखु (सिद्धपोखरी), नःपुखु र भाज्यापुखुभन्दा पछि बनेको नयाँ पोखरी भएकाले यो पोखरीलाई ‘न्ह पुखुु’ अर्थात् ‘नयाँ’ पोखरीको नाममा पनि चिनिन्थ्यो । रानीपोखरीको दक्षिणपट्टि रहेको ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखअनुसार सो पोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको पाइएको संस्कृतिविद् एवं इतिहासविद प्राडा श्रेष्ठले बताउछन् । मल्ल राजाले यो पोखरी पाँच महिनामा निर्माण गराएको इतिहास छ । ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखमा रानीपोखरीको निर्माण पुस कृष्ण एकादशीका दिनमा आरम्भ भएर वैशाख कृष्ण द्वादशीका दिनमा सम्पन्न भएको उल्लेख गरिएको पाइएको उनी बताउछन् । तत्कालीन मल्ल राज्यहरूबीचको आपसी प्रतिस्पर्धा र वैमनस्यताको कोपभाजनमा रानीपोखरी पनि परेको थियो । कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुरमाथि हमला गर्दा चारैतिर पर्खालले घेरिएको भक्तपुरभित्र प्रवेश गर्न नसकेपछि रिसले नगर क्षेत्रबाहिरको रानीपोखरीमा तोडफोड गरेको इतिहासमा उल्लेख छ । काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरी जित्न नसकेपछि यो पोखरीमा रहेको सुनको नागलगायत पोखरी वरिपरिका अनुपम कलाकृतिहरू समेत उठाएर काठमाडौँको हनुमानढोका दरबार र काठमाडौँस्थित रानीपोखरीमा सजाएको इतिहासमा उल्लेख छ । मल्लकालीन समयमा भक्तपुरमा आउने विदेशी पाहुनालाई सिधै भक्तपुर दरबारमा प्रवेश गर्न नदिई पहिला पोखरीको पूर्वपट्टि रहेको ह्वाङह्वा पाटीमा एकदिन राखेपछि मात्र नगर प्रवेश गराउने वा नगराउने निर्णय गरिन्थ्यो भन्ने भनाइ छ । यस पोखरीलाई बाहिरबाट आएका पाहुनाका लागि नगर प्रवेश गराउन भेटवार्ता गर्ने प्रमुख स्थानका रूपमा लिइने गरेको बताइन्छ । यो पोखरीलाई मल्ल राजाले राजनीतिक र कुटनीतिक रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । भक्तपुर प्रवेश गर्दा होस् वा बाहिरिँदा यही पोखरी हुँदै जानुपर्छ । त्यति बेला तीनवटै मल्ल राजा र कूटनीटिक व्यक्ति भेट गर्नु परेमा रानीपोखरीमा भेट गर्ने चलन थियो । नेपाल सम्बत् ७९८ अर्थात १७३५ सालमा जितामित्र मल्लले पहिलोपटक यस पोखरीको जीर्णोद्वार गरेर मल्लकालीन सभ्यतालाई अझ झल्काउन वास्तुशास्त्रअनुसार देवीदेवता, नागनागिनी स्वरूपमा कुँदिएर निर्माण गरिएका ढुङ्गाहरूलाई पङ्क्तिवद्ध रूपमा राखिएको छ । पुरातत्व विभाग सम्पदा संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले भक्तपुरको ऐतिहासिक रानीपोखरी लुकेर बसेको सम्पदा जीर्णोद्धारसँगै सर्वसाधारणको लागि उजागर भएको बताए । जीर्णोद्धारका क्रममा चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वर, लक्ष्मी नारायणलगायतका मूर्ति भेटिएका र ती मूर्तिलाई पुनःस्थापना गरिएको थियो । पोखरी क्षेत्रमा भेटिएका विभिन्न कालखण्डका इँटा, ढुङ्गामा कुँदिएका विभिन्न कलात्मक आकृति पुनःप्रयोग गरिएको छ । मल्ल राजाले पोखरीसम्म पुग्न र भित्र छिर्न बनाइएको ढुङ्गाका सिँढी अझै यथामवत छन् । पोखरीको बीचमा वासुकी नागको सुनको टाउको छ भने चारैतिर विभिन्न कलात्मक मूर्तिहरूले घेरिएको छ । नागको जीउ नजिकैको सिद्धपोखरीमा र पुच्छर नःपुखुमा रहेको छ भन्ने भनाइ अहिले पनि रहेको छ । लहरै पश्चिमबाट पूर्वतर्फ रहेका यी तीन पोखरीलाई अझै पनि एउटै नागको स्वरूपमा लिइन्छ । भक्तपुर नगरपालिका–१ मा नै रहेको रानीपोखरीलगायत पूर्वमध्यकालमै नेपाल संवत् २३९ मा तत्कालीन युवराज इन्द्रदेवले बनाउन लगाएको सिद्धपोखरी र नेपाल संवत् २८९ मा राजा रुद्रदेवको पालामा राति गोप्य रूपमा बनाइएको गुह्यपोखरी (नःपुखु) सहितको तीनवटा पोखरीलाई स्थानीय बासिन्दाले तीन दिदीबहिनीको रूपमा लिने गरेको पाइन्छ । त्यसो त नजिकै दक्षिणतर्फ रहेको १६ औं शताब्दीमा बनेको भाजुपोखरी बनेको धेरैपछि मात्र काठमाडौंँको रानीपोखरी बनेको पाइएको उनी बताउँछन् । मल्ल राजा जगज्योर्ति मल्लले रानी पोखरीको सुन्दरतासँगै धार्मिक र सांस्कृतिक अर्थ जोड्न खाजेको प्रष्ट हुने इतिहासविद् प्राडा श्रेष्ठ बताउँछन्। यो पोखरीमा जोन्छे, धौभडेल, अवाल, प्रजापति र मान्नधरको दिगु द्यों अर्थात कुलदेवताको दिवाली पूजासमेत यहाँ गराएका थिए । अक्षय तृतीयाका दिन भक्तपुरका स्थानीयवासी सिद्धपोखरी र रानीपोखरीमा भेला भएर देवाली मनाउने प्रचलन आजसम्म पनि कायमै रहेको छ । जगज्योर्ति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त बनाउन र जल भण्डारण गर्न पोखरी बनाएको उनको भनाइ छ । प्राडा श्रेष्ठका अनुसार प्रताप मल्ल चाँगु हुँदै भक्तपुरको उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए । तर भक्तपुरको पर्खालबाट भित्र छिर्न सकेनन् । त्यहाँ मजबुत गढ थियो । उत्तरबाट नसकेपछि भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए । प्रताप मल्लले सुन्दर रानीपोखरी बिगारे । सुनको नागको टाउको काटे र यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे । भक्तपुरका भाजुपोखरी, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको भनाइ छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रताप मल्लले नेपाल संवत् ७९० मा राजा प्रताप मल्लले निर्माण गराएको काठमाडौंको रानीपोखरी, नेपाल संवत् ७६७ मा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको रानीपोखरीभन्दा पहिला नेपाल संवत् ७५० मा जगज्योति मल्लले निर्माण गरेको भक्तपुरको रानीपोखरी उपत्यकाको तीन रानीपोखरीमध्ये भक्तपुरको पोखरी जेठो भएको बताउछन् । उनले २०२१ सालको नापीमा यो पोखरी सार्वजनिक पोखरीको रुपमा रहे पनि २०४० सालमा नेपाली सेनाको नियन्त्रणमा गएपछि अस्तित्व नै सङ्कटमा परेको यो पोखरीले अहिले नयाँ जीवन पाएको बताए । पुनर्निर्माणपछि रानीपोखरी १५ रोपनी ५ आना २ पैसा क्षेत्रफलमा रहेको र यसको बीचमा नागको अवशेष राख्ने ठाउँ जीर्णोद्धार गरिएको छ । पोखरीको वरिपरिको पर्खाल, पेटी, बाटो, डबली, सबै संरचना परम्परागत र मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको उनले बताए । उनका अनुसार यो मौलिक शैलीमा पुनर्निर्माण गरिएको हो । पुरातत्वविद, इतिहासविद्, सांस्कृतिकविद्हरुसँग व्यापक छलफल यसको अध्ययन, अनुसन्धान र उत्खनन् गरी यसलाई पुनर्जीवन दिएको हो । रानीपोखरीको पुनर्निर्माण २०७५ माघ १ गतेदेखि सुुरु गरी २०७८ फागुन १७ गते उद्घाटन गरिएको थियो । रानीपोखरी पुनर्निर्माणका लागि नगरपालिकाको कुल चार करोड ४१ लख १९ हजार १६४ रुपैयाँ २९ पैसाका लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत कुल दुई करोड ५४ लाख ८३ हजार ५८७ रुपैयाँ ४७ पैसाबाट सम्पन्न भएको नगर प्रमुख प्रजापतिले बताए । पुनर्निर्माणका लागि इतिहासविद् प्राडा श्रेष्ठको संयोजकत्वमा अध्ययन तथा अनुसन्धान समिति गठन गरी सात महिनाको अध्ययनपछि पुनर्निर्माणको साइत जुराइएको थियो । यो पोखरी पुनर्निर्माणमा स्थानीयले ठूलो साथ दिएका थिए । स्थानीयवासीले २२ टोली बनाएर ८८४ जनाले पोखरीको पुनर्निर्माणमा जनश्रमदानसमेत गरेका थिए । रासस