घलेगाउँका घरबास पर्यटकले खचाखच, सञ्चालकलाई भ्याइनभ्याई

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन् । अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन् ।’ तीन सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले बताए । घरबास सञ्चालक हेमकुमारी गुरुङकाका अुनसार अहिले घलेगाउँका घरबास सञ्चालकलाई भ्याइनभ्याई छ । उनले पर्यटक आउने अहिलेको याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका जानकारी दिए । विसं २०५७ देखि सञ्चालनमा भएको घरबास यहाँ बढेर अहिले ४२ घरबास पुगेको छ । पर्यटकको सत्कारसँगसँगै घरबासमा आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन् । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँँबाट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमाल, सात हजार आठ सय ३५ को ङादीचुली ९डा हर्क हिमाल०, सात हजार नौ ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल ९चौथो०लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् । आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गरी गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा चढाइन्छ । विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा नै हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । रासस

९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए । “ राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो”, उनले भने, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।” सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा २ हजार ३ सय र २०२० मा २ हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए । सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन् । १० हजार ७३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले ७ दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति ३ हजार तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले राससलाई बताए ।

पाँच विमानस्थलमा एक्स-रे मेसिन जडान गरिँदै, हवाई सुरक्षा अभिवृद्धि हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स-रे मेसिन जडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिए । मेसिन जडान गर्न आवश्यक ‘टेन्डर’ प्रक्रिया सुरु भइसकेको र सामान आउने क्रममा रहेको पनि उनले जानकारी दिए । उक्त उपकरण जडानपछि हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । देशका विभिन्न दुर्गमा क्षेत्रमा रहेका विमानस्थलहरुमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान भएका छैनन् । ती विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन नभएका कारण त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरुले यात्रुका सरसामान तथा झोलाहरु हातले छामेर चेकजाँच गर्दै आएका थिए । विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरुलाई पनि यसले सजिलो हुने बताइएको छ । रासस