पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी
काभ्रेपलाञ्चोक । साहसिक खेल-पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला काभ्रेपलाञ्चोक अहिले पाराग्लाइडिङको गन्तव्यका रुपमा विकसित भएको छ । काभ्रेपलाञ्चोकको दुई पर्यटकीय स्थान फुल्चोकी र धुलिखेलमा यसको व्यावसायिक उडान थालिएको छ । तत्कालीन अवस्थामा सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित पाराग्लाइडिङ व्यवसाय अन्यौलमा परिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पहिलोपटक पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको थियो । कुशादेवी क्षेत्रमा तीन वर्षअघि ‘विहावर क्षेत्र पर्यटन महोत्सव’ का क्रममा फुल्चोकीस्थित गुर्दुम डाँडाबाट पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको क्षेत्र रहेकाले मन्त्रालयको अनुमतिमा व्यावसायिक उडान थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गत कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको उद्घाटन गरेपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी-विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भइरहेका छन् । मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी थालेको थियो । फुल्चोकीमा मन्त्री किरातीले सहासिक खेल–पर्यटनमा यस क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको भरपुर उपयोग गर्न स्थानीय तहलाई सुझाव पनि दिएका थिए । यस स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ अनुमति पाएपछि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको कामसँगै यस अवधिमा अन्य तयारी गरिएको प्रालिले जनायो । प्रालिका अध्यक्ष छविलाल हुमागाईंका अनुसार अनुमति पाएपछि पनि विभिन्न तयारी गर्न करिब एक वर्ष लागेको थियो । ‘प्राधिकरणले अनुमति दिए पनि करिब एक वर्षको प्राविधिक प्रक्रियालगायतको काम सकेर व्यावसायिक रुपमा सञ्चालन थालिएको हो’, उनले भने ।मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल-पर्यटन ‘हब’उन्मुख भएको हो । कुशादेवी क्षेत्रमा चार वर्षअघि नै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछिका अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । पटक-पटकका उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले प्रालिले त्यस क्षेत्रमा पाराग्लाइडिङ उडानको अनुमति पाएको जनाइएको छ । विविध कारण प्याराग्लाइडिङ सञ्चालनमा केही ढिलाइ भएको बताउँदै हुमागार्इंले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपरान्ह ४ बजेसम्म उडान अनुमति पाएको जानकारी दिए । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी-विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ पाराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । पाराग्लाइडिङ उडानका लागि स्थानीय तीन युवालाई यस विषयमा अध्ययन गराइएको छ । “पाराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्र पर्यटनले प्रचारात्मक हुनेछ’, पनौती-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार पाराग्लाइडिङ उडान सुरु भएपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । फुल्चोकी क्षेत्रलाई सहासिक खेल–पर्यटनका रुपमा विकास गर्न आफूहरु नगरको योजनामा समावेदश गरी लागिपरेको वडाध्यक्ष अधिकारीले बताए । उनका अनुसार साइक्लिङ ट्रेल रुटमा खेलहरु आयोजना भइरहने छन् भने थप साहसिक खेल पाराग्लाइडिङले अनुमति पाउँदा स्थानीय हर्षित भएका छन् । यसअघि पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालक समेतको सहभागिता रहेको थियो । पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष यस क्षेत्रमा साइकल रुट निर्माण गरिएको थियो । यस क्षेत्रमा २०७८ चैतबाट त्यस रुटमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना थालिएको हो । यस साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेलरुट तय गरिएको छ । यस ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । त्यसयता आन्तरिक तथा बाह्य पर्यटकहरु साहासिक साइकल यात्राका लागिसमेत यो रुट रोज्ने गरेका छन् । नेपाल पर्यटन बोर्डले पनि पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई मान्यता दिँदै प्रचारमा ल्याएको छ । यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक-क्लाइम्बिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय स्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको हो । बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्यान्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न आग्रह गर्दै आएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देवीस्थान डाँडाबाट गत असार अन्तिम साता व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरियो ।विश्व बजार पाराग्लाइडिङ प्रालिले देवीस्थानबाट धुलिखेल नगरपालिका-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा ५५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । यस व्यावसायिक रुपमा पाराग्लाइडिङ उडानको पूर्वमन्त्री एवं काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने पाराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताएका थिए । ‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको पाराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमा समेत वृद्धि हुनेछ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि सो प्रालिलाई औपचारिक रुपमा मनोरञ्जनात्मक उड्डयन सञ्चालनको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको बताउँदै आवश्यकता र मौसमका आधारमा पाराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका पाराग्लाइडिङ कम्पनीहरुको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गरिएको हो । धुलिखेलमा एकै पटकमा छवटा उडान भर्न सकिनेछ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानबापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको कार्कीले बताए । साहसिक पर्यटकीय मनोरञ्जन प्राप्त हुने पाराग्लाइडिङको व्यावसायिक उडानले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू बताउँछन् । उनका अनुसार पर्यटकीय स्थान धुलिखेललाई पालाग्लाइडिङले विश्वमा बजारमा थप परिचित बनाएको छ । देवीस्थानबाट गरिएको पाराग्लाइडिङको उडानबाट नेपालका ३३ वटा हिमाल प्रत्यक्ष रुपमा देख्न सकिन्छ । सगरमाथादेखि कञ्चनजङ्गा, माछापुछ्रे हिमाल सहजै देख्न सकिने पाइलट महेन्द्रबहादुर भट्टराईले बताए । उनका अनुसार टेक अफ, फ्लाइङ र ल्यान्डिङसहित सुरक्षित उडानका लागि धुलिखेल सहज र सरल पाइन्छ । करिब आधा घण्टामा विभिन्न दृश्यसहित काभ्रेपलाञ्चोक जिल्लाका धार्मिक स्थल नमोबुद्धदेखि पलाञ्चोक भगवतीस्थानसम्म, पाँचखाल, नमोबुद्ध, धुलिखेल, बनेपालगायत क्षेत्रको सहज अवलोकन गर्न सकिन्छ । धुलिखेलमा पाराग्लाइडिङका लागि हाल दैनिक पाइलटहरु रामकृष्ण अधिकारी, विकास अधिकारी, सुमन थापा, विष्णु तिमल्सिनाले उडान भर्ने गरेका छन् । पोखरामा नियमित व्यावसायिक उडान गरिरहेका थिए । अहिले भट्टराईसहित पाँचजना पाइलटले धुलिखेलमै नियमित उडान गरिरहेका हुन् । सञ्चालक किरण कार्कीलगायत युवाले पोखरामा सञ्चालित पाराग्लाइडिङ कम्पनीको सहकार्यमा रु एक करोडभन्दा बढी लगानी गरी धुलिखेलमा व्यावसायिक उडान सुरु गरेका हुन् । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देवीस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखेलमा घुम्न आउने र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । धुलिखेलमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन पाराग्लाइडिङ निकै महत्वपूर्ण क्षेत्र भएको क्षेत्रीय होटल सङ्घ (हान) का महासचिव ज्योत्सना सैँजुको भनाइ छ ।’यहाँ आएका पर्यटकहरुलाई फरक प्रकारको मनोरञ्जन दिन र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न पाराग्लाइडिङको व्यावसायिक उडानले सहयोग पुग्ने अपेक्षा गर्दैछौँ’, उनले भने । काभ्रेपलाञ्चाककै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि केही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । यस क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेपलाञ्चोकमा अधिकांश पहाडी भू-भाग रहेकाले साहसिक खल प्याराग्लाइडिङ प्रवद्र्धनका लागि प्रचुर सम्भावना देखिन्छ । रासस
होटल व्यवसायलाई उद्योग सरहको सुविधा माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष माग गरेको छ । महासङ्घका उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको हो । होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न माग गरिएको समितिका संयोजक देशबन्धु बस्नेतले जानकारी दिए । कानूनमन्त्री गुरुङले विदेशी पर्यटक भित्राउने तारेहोटललाई उच्च प्राथमिकता साथ उद्योगको रुपमा समावेश गर्न आफूले प्रयास गर्ने बताए । उनले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्मक रहेको बताएका थिए ।
पर्यटक आउन थालेपछि मानुङकोट फर्किँदै स्थानीय
डुम्रे । तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवद्र्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवद्र्धन हुने क्रममा छ । बन्दीपुर बढी प्रवद्र्धन भएको पर्यटकीयस्थल हो । पछिल्लो समय व्यास नगरपालिका-५ मानुङकोट अत्यधिक चर्चामा छ । यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदयले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन् । यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्न पर्यटक लालयीत हुने गर्दछन् । यी कुहिरो, हिमशृङ्खला र सूर्योदय मनोरम दृश्यले पर्यटक आकर्षित हुने गरेका छन् । मानुङकोटबाट धौलागिरि, माछापुच्छे«, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । विगतमा पानीको अभावले यस वरपरका बासिन्दा अन्यत्र बसाइँसराइ गर्न पुगेका थिए । पछिल्लो समय पर्यटकीय चहलपहल बढेसँगै उनीहरु आफ्नो पुख्र्यौली गाउँ फर्किन थालेका छन् । पर्यटककै कारण यहाँका स्थानीय गाउँ फर्किंन थालेका हुन् । तर पानीको समस्या भने यहाँ विगतको जस्तै कायमै छ । पर्यटकीय क्षेत्रका रुपमा मनुङकोटको विकास हुँदै गएपछि यहाँका स्थानीयवासी होटल व्यवसायमा संलग्न हुन थालेका हुन् । मानुङकोट पर्यटकीयस्थल बनेपछि यहाँ बस्ती बढ्ने क्रममा छ । पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रुपमा विकास भएसँगै स्थानीय फर्किंन थालेका हुन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँसरी मानुङकोटको फेदीतर्फ झरेका थिए । पानी सहजै पाउने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ । यहाँ पर्यटकको आवतजावत हुन थालेपछि गाउँले फर्किंन थालेका स्थानीय ६७ वर्षीय पद्मबहादुर थापामगर बताउ । उनी भन्छन्, ‘खानेपानीको अभावले यहाँबाट धेरैले बसाइँ सरेका थिए । अहिले विस्तारै फर्किन थालेका छन् । तर, पानीको समस्या भने उस्तै छ ।’ पहिले स्थानीयले खेतीपाती गरे पनि अहिले व्यवसाय फेरिएको थापामगर बताउँछन् । उनी भन्छन्, ‘पानी आउँछ की भनेर आश गरी बसेका छन् । तर, अहिलेसम्म समस्या समाधान भएको छैन । नगरपालिकाले ट्याङ्करमा पानी ल्याएर दिन्छ । किनेर नै खाइरहेका छौँ ।’ उनका अनुसार पानीको आशले नै यहाँ स्थानीयले व्यवसाय गर्न थालेका छन् । थापामगर भन्छन्, ‘ट्याङ्करको पानीले कति पुग्छ ? मेरो घरका त दुई घण्टा लगाएर अझै पनि खानेपानी लिन पधेँरामा पुग्छन् । पानी लिन आवतजावत गर्दा दुई घण्टा लाग्छ । भारी बोकेर डाँडामा आउने हो कहाँ सजिलो छ र ? गाईबस्तु अलिअलि पालिएका छन् । यसका लागि आकाशे पानी जम्मा गगर्ने गरेका छौँ ।’ मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल व्यवशाय गर्दै आएकी जितुमाया बस्याल पानीको अभावमै व्यवसाय सञ्चालन गर्न सकस भएको बताउँछिन् । उनी भन्छिन्, ‘धारा नभएकाले ट्याङ्करमा ल्याइएको पानी र मिनरलवाटर किनेर व्यवसाय चलाउँदै आएका छौँ । यहाँ होटल व्यवसाय फस्टाउँदै गए पनि पानीको अभाव उस्तै छ ।’ यहाँ पानीको समस्या समाधान गर्न सकिए अझै पर्यटक बढ्ने बस्यालको अनुमान छ । उनी भन्छिन्, ‘बाटो सजिलो भएको छ । ठूला गाडी नचले पनि सानाले चलेको छ । तर, पानीको समस्या भने हट्न सकेको छैन । हामी त होटल व्यवसायीलाई पानीको समस्याले झन गाह्रो बनाएको छ ।’ धारा नहुँदा खानेपानीदेखि शौचालयमा राख्नसमेत किनेको पानी चलाउनुपर्दा व्यवसायी मारमा परेको उनको गुनासो छ । बस्याल भन्छिन्, ‘कहिलेकहीँ त पाहुनालाई हात धुने पानीसमेत नहुने अवस्था छ । केहीले त हात धुनसमेत नपाएको अवस्था छ ।’ धारामा पानी आए व्यवसायीसँगै यहाँ आउने पर्यटकले सास्ती र महँगी झेल्न नपर्ने उनको भनाइ छ । स्थानीय पद्मबहादुर थापा भन्छन्, ‘पहिले मानङकोटमा सुन्तलाखेती पर्याप्त हुने गरेकामा अहिले तल्लो क्षेत्रमा मात्रै हुने गरेको छ । पानीको अभाव र रोग देखिएर नै यहाँको सुन्तलाखेती मासियो । तर, सुन्तलाखेती भए पनि स्वादिलो छैन र सुन्तलाको दाना पनि साना छन् । खै के भएको हो यस्तो ?’ यहाँको सुन्तलाले राम्रै बजार पाउने गरेको उनले विगत सुनाए । पद्मबहादुर भन्छन्, ‘यहाँ पहिलाभन्दा बढी चर्को घाम लाग्छ । त्यहीँमाथि पानीको समस्या छ । केको खेतीपाती हुन्छ र रु सबै चिज किनेर खाने हो । आकाशे पानीको भर पर्नुपर्ने ठाउँ हो । त्यहीमाथि समयमा पानी पर्दैन अनि केको खेती हुनु !’ विगतमा यहाँ करिब ५०/६० परिवार बस्दै आएकामा पानीको समस्याले च्यापेपछि उनीहरु मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधा सम्पन्न होटल बन्ने क्रममा छन् । सुविधा सम्पन्न होटल बने पनि पानीको समस्याले सकस हुने व्यवसायी बताउँछन् । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न लागिएको बताए । उनले चालु आर्थिक वर्षदेखि पर्यटकीयस्थल मानुङकोटको खानेपानी समस्याको समधान गर्ने गरी काम गर्न लागेको जानकारी दिए । प्रमुख न्यौपानेले गण्डकी प्रदेश सरकारले मानुङकोटको खानेपानी समस्या समाधानका लागि चालु आवमा रु दुई करोड विनियोजन गरेको बताए । बजेट विनियोजन भइसकेकाले ठेक्का प्रक्रिया अघि बढाइसकिएको छ । प्रमुख न्यौपानेले भने, ‘यहाँको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले गत वर्ष रु दुई करोड बजेट विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज गएको थियो । गत वर्ष पानीको मुहानको स्रोत खोजी तथा मिलाउँदा समयमा काम गर्न नसक्दा रकम फिर्ता गयो । खानेपानीको योजना विशेष योजना हो । बजेटअनुसार बोलपत्र आह्वान गरिन्छ । बजेट घोषणा गरे पनि यहाँ आइनपुग्दा योजना निर्माणमा समस्या भएको थियो । अहिले आएको छ र कार्यान्वयनको प्रक्रियामा गएका छौँ ।’ बोरिङ गरी पानी मानुङकोटवासीको घरमा पुर्याउने नगरपालिकाको लक्ष्य छ । फोहरमैलाका डङ्गुर मानुङकोट पर्यटकीयस्थलका रुपमा विकास भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यहाँ आउने आन्तरिक पर्यटकले खानेपानी तथा पेयपदार्थको प्लाष्टिकका बोतल, प्लाष्टिकजन्य फोहरमैला बढ्दै गएको छ । यहाँ घुम्न आउने पर्यटकले जथाभावी फोहरमैला फ्याँकिदिँदा चुनौती बढेको छ । मानुङकोटका विभिन्न स्थानमा फोहरमैलाको व्यवस्थापनका लागि डस्टविन राखिएका छन् । तर फोहर यत्रतत्र फाल्ने गरिएको पाइएको छ । फोहरमैला व्यवस्थापनका लागि रोटर्याक्ट क्लब, लायन्स क्लब, लियो क्लबले सरसफाइ गरे पनि व्यवस्थित हुने सकेको छैन । प्लाष्टिकजन्य फोहरमैला केही स्थानमा जलाउने गरिएको छ । धुँवाले प्रदुषण बढेको छ । दुई/तीन दिनको फरकमा यहाँ नगरपालिकाले फोहरमैला उठाउने गरेको छ । तर, पनि फोहरको समस्या पूर्णरुपमा समाधान हुन सकेको छैन । रासस